नेपालबाटनै कैलाश मानसरोवर ‘दूरदर्शन’

सोमवार कैलाश मानसरोवरको दूरदर्शनका लागि नेपालगन्जबाट ‘माउन्टेन फ्लाइट’ गरिंदैछ ।


पहिलो उडानमा नौजना भारतीय पत्रकारसहित ४१ जना भारतीय पर्यटन व्यवसायीलाई कैलास मानसरोवरको दूरदर्शन गराउन लगिंदैछ । ट्राभल एजेन्ट्स एशोसियसन अफ इण्डिया (ताइ)का पदाधिकारी र भारतीय पत्रकारलाई कैलाश मानसरोवरको दूरदर्शन गराउन लागिएको हो ।


वेष्टर्न ट्राभल मार्ट आयोजनाका क्रममा शुरु गर्न लागिएको मानसरोवर दूरदर्शनलाई व्यवसायिक रुपमा नियमित उडानमा लैजाने योजना रहेको आयोजक समिति संयोजक श्रीराम सिग्देलले जानकारी दिए ।

‘यसले नेपालगन्जलाई मानसरोवरको गेटवेका रुपमा कायमै राखिराख्न र व्यवसायिक लाभका लागि उपलब्धी हासिल हुने अपेक्षा हो,’ सिग्देलले पत्रकारसँग भने, ‘त्यसका लागि नाट्टा बाँकेले बुद्ध एयरसँग उडानका लागि सम्झौता गरिसकेको छ ।’


सिग्देलले पहिलो उडान भएसँगै नियमित उडान हुने अपेक्षा गरिएको सुनाउँदै नेपालगन्ज–पोखरा उडानको अनुभवले पनि आशा बढाएको बताए ।


बुद्ध एयरका नेपालगन्ज स्टेशन प्रमुख विनित शाहले सोमवार हुने पहिलो उडान आफ्ना लागि पनि प्राविधिक अध्ययनको विषय भएकाले त्यसबाट प्राप्त विवरणका आधारमा भाडादरदेखि नियमित उडानका योजनासम्मलाई सहयोग पुग्ने बताए । शाहका अनुसार, नेपालगन्जबाट ९० मिनटको योजना बनाइएको पहिलो उडान मुगुको राराताल, हुम्ला लिमी उपत्यका हुँदै नेपाली आकासबाट कैलाश मानसरोवर दूरदर्शन गरिनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया