हात्तीपाइले संक्रमण जीवाणु शरीरमा रहेपनि त्यसले तत्कालै स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्दैन । त्यसले गर्दा सरकारले हात्तीपाइले विरुद्ध सञ्चालन गर्ने औषधी सेवन अभियानले सफलता प्राप्त गर्दैन । ६ बर्ष औषधी सेवन गरेपछि हात्तीपाइले निवारण हुनुपर्ने हो तर बाँकेमा १३ औैं पटक हात्तीपाइले विरुद्ध औषधी खुवाउने अभियान सुरु हुँदैछ । दुई वटा औषधी खुवाईने गरेकोमा गत बर्षदेखि तीन प्रकारका औषधी खुवाइँदैछ ।
‘हात्तीपाइलेले तत्काल शरीरमा नकारात्मक लक्षण नदेखाउँदा र निःशुल्क औषधी प्राप्त हुने गरेकाले पनि औषधी सेवनमा वेवास्ता हुने गरेको हो’, स्वास्थ्यकर्मी भन्छन् । ‘कसैले अभियान सुरु भएको १२ पटक सम्म औषधी खाए, कसैले एक पटक खाएनन्’, स्वास्थ्यकर्मी भन्छन्, ‘जिल्लामा हात्तीपाइले निवारण नभएकाले औषधी नखानेबाट औषधी खाएकाहरूमा सर्ने जोखिम कायमै छ ।’
पत्रकार प्रिया स्मृति ढकाल अभियानको सुरुदेखि हालसम्म परिवार सहित औषधी सेवन गरेको बताउँछन् । ‘सुरुमा ५÷६ बर्ष खाने भनियो, औषधी खायौं, त्यसपछि पनि निरन्तर खाइरहेका छौं’, उनी भन्छन्, ‘औषधी नखानेका कारण निवारण हुन सकेन, हामी अभियान सञ्चालन हुँदासम्म औषधी खाइरहन्छौं ।’ पत्रकार ढकाल हात्तीपाइलेको औषधी सेवन जिल्लामा बाध्यकारी बनाउनु पर्ने धारणा राख्छन् ।
‘६ बर्षमै निवारण हुनुपर्ने हात्तीपाइले विरुद्धको अभियान १३ औं बर्षमा समेत सञ्चालन गर्नुपर्ने बाध्यता छ’, स्वास्थ्य कार्यालय बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा सहभागीले भने । नेपालगन्जमा दादुरा संक्रमण देखिंदा स्वास्थ्यकर्मीको अभियान, जनप्रतिनिधिको सहयोग र विद्यालयले खोप अनिवार्य गर्दा लक्ष्य भन्दा बढी हासिल भएकाले हात्तीपाइले अभियानलाई पनि त्यसै अनुसार अगाडि बढाउनु पर्ने धारणा स्थानीय राख्छन् । ‘सरकारको स्वास्थ्य अभियान निःशुल्क हुँदा वेवास्ता भएको हो, कुनै न कुनै रूपमा बाध्यकारी बनाउने हो भने त्यसले सफलता प्राप्त गर्छ’, स्थानीय भन्छन्, ‘अन्यलाई पनि सर्न सक्ने रोगमा औषधी सेवन गर्ने वा नगर्ने भन्ने व्यक्तिगत मानवअधिकारलाई अरूको स्वास्थ्य प्रतिकुल बनाउन नपाउने भन्ने अधिकारले प्राथमिकता पाउनु पर्छ ।’
संक्रमण भएको लामो समयसम्म लक्षण जमा जरो गाडेर बसेको हो । हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान चलाइएको लामो समय भए पनि ‘केही भएको छैन, किन औषधि खाने’ भन्ने भ्रमका कारण समाजमा हात्तीपाइले रोगले जरो गाडेर बसेको हो ।
सुरुमै हात्तीपाइले रोगविरुद्धको औषधि सेवनलाई नकारात्मकरूपमा प्रचार गरिएकाले आम औषधि सेवन प्रभावकारी हुन नसकेको हो । ‘जान्ने बुझ्नेहरूले नै औषधि सेवन गरेको देखिँदैन’, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतमले भनिन्, ‘औषधी खान आवश्यक छैन भन्ने शिक्षित वर्गकै सोंचका कारण पनि लक्ष्य प्राप्त भएको छैन ।’
हात्तीपाइले रोगविरुद्धको अभियानमा बर्सेनि ठूलो रकम खर्च हुने गरेको छ । नेपालमा यस पटक दर्जन बढी जिल्लामा आमऔषधि सेवन अभियान सञ्चालन हुँदैछ । जसका लागि सरकारले दुई अर्ब बढी लगानी गरेको छ ।
बाँकेमा हात्तीपाइले विरुद्धको अभियान फागुन ११ गतेदेखि फागुन मसान्तसम्म सञ्चालन हुँदैछ । बाँकेमा ६ लाख बढीलाई हात्तीपाइले विरुद्धको औषधी खुवाउने लक्ष्य राखिएको छ ।
पहिले दुईवटा औषधि सेवन गराइँदै आएकामा गतबर्षदेखि यस पटक एउटा औषधि थपेर खुवाउन लागिएको छ । यसअघि दुईवटा औषधि कम्तीमा पाँच वर्षसम्म औषधि सेवन गर्नुपर्नेमा औषधि थप हुँदा दुई वर्ष मात्र औषधि सेवन गर्दा हुने स्वास्थ्य कार्यालयका फोकल पर्सन गौतम बताउँछिन् । यद्यपि, तीन वटा औषधी तीन बर्षसम्म सेवन गराउने लक्ष्य स्वास्थ्य कार्यालय बाँकेको रहेको छ ।
‘औषधी जति पटक खाँदा पनि असर पर्दैन’
स्वास्थ्य कार्यालय बाँकेले आगामी फागुन ११ देखि फागुन मसान्तसम्म जिल्लामा हात्तीपाइले विरुद्ध औषधी खुवाउने अभियान सुरु गर्दैछ । १२ पटकसम्म औषधी खुवाउँदा पनि अभियानले सफलता प्राप्त गर्न नसकेपछि १३ औं पटक औषधी खुवाउन लागिएको हो ।
सुरुमा ६ पटक अभियान सञ्चालन पछि निवारण हुने अपेक्षा गरिएकोमा त्यसो हुन सकेन । जिल्लामा कतिपयले अहिलेसम्म औषधी नै खाएका छैनन् भने कतिपयले १२ औं पटकसम्म निरन्तर खाइरहेका छन् । ‘हात्तीपाइले विरुद्धको औषधी निवारण नहुँदासम्म जतिपटक खाएपनि त्यसले स्वास्थ्यका लागि अनुकुल प्रभाव पार्छ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले भनिन्, ‘औषधीको निश्चित मात्रा पुरा गरेपछि नखानेबाट सर्न सक्ने भएकाले अबको अभियानमा पनि सबैले औषधी सेवन गर्नुपर्छ ।’
स्वास्थ्य कार्यालय बाँकेले यसपटक बाँकेमा ६ लाख १६ हजार ६ सय ९५ जनालाई औषधी खुवाउने लक्ष्य राखेको छ । जुन बाँकेको कुल जनसंख्या भन्दा केही कम मात्रै हो । ‘निवारणका लागि गत बर्षदेखि तीन वटा औषधी खुवाउन सुरु गरिएको हो, त्यसैले लक्षित जनसंख्यामा सबैलाई समेटिएको छ’, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख पौडेलले भनिन् ।
बाँकेको कोहलपुरमा १ लाख २ हजार ९ सय ४, खजुरामा ६५ हजार ३ सय ७, जानकीमा ४७ हजार ७ सय ३३, डुुडुवामा ४४ हजार १ सय ४४, नरैनापुरमा ४४ हजार ८ सय ७, नेपालगन्जमा १ लाख ७० हजार ५ सय ९८, बैजनाथमा ७१ हजार ८ सय ६१, राप्तीसोनारीमा ६९ हजार ३ सय ४१ लाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।
‘अभियान सफल पार्न सबैको सहयोग आवश्यक छ’, स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख पौडेलले भनिन्, ‘त्यसका लागि स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकारसँग अन्तरक्रिया गरेका छौं ।’
सर्भेमा निरन्तर असफल
बाँके हात्तीपाइले निवारणका लागि गरिएको सर्भेमा पटकपटक असफल भएको हो । बाँकेका विभिन्न ठाउँ चिन्हित गरेर गरिएको सर्भेका क्रममा बाँकेमा हात्तीपाइले निवारण मापदण्ड भन्दा उच्च पाइएको हो ।
बाँकेमा भएको बेसलाइन सर्भेमा सन् २००१ मा बाँकेमा २०.८ प्रतिशत संक्रमित फेला परेका थिए । त्यसपछि त्यो रेसियो भने घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार, प्रि टास्कमा सन.् २०१५ मा बैजनाथ र नेपालगन्जका सर्भे गरियो । जसमा बैजनाथमा १८.५ र नेपालगन्जमा १३.२ प्रति प्रतिशतमा संक्रमण देखियो । दोस्रो प्रि टाक्स सर्भे सन् २०१७ मा बैजापुर, रझेना र नेपालगन्जमा भयो । जसमा रझेनामा सर्भेमा सहभागी मध्ये २२.३, बैजापुरमा ५.३, नेपालगन्जमा ८ प्रतिशतमा परीक्षण गराएका मध्येमा पोजेटिभ देखियो ।
हात्तीपाइले विरुद्धको अभियान निरन्तर चल्यो, प्रि टाक्स सर्भे तेस्रो पटक पुन २०१९ मा तेस्रो पटक भयो । तेस्रो पटक रझेना र नेपालगन्जमा प्रि टाक्स सर्भे गरियो । जसमा पनि बाँके फेला भयो । रझेनामा परीक्षण गराएका १८ र नेपालगन्जमा ३.५ प्रतिशतमा हात्तीपाइले देखियो । चौथो पटक प्रि टाक्स सर्भे रझेना र नेपालगन्जमै भयो गत बर्ष । जसमा पनि बाँकेले निवारणको मापदण्ड प्राप्त गर्न सकेन । रझेना ५.५ र नेपालगन्जमा २.८ प्रतिशतमा सर्भेमा सहभागी मध्येमा हात्तीपाइले देखियो ।
प्रि टास्क सर्भेमा बाँकेको रझेनामा ३ सय २६ को नमूना संकलन गर्दा १८ पोजेटिभ पाइए । अर्को नेपालगन्जको एउटा वडामा ३ सय १७ को नमूना परीक्षण गर्दा ९ जनामा हात्तीपाइलेको जीवाणु पाइयो । २ प्रतिशत भन्दा तल संक्रमण भेटिए मात्रै निवारणको अवस्था मानिने गरेको मापदण्ड रहेको छ ।