विदेशनीतिमा हामी कहाँ चुक्यौँ ?

प्रा.डा.जनार्दन आचार्य

देशमा भरखरै ( २०७९÷ मंसिर÷४) सम्पन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सरकार बनेको केहिदिन मात्र भएको छ ।

निर्वाचन भन्दा पहिले र निर्वाचनको परिणाम सार्वजनिक भए देखिका केहिदिनसम्म पनि आगामी १५÷ २० बर्ष प्रजातान्त्रिक गठबन्धनको उपादेयता र देश भित्र यसको खाँचो देखेका अनि यसको बयानमा नथाक्ने ति राजनीतिक दलका पेसेबर खेलाडीहरुको अङ्क गणितीय खेल (उनिहरुकै भाषामा ) प्रतिगमनकारी शक्तिको अगुवाइमा चकनाचुर र भताभुङ्ग भएको छ ।

यसै घटनाको परिणामस्वरूप ठुला वा साना भनिने केही राजनीतिक दल ( संसदिय प्रतिनिधित्वका हिसाबले) सरकारमा सामेल भएको देखिन्छ भने अन्यदलहरु पनि सरकामा सामेल हुन आ–आफ्नै जोड घटाउमै ब्यस्त छन् ।

सैद्धान्तिक धरातल, राजनीतिक आदर्श, राजनीतिक मुल्य र मान्यता अनि सामाजिक प्रतिष्ठासमेत गुमाएका, राजनीतिक चरित्रबाट समेत पथच्यूत हुन पुगेका केहि ठुला भनिने दल कुनै न कुनै उपायबाट सत्तामा जाने अभिलाषाका साथ अर्कै राजनीतिक दलको ओतको खोजिमा यता उता भौँतारिदै गरेका समाचार सार्वजनिक हुँदै गर्दा अनायास अर्को गठबन्धन जनतासामु देखापर्याे । सम्भबतः यो गठबन्धन क. पुष्पकमल दाहाल अनि क. खड्ग प्रसाद ओलीको आलो पालोको नयाँ केमिस्ट्री को रिहर्सल हो भन्नेमा लेखक ढुक्क छ ।

   आदर्श शुन्यतामा रमाउन पल्केका र त्यसैलाई आफ्नो आदर्श बनाएका  नेपालका हरेक राजनीतिक दलहरु ले  बेला न बखत जे पनि गर्न सक्छन् भन्ने नजीर पुनः  स्थापित गरेका छन् । त्यसैले उनिहरुका यस्ता ब्यबहारहरुलाई  कतिपय बिदेशी संचार माध्यमहरुले महत्त्वहीन ठानेर उपेक्षाका दृष्टिकोणले हेर्छन् भने केहिले भने बढाई चढाई प्रसारण गरेको पनि पाइन्छ ।

यस्ता काममा भारतीय मिडिया अन्य बिदेशी मिडिया भन्दा धेरै गुना सकृय छ । नेपाली राजनीतिक नेतृत्वको अपरिपक्व र अदुरदर्शी नीतिको शिकार सबै सरकारी निकायहरु हुँदै आएको सन्दर्भमा यसको असर हाम्रो बिदेश नीतिमा पनि देखिन थालेको आभाष पोखरा बिमानस्थल बारेका टीका टिप्पणीले पनि गरे । यस्तो किन हुनगयो ? र किनहुन्छ भन्नेमा नै यो लेख केन्द्रित छ ।

   बिदेश नीति ;

     सम्भबतः मेरो पुस्ता देशभित्र वा देशबाहिरका थुप्रै  राजनीतिक संक्रमण देख्ने पुस्ता बन्यो । देश भित्रको यो राजनीतिक  संक्रमणकाल केही स्वार्थी र धूर्त राजनितीज्ञ, कर्मचारी, बौद्धिक भनिने जमात, पत्रकार, ब्यापारी तथा बिचौलियाहरुका लागि राज्यकोष दोहनको सुनौलो अबसर बन्यो । तर, सत्ता र पदको अनुकुलता कतिदिन टिकाउ हुन्छ भन्ने हेक्का यो बर्गमा देखिएन । दुरदर्शिता, धैर्यता र लगनशीलताको अभाब भएका  यिनै र यस्तै राजनीतिक बिचौलियाहरुको सिकार आज आएर नेपालको बिदेश नीति पनि बन्यो । यसको चर्चा तल गरिने छ ।

    नेपालको बाह्य सम्बन्धलाई २०६३÷०६४ साल भन्दा पहिले भएका राजनीतिक परिवर्तनहरुले खासै असर गरेनन् । बरु पृथ्वीनारायण शाहद्वारा प्रतिपादित सिद्धान्त ‘दुई ढुङ्गा बीचको तरुल’ वा  ‘दक्षिण र उत्तर तिरका छिमेकीका’  साथ निर्वाह गर्नुपर्ने हाम्रो भूमिका ‘तटष्थता’बाट काम चलिरह्यो । तर, जानी–जानी गराइएको दरबार हत्याकाण्ड पछि भने नेपालका अधिकांस निकायहरुले आफ्नो बिश्वस्नियता र गुणस्तरियता गुमाउँदै गएको देखिन्छ । यस्तो किन ? र कसरी ? हुन्छ भन्नेमा मात्र लेखक केन्द्रित रहने छ ।

    हामी कहाँ चुक्यौँ ?

 नेपाली राजनीतिक दलका नेताहरूले बिदेश नीतिलाई समेत राजनीतिक भकुण्डो बनाए । उनिहरु धेरैले नेपालको भू–राजनीतिक बाध्यतालाई सत्तामा पुगे पश्चात आ– आफ्ना स्वार्थ अनुकुल उपयोग गर्ने घृणित काम गरे । हामीले अंगाल्दै आएको ‘अशंलग्नता’  र नेपालले बिश्व सामु राखेको  शान्ति क्षेत्रको प्रस्तावलाई अरुको उक्साहटमा  ‘महेन्द्रिय’ बिदेश नीति भन्दै पन्छाउने काम भयो ।  फलस्वरूप नेपालको बिदेश नीतिले सुस्त सुस्त आफ्नो बिश्वस्नियता गुमाउँदै गयो ।

बिदेश नीतिमा देखापरेको यो अधोगतिको यात्रा स्व. कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्री कालबाट प्रारम्भ भै स्व. गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा हुँदै खड्ग प्रसाद ओली र पुष्पकमल दाहालसम्म आइपुग्दा देशमा बिदेश सम्बन्धलाई निर्धारण गर्ने, अनुगमन गर्ने र निर्देशन गर्ने कुनै निकाय छ जस्तो लाग्न छोड्यो। जसको परिणाम पोखरा बिमानस्थलको उद्घाटन र गणतन्त्र चिनका कार्यबाहक राजदूतको कुरा ।

लेखक के कुरामा बिस्वस्त छ भने चिनियाहरु बिना आधार बिचार संप्रेषण गर्दैनन् । बरु खोजि गर्छन् । हामी नेपाली जस्तो जे मनलाग्यो त्यहि बोल्दैनन् । त्यसैले लेखकको बिचारमा राजदुतको अभिब्यक्ति ब्लेक एण्ड ह्वाइटमा आधारित हुनुपर्छ बरु हाम्रा पक्षकाहरु कतैबाट निर्देषित हुन सक्छन् । यसबारे खोजबिन जरुरी छ ।

यतिमात्र कहाँ हो र ! स्वयं परराष्ट्र मन्त्रालयमा पनि अब त बौद्धिकता र लगनशीलताले खासै ठाउँ पाउनसकेको देखिँदैन । आज परराष्ट्र मन्त्रालय समेत राजनीतिक दलमा पहुँच हुनेहरुका लागि बिश्रामस्थल बनेको छ भन्दा अतिशोयोक्ती नहोला । किनभने आफ्नो मुलुक अनि जनताका लागि के गर्दा उपयुुक्त हुन्छ वा के गर्न हँुदैन भन्ने सम्मको हेक्का राख्ने ब्यक्ति त्यहाँ भएको अनुभूति जनतालाई छैन ।

कतिपय त राजनीतिक नियुक्तिका कारणले मात्र कुटनीतिज्ञ बनेका र आजीवन त्यहिँ ट्याकमा रमाउनेहरुको संख्या दिनानुदिन बढ्दो छ ।त्यसैले जबसम्म राष्ट्रियता र राष्ट्रियस्वभिमान लाई साछिराखेर कामगर्ने आँट र जागर स्वतः ब्यक्तिमा आउँदैन तबसम्म परिवर्तनको आश गर्नु आफुलाई ठग्नु मात्र हो ।

प्रतिक्रिया

प्रतिक्रिया