नेपालगन्जमा ‘आयुर्वेद अस्पताल’

१५ शैयाबाट थालिएको अस्पताल पाँच वर्षभित्रै ५० शैया पुर्याइने


नेपालगन्जमा निजी क्षेत्रको लगानीबाट आयुर्वेद अस्पताल सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज हेल्थ क्याम्पसले सञ्चालनमा ल्याएको १५ शैयाको नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको विहीवार पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले समुद्घाटन गरेका हुन् ।


नेपालगन्ज आयुर्वेद जनरल अस्पतालका अध्यक्ष मैकुलाल वाल्मिकीले ‘स्वस्थ नेपाली, समृद्ध नेपाल’ भन्ने नाराका साथ सेवाभावले अस्पतालको सुरुआत गरिएको जानकारी दिंदै पाँच वर्षभित्रै ५० शैयाको सुविधासम्पन्न सेवा विस्तार गरिने बताए ।


‘नेपाल जडीबुटीमा सम्पन्न देश हो, हाम्रो वरपर भएका जडिबुटी जडिबुटी नै उपयोगी छन्,’ संविधान सभा सदस्य समेत रहेका अस्पताल सञ्चालक वाल्मिकीले भने, ‘यही कुरा स्थापित गराउन हामीले आयुर्वेद अस्पताल र आयुर्वेद एचए स्तरको अध्यापन गराउने निर्णय गरेका हौं ।’ आयुर्वेद नेपाल जस्तो देशका लागि निकै महत्वपूर्ण साबित हुने उनको विश्वास छ ।


गत कार्तिकमा धनवन्तरी दिवसबाट सेवा सुरु गरेको अस्पतालले यसबीच ३ सयबढीलाई सेवा प्रवाह गरिसकेको जानकारी दिंदै अध्यक्ष वाल्मिकीले चिकित्सकसहितको सेवाबाट आयुर्वेदप्रतिको विश्वासमा बढोत्तरी हुने बताए ।


अस्पताल उद्घाटन गर्दै नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वपरराष्ट्र मन्त्री डा. महतले आयुर्वेद अस्पतालले स्वास्थ्य क्षेत्रमा एउटा महत्वपूर्ण कार्यका रुपमा चर्चा गरे ।


आयुर्वेद चिकित्सा पद्धतिलाई आमनागरिक सम्म पु¥याउन अस्पतालले सहयोग गर्ने विश्वास व्यक्त गर्दै डा. महतले भने, ‘नेपालमा आयुर्वेद उपचार पद्धति र अध्यापन बढ्दो क्रममा छ, सरकारले यसलाई प्राथमिकतामा राख्नु पर्छ ।’


सस्तो, छिटो, छरितो र कम नकारात्मक असर पर्ने पद्धति भएकोले नेपालको स्वास्थ्य क्षेत्रमा आयुर्वेद अस्पतालले ठुलो योगदान पु¥याउन सक्ने विश्वास गर्दै डा. महतले भने, ‘आम मानिसको जनजीवनमा पनि ठुलो प्रभाव पार्छ ।’


अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रभाकर मिश्रका अनुसार, भाडाको भवनमा सञ्चालन थालिएको अस्पताललाई आफ्नै भवनमा लगेर अझै ठुलो र व्यवस्थित उपचार व्यवस्था गर्ने योजना सञ्चालकको छ । मिश्रले आगामी दिनमा थप सेवा र उच्च स्तरको आयुर्वेद चिकित्सा शिक्षालाई प्राथमिकता दिने बताए ।


कार्यक्रममा लुम्बिनी प्रादेशिक आयुर्वेद अस्पतालका निर्देशक एवम् नेपाल आयुर्वेद परिषदका अध्यक्ष डा. सन्तोष कुमार ठाकुर, नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध निर्देशक डा. सुरेश कनोडिया लगायतले आयुर्वेद जनरल अस्पतालले नेपालको आयुर्वेद क्षेत्रमा उच्च स्तरको सेवा दिदैं नागरिकमा आयुर्वेद प्रति सकारात्मक प्रभाव पार्न सफल हुने धारणा राखेका थिए ।

अस्पतालले उद्घाटनको अवसर पारेर सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय भन्दा बढीले स्वास्थ्य परिक्षण गराएको अस्पतालले जनाएको छ । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले गौरव स्मृति प्रतिष्ठानसँगको सहकार्यमा निःशुल्क रुपमा आँखा शिविरको आयोजना गरेको हो ।


आयुर्वेद अस्पतालमा डा. शिवराज सुवेदी प्रवन्ध निर्देशक, डा. मनोज कुमार यादव, डा. मदन भण्डारी, डा. योगेश वैद्य लगायतको टिमले स्तरीय सेवा प्रवाह गरिरहेको अध्यक्ष वाल्मिकीले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया