पश्चिम नेपालको पर्यटकीय गन्तव्य प्रचारप्रसारका लागि निकै महत्वपूर्ण मानिएको ‘वेष्टर्न ट्राभल मार्ट’ दोस्रो संस्करण आइतबार नेपालगन्जमा सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्य डा. धवल समशेर राणा र ट्राभल एजेन्ट एशोसिएसन अफ इन्डिया (टाई) का अध्यक्ष ज्योति मयलले ट्राभल मार्ट दोस्रो संस्करणको समुद्घाटन गरेका हुन् ।
भारतीय सञ्चारकर्मी सहित टाईका ७५ प्रतिनिधि, नाट्टा केन्द्र पदाधिकारी, प्रदेश कमिटिका प्रतिनिधिहरू, पर्यटन बोर्डका अधिकारी सहितको ठूलो सहभागितामा सुरु भएको मार्ट उद्घाटन सत्रमा वक्ताहरूले कोभिड पछि पर्यटकीय विकासलाई बिस्तारै अघि बढाउनु बताए ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नाट्टा बाँके च्याप्टरले हान बाँके, पर्यटन प्रवद्र्धन मञ्च बाँके लगायतका विभिन्न स्थानीय तहसँगको साझेदारीमा मार्टको दोस्रो संस्करण आयोजना गरेको हो । ‘यो आयोजनाले नेपालमा भारतीय पर्यटकहरूको गन्तव्य प्राथमिकतामा पर्ने कुराका लागि हामी विश्वस्त छौं’, प्रमुख अतिथि डा. राणाले भने, ‘हामी नेपालगन्ज–दिल्ली उडानलाई सार्थक बनाउन सकियो भने अझ यसले गुणात्मक फड्को मार्नेछ ।’
टाईका अध्यक्ष ज्योति मयलले पश्चिम नेपालको पर्यटकीय गन्तव्य पहिचानका लागि वेष्टर्न ट्राभल मार्ट महत्वपूर्ण आयोजना हुने बताइन् । ‘यसले नेपालमा भारतीय पर्यटकहरूको गन्तव्यका लागि पक्कै पनि प्रोत्साहन गर्नेछ’, उनले भनिन् ।
नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्ट, नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा, निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, पर्यटन बोर्डका सदस्य मिलन देवकोटा लगायतले पर्यटकीय क्षेत्रका सम्भावनाबारे चर्चा गरेका थिए ।
मार्ट आयोजक समिति संयोजक समेत रहेका नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, सहसंयोजक रहेका हान बाँके अध्यक्ष दिवाकर खनालले पश्चिम नेपालका गन्तव्यहरूको खोजी, प्रवद्र्धन र प्रचारप्रसारका लागि वेष्टर्न ट्राभल मार्ट आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उद्घाटनसत्र सँगै आइतबार नै नेपाल र भारतका पर्यटन व्यवसायीहरू बीच ‘बी टु बी’ सत्र आयोजना गरिएको छ । जहाँ नेपाली र भारतीय ट्राभल एजेन्ट, होटल व्यवसायी, हवाई कम्पनीहरूले आफ्ना व्यवसायिक हितबारे चर्चा गर्दै कारोबार आदानप्रदानका सम्झौता गरेका छन् ।
मार्टको दोस्रो दिन सोमबार भारतीय पर्यटनकर्मीहरूलाई कैलाश मानसरोवर दुरदर्शनका लागि माउण्टेन फ्लाइट गरिंदैछ ।
‘नेपालको पर्यटकीय विकासमा यो एउटा ऐतिहासिक शुभारम्भ हुनेछ’, मार्ट आयोजक समितिका कोषाध्यक्ष डा. ओम मिश्रले भनेका छन् । पहिलो उडान सम्झौता बुद्ध एयरसँग गरिएको छ । संयोजक सिग्देलले उडानको निरन्तरताका लागि हवाई कम्पनीहरू सँग छलफल भैरहेको बताए ।
टाईका पदाधिकारीहरू मानसरोवर दुरदर्शनपछि बर्दियाको ठाकुरद्वारामा साधारणसभाका लागि प्रस्थान गर्नेछन् । जहाँ विभिन्न प्यानल डिस्कसन गरिने आयोजक समितिले जनाएको छ ।
पर्यटनका लागि ‘वेण्डर नेपाल’
पश्चिम नेपालको पर्यटकीय गन्तव्य प्रवद्र्धनका लागि वेण्डरनेपालडटकम शुभारम्भ गरिएको छ । आइतबार मार्ट उद्घाटन सत्रमा विभिन्न अतिथिहरूले संयुक्त रूपमा वेण्डर नेपाल म्याग्जिन विमोचन गर्दै पर्यटन सम्बन्धी म्यागेजिनसँगै अनलाइन पोर्टल शुभारम्भ गरेका हुन् । डटवर्कस्ले त्यसका लागि संयोजन गरेको जनाएको छ ।