नेपालगन्जमा विचार गोष्ठी, खजुरामा ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
आज पुस २७ गते बुधवार ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई खजुरामा पनि मनाउन लागिएको छ । खजुरामा दुईवटा अलग अलग कार्यक्रममा पृथ्वी जयन्ती मनाउन लागिएको हो ।
खजुरामा रहेका एनप्याब्सन मातहतका विद्यालयहरुले आफ्नो २५ औं स्थापना दिवासको कार्यक्रम मनाउन गरिने प्रभात फेरीलाई पृथ्वीजयन्तीले सुसज्जित गर्ने खजुरा एनप्याब्सनका अध्यक्ष कृष्ण भण्डारीले बताए ।
त्यसैबीच, राप्रपाले पनि पृथ्वी जयन्ती मनाउने जनाएको छ । राप्रपाले खजुरा बजारको कपास विकास देखि पृथ्वी चोकसम्म प्रभात फेरी गरि पृथ्वीचोकमा बडामहाराज पृथ्वीनारायण शाहको तस्वीरमा माल्याणर्पण र कोेणसभा गर्ने राप्रपाका क्षेत्रीय सचिव तोकराज गिरिले जानकारी दिए ।
नेपालगन्जमा शाश्वत स्मृति प्रतिष्ठानले पृथ्थी जयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गरेको जनाएको छ । बौद्धिक बहसको चौतारी बनिरहेको शाश्वत स्मृति प्रतिष्ठानले विचार गोष्ठीको आयोजना गरेको संरक्षक प्रा.डा. जनार्दन आचार्यले जानकारी दिए ।
बिक्रम संवत २०६३ सालमा व्यवस्थाको परिवर्तनसँगै निषेधको राजनीति शुरु गरिएयता पहिलो पटक निर्वाचन परिणामबाट पार्टीहरुको देशमा राजनीतिको परिदृष्य फेरिएसँगैं राष्ट्र निर्मातालाई जनस्तरबाटै मनाउन थालिएको छ ।
जनभावना विपरित एकाएक नेपाल राष्ट्रको अस्तित्व नै मास्ने षडयन्त्र भैरहेका बेला केहि व्यक्ति, समूह र संस्थाहरुले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउँदै आएका थिए । २०६२/०६३ को आन्दोलनपछि स्थापित सरकारले खारेज गरेको पृथ्वी जयन्ती पहिलो पटक सरकारले मान्यता दिंदै सार्वजनिक विदा घोषणा गरेको हो ।
गृह मन्त्रालयले पृथ्वी जयन्ती (पुस २७ गते) को दिन सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ ।
मन्त्रालयले मंगलवारनै सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय यही पुस २५ गते गरेको थियो ।