व्यापक सामाजिक समस्या बन्दै गएको मानसिक स्वास्थ्यको सवाललाई कतिपय स्थानीय तहले समेट्दै लैजाने भएका छन् ।
नेपालगन्जमा भेला भएका कर्णाली प्रदेश र सुदूरपश्चिमका विभिन्न स्थानीय तहका स्वास्थ्य विभागका जिम्मेवार अधिकारीहरुले मानसिक स्वास्थ्यको सम्वेदनशीलतालाई सम्बोधन गर्दै आफ्ना नियमित स्वास्थ्यका कार्यक्रममै समेट्न सहमत भएका हुन् ।
रणनीतिक रुपमा आफना नियमित स्वास्थ्यका कार्यक्रमहरुमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सवालहरुलाई सम्बोधन गर्दै एकिकृत गरी लैजाने प्रतिबद्धता व्यक्त गर्दै मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम बुधबार नेपालगन्जमा सकिएको हो ।
कर्णाली र सुदुरपश्चिमका विभिन्न जिल्लाका स्वास्थ्य व्यवस्थापकहरुले त्यसखालका प्रतिबद्धता व्यक्त गरेको कार्यक्रममा मानसिक स्वास्थ्य, मनोसामाजिक समस्या, मनोसामाजिक अपाङ्गतालाई अभिमुखिकरण प्रदान गरिएको थियो ।
दुई दिनसम्म सञ्चालन गरिएको अभिमुखीकरणमा मानसिक रोग विशेषज्ञ वरिष्ठ मनोचिकित्सक बासुदेव कार्की, भेरी अस्पतालमा कार्यरत मनोचिकित्सक डा. लिला देवकोटा, सी.एम.सी–नेपालबाट विष्णु प्रसाद प्रजापति, सीता बोहोरा लगायतले सहजीकरण गरेका थिए ।
कर्णालीका सुर्खेत, जाजरकोट, सल्यान र सुदुरपश्चिमबाट कैलाली सहित विभिन्न १० स्थानीय तहका १९ जना स्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरुको सहभागितामा अभिमुखिकरण गरिएको आयोजक सी.एम.सी–नेपालका मानसिक स्वास्थ्य कार्यक्रम संयोजक विष्णु प्रसाद प्रजापतिले जानकारी दिए ।
सी.एम.सी–नेपालले लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका १५ जिल्लाका झण्डै ५० स्थानीय तह र प्रदेशहरुको साझेदारीमा सामुदायिक मनोसामाजिक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
सी.एम.सी–नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले त्यसँगै लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम, द्वन्द्व प्रभावित व्यक्तिहरुका लागि मनोसामाजिक सहयोग कार्यक्रम,आप्रवासी कामदार तथा उनीहरुको परिवारका लागी मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन कार्यक्रम, विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गरिंदै आएको जानकारी दिए ।
मानसिक स्वास्थ्य, मनोसामाजिक सुस्वास्थ्य स्थापित गर्न, समुदाय स्तरमा सचेतनामुलक क्रियाकलाप आवश्यक देखिएकाले यसखालको कार्यक्रम गरिएको गैरेको भनाइ छ ।
‘स्वास्थ्यकर्मीलाई क्षमता अभिवृद्धि गरेर मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने अभियानमा काम गरिरहेका छौं,’ सी.एम.सी–नेपालका प्रादेशिक संयोजक गैरेले दैनिक नेपालगन्जसँग भने, ‘स्वास्थ्य सेवा प्रणालीको सवलीकरण गर्ने, स्थानीय तहमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीति तयार गर्न आवश्यक प्राविधिक सहयोग हाम्रो प्राथमिकतामा छ ।’