जानकीमा भयो हिउँदै अधिवेशन, गाउँ प्रहरी ऐन पारित
जानकी गाउँपालिकाको १३ औं हिउँदे गाउँसभा सोमबार भएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँको सभाध्यक्षतामा सभा बसेको हो । १३ औं हिउँदे गाउँसभा केही ऐन पारित गर्नुका साथै विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
वडा नम्बर ३ मानपुरस्थित गाउँ कार्यपालिकाको कार्यालयमा शुरु भएको १३औं हिउँदे गाउँसभा बहुमत कार्यपालिका सदस्यहरुको उपस्थितिमा केही ऐन पारित गर्नुका साथै विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष खाँले आफुहरु निर्वाचित भएर आईसकेपछि छोरी कल्याण कोषलाई कार्यान्वयनमा ल्याएको, सडक, भौतिक पुर्वाधार निर्माण जस्ता कुरालाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।
अध्यक्ष खाँले वितेको ६ महिनामा पालिकाले केही महत्वपूर्ण कार्यहरु गरेको जानकारी गराउँदै वडा वडामा बैंक, छोरी जन्मने वित्तिकै ५ हजार रुपैयाँको विमा लगायतका कामको सुरुवात आफूले गरेको बताए ।
गाउँपालिकाका प्रबक्ता टिकानाथ यादवले गाउँपालिकालाई अब्बल सावित गर्दै जनपक्षीय कामहरु अगाडि बढाउन आफूहरु प्रतिबद्ध रहेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार, आन्तरिक राजश्व बृद्धि गर्ने उद्देश्यले जानकी गाउँपालिकाको गाउँ प्रहरी ऐन २०७९ पारित गरिएको छ ।
यससँगै अब गाउँपालिकामा एक जना असई, एक जना हवल्दार र ६ जना गाउँ प्रहरी जवान भर्ना गर्ने बाटो खुलेको छ । यस्तै आर्थिक ऐन २०७९ संशोधनसहित पारित गरिएको छ ।
पालिकामा अपुग कर्मचारी व्यवस्थापन गर्न कानुन बनाएर ऐन पारित गर्नुपर्नेमा हालसम्म नभएकाले त्यसलाई पनि पारित गरिएको छ । पालिकामा अब सैद्धान्तिक बेरुजु आउने अवस्थाको अन्त्य भएको डाँगीले बताए ।
१३औं गाउँसभाले यसअघि कार्यपालिका बैठकले गरेका सम्पूर्ण निर्णयहरु अनुमोदन समेत गरेको छ । प्रमुख प्रशासकीय अधिकृत डाँगीले संघियताको सफल र असल अभ्यासमा खरो उत्रिँदै जनतालाई त्यसको अनुभूति दिलाउने गरी काम गर्न आवश्यक रहेको बताए ।
गाउँसभाका लागि निम्त्याइएका प्रमुख अतिथि प्रदेश सभा सदस्य बादशाह कुर्मी, जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की र जिल्ला समन्वय समितिका सदस्यहरुलाई गाउँपालिका अध्यक्ष खाँ र प्रवक्ता टिकानाथ यादवले दोसल्ला र सम्मान पत्र प्रदान गरेर सम्मान गरेका थिए ।
सभामा प्रमुख प्रशासकीय अधिकृत डाँगीले स्वागत गरेको उद्घाटन लुम्बिनी प्रदेशका सांसद कुर्मीले आफुले जानकी गाउँपालिकाको विकासका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अगाडी बढ्ने बताए । उनले गाउँपालिकाले पनि जीर्ण अवस्थामा रहेका सडक निर्माण कार्यलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
आफु २०७४ सालसम्म संबिधान सभा सदस्य हुँदा निर्माण गरेका सडकहरु जीर्ण अवस्थामा पुगेको र आफु प्रदेश सभामा निर्वाचित भइसकेपछि तिनै जीर्ण सडक निर्माणलाई प्राथमिकता दिइने सांसद कुर्मीले धारणा राखे ।
घिमिरे प्रेस सल्लाहकार
नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य रविन्द्र घिमिरे प्राइम टेलिभिजनमा कार्यरत छन् ।
पत्रकार रविन्द्र घिमिरेलाई जानकी गाउँपालिकाको प्रेस सल्लाहकारमा नियुक्त गरिएको छ । गाउँसभाले पत्रकार घिमिरेलाई प्रेस सल्लाहकार गरेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले जानकारी दिए । नेपाल प्रेस युनियन बाँकेका कार्यसमिति सदस्य घिमिरे प्राइम टेलिभिजनमा कार्यरत छन् ।