प्रहरी–प्रशासनको उपेक्षाले दिनभर सास्ती

दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको मागमा प्रहरी–प्रशासन गम्भीर नभएको भन्दै सोमबार दिनभर सुर्खेतरोडमा प्रदर्शन गरिएको छ ।

गत शनिबार नेपालगन्जको न्यूरोड भानुभक्त चोक नजिक ना ७ ख १७ नम्बरको ट्रकले ठक्कर दिंदा साइकल यात्रु सेजन थापा मगरको मृत्यु भएको घटनामा प्रहरी–प्रशासन गम्भीर नभएको आशंका गर्दै पीडितको पक्षमा दिनभर प्रदर्शन गरिएको हो ।


प्रदर्शनका कारण सोमबार सुर्खेतरोड अस्तव्यस्त बन्यो । कारकाँदो चोकबाट सुरु भएको प्रदर्शनको झिल्को धम्बोझी चोक हुँदै राँझासम्म बिस्तार हुँदा त्यस क्षेत्रको यातायात निकै प्रभावित भयो ।


जिल्ला प्रहरी कार्यालय बाँकेलाई आइतबारदेखि नै आफ्ना मागबारे सुनुवाईका लागि ध्यानाकर्षण गरिरहेका पीडितका परिवार तथा आफन्तहरू प्रति विश्वासयोग्य वातावरण नबनाइएपछि प्रदर्शनमा उत्रनु परेको उनीहरूको भनाइ छ ।


‘यातायात समिति र ट्रक धनीलाई प्रहरीले चाह्यो भने बोलाउन नसक्ने हुन्थ्यो ?’, प्रदर्शनमा आक्रोश पोख्दै आफन्तले भने, ‘सामान्य औपचारिकतामा घटनालाई सामसुम पार्ने प्रयासले यो अवस्था आयो ।’


सम्बद्ध स्रोतका अनुसार, आइतबार दिनभर प्रहरी कार्यालयमा ‘झुलाइएपछि’ प्रदर्शनको योजना बनाइएको थियो ।

‘दिनभर बसिरहँदा पनि निष्कर्ष ननिस्कदा प्रदर्शन लम्बिदै गएको हो’, वार्तामा सहभागी नेतृ मन्दिरा पाण्डेले दैनिक नेपालगन्जसँग भनिन्, ‘मंगलबार १० बजेसम्म क्षतिपूर्तिको विषयलाई लिएर टुंगो लगाउन जिम्मेवार प्रतिनिधिलाई प्रहरीले झिकाउने सहमतिमा प्रदर्शन रोकिएको छ ।’ उनले सुनुवाईको उपेक्षा लम्बिदै गए प्रदर्शन पनि बढ्दै जाने पीडितहरू आक्रोशित रहेको जानकारी दिंदै भनिन् ।


सम्बद्ध स्रोतका अनुसार, गाडी धनी, समिति र स्थानीय प्रहरी प्रशासनले ‘कानुन बमोजिम’ भनिरहेको क्षतिपूर्तिबाट पीडित सन्तुष्ट छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया