नेपालले भारत केन्द्रित पर्यटन प्रवद्र्धनलाई जोड दिने भएको छ । पर्यटन प्रवद्र्धनका लागि राज्यको आधिकारिक निकाय, नेपाल पर्यटन बोर्डले त्यसका लागि आवश्यक पहल थालेको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालको पर्यटनमा भारतीय पर्यटकहरूको आर्थिक योगदानको मूल्यांकन सँगै अभिलेख राखिने जानकारी दिए ।
‘भारतीय पर्यटकको योगदान नेपालको जिडिपीमा कति छ भन्ने कुराको एकिन तथ्यांकसम्म छैन’, डा. रेग्मीले सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘विमानस्थल मार्फत आउने पर्यटकहरूको मात्र तथ्यांक राखिंदा सीमावर्ती क्षेत्रबाट आइरहेका भारतीयहरूको योगदानको अभिलेखिकरण हुन सकेन ।’
पर्यटन बोर्डको सर्भेलाई उद्धृत गर्दै प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले भने, ‘हाराहारी १४ लाख भारतीय पर्यटकले नेपालमा प्रतिव्यक्ति १७ हजार ८ सयसम्म भारतीय रूपैयाँ खर्च गरेको देखिन्छ ।’
युरोपियन पर्यटकले नेपाल आउँदा गर्ने खर्चको तुलनामा भारतीय पर्यटकको योगदान कम नदेखिएको तर्क गर्दै डा. रेग्मीले भने, ‘त्यसका आधारमा भारतीय पर्यटकलाई नेपाल भित्र्याउने हामीहरूले ध्यान दिन आवश्यक ठानिएको हो ।’
पाहुनालाई पर्यटन सम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा ¥याफटिङ, रारा यात्रा र माउण्टेन प्लाइट गराउने तयारी
श्रीराम सिग्देल
अध्यक्ष, नाट्टा
निकै प्रयास र पहलपछि पहिलो पटक आगामी माघ १५–१७ नेपालगन्जमा आयोजना हुने वेष्टर्न ट्राभल मार्टमा ‘फ्याम ट्रिप’ का रूपमा भारतीय ट्राभल एजेन्टहरूको आधिकारिक संस्था, ट्राभल एजेन्टस् एशोसिएसन अफ इन्डिया (ताई) का प्रतिनिधिहरू सहभागी निश्चित भएको डा. रेग्मीले जानकारी दिए ।
‘यसले धेरै बर्षदेखि हामीले गरिरहेको प्रयास सार्थक भएको छ’, भारतका विभिन्न कुनाबाट ट्राभल एजेन्टका आधिकारिक र प्रभावशाली प्रतिनिधिहरू नेपालगन्ज आउने कुराले पश्चिम क्षेत्रको गन्तव्यले बजारीकरणको अवसर पाउने चर्चा गर्दै डा. रेग्मीले भने, ‘यसले नेपालमा भारतीय पर्यटकको संख्या बढ्ने आशा गरिएको छ ।’
वेष्टर्न ट्राभल मार्टको दोस्रो संस्करणको एउटा महत्वपूर्ण अंगका रूपमा हुन लागेको फ्याम ट्रिपले पश्चिमको पर्यटकीय बजारीकरणलाई थप मद्दत पुग्ने विश्वास पर्यटन बिस्तार अभियानमा लागेकाहरूको छ ।
‘वेष्टर्न ट्राभल मार्ट अझ बृहत र व्यापक हुँदैछ भन्ने कुरालाई भारतीय ट्राभल एजेन्टहरूको आगमनले पुष्टि गर्दैछ’, नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) जिल्लाका अध्यक्ष श्रीराम सिग्देलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘यो आयोजनासँगै मार्टको दोस्रो संस्करण सुरु हुनेछ ।’
मार्ट आयोजक समितिका संयोजक समेत रहेका अध्यक्ष सिग्देलले पर्यटन प्रवद्र्धनका लागि मार्टले निरन्तर विभिन्न गतिविधिहरू सञ्चालन गर्दै जाने नीति लिएको बताए ।
यस ट्रिपमा आउने पाहुनालाई पर्यटन सम्बन्धी स्टलदेखि यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्तव्यको भ्रमण, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा ¥याफटिङ, रारा यात्रा र माउण्टेन प्लाइट गराउने तयारी भएको अध्यक्ष सिग्देलले जानकारी दिए ।
‘कैलाश मानसरोवर दुरदर्शनका लागि पनि आवश्यक प्रयास भैरहेको छ’, सिग्देलले भने ।
मार्टबाट बाँकेका दुई वटा ऐतिहासिक धार्मिकस्थल नरैनापुरको बाबा बर्फानी र सन्तानेश्वर महादेवको मन्दिरलाई विशेष रूपमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
त्यसैगरी नेपालको मौलिक उत्पादनको रूपमा रहेको ‘अल्लो’ बाट निर्माण गरिएको सामग्री र शालिग्रामको प्रचारका लागि आयोजक नाट्टाले काम गर्ने अध्यक्ष सिग्देलको भनाइ छ ।
आयोजना बारे जानकारी नाट्टा बाँकेका महासचिव झविलाल शर्माले पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना हुने कार्यक्रमका लागि नेपालगन्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मन्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघसस्थाहरुको सहकार्य गरिएको बताए ।
यसपटक ताईबाट भारतीय ट्राभल एजेन्टहरु ७५ जनाले सहभागिता जनाउने निश्चित भएको आयोजकले जनाएको छ । ‘भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती सहरका ४० जना र आन्तरिक पर्यटन ब्यवसायीहरु करिब ३०० जनाले सहभागिता जनाउने निश्चित भएको छ’, वेष्टर्न ट्राभल मार्ट नेपालगन्जका संयोजक श्रीराम सिग्देलले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।
मार्टमा काठमाडौं लगायत सातै प्रदेशका पर्यटन व्यवसायीहरुको भेलाभई स्थानीय संस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटक आकर्षण गर्नेे मुख्य उद्देश्यका साथ यो मार्ट संचालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
‘सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन व्यवसायी सहभागी गरार्ई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयासरत छौं,’ संयोजक सिग्देलले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘क्यानको सहमति हुनासाथ यसले सार्थकता पाउनेमा विश्वस्त छौं ।’
कर्णाली नदीमा राफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिन कार्यक्रम तय गरिसकिएको जानकारी विज्ञप्तिमा उल्लेख छ ।
पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न टुर अपरेटर र बायरको रुपमा मार्टमा सहभागी हुने भएका छन् ।
‘यस मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु र भारतबाट सहभागी हुने टुर अपरेटरहरुबीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ’, विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरुबीच टुर प्याकेजहरुको आदान–प्रदान हुनेछ ।’
मार्टको आयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुन गई कैलाश मानसरोवर दुरदर्शन समेतका लागि माउन्टेन फलाईटको नेपालगन्जबाट शुरुवात गराई पर्यटक आगमन संख्या बढ्न जाने अपेक्षा गरिएकोे छ । मार्टको भव्य सञ्चालनका लागि पर्यटनमा चासो राख्ने यस क्षेत्रका सम्पूर्ण व्यवसायी, सरोकारकारवाला अन्य महानुभाव लगायत सञ्चार क्षेत्रको सक्रिय सहभागिताको अपेक्षा गरेको आयोजकले बताएका छन् ।
दोस्रो पटक नेपालगन्जमा हुन लागेको मार्टमा सहभागिता जनाउनु पश्चिम क्षेत्रका पर्यटन व्यवसायीका लागि गर्वको कुरा भएको कार्यक्रममा सहभागी पर्यटन प्रवद्र्धन मञ्चका जिल्ला संयोजक कृष्णप्रसाद श्रेष्ठले प्रतिक्रिया दिए ।
‘यसलाई बाँकेका सबै स्थानीय तहले अपनत्व लिएर सहयोग पुर्याउनु पर्छ’, मार्टका सदस्य सचिव समेत रहेका श्रेष्ठले भने, ‘जिल्लाबासी एकढिक्का भएर आयोजनालाई भव्यता दिनेतर्फ साथ दिनुपर्छ ।’