निर्वाचन नतिजापछिका चिन्ता र चासोमा बहस
मित्र सापकोटा
भर्खरै आम चुनाव सकिएको छ । सांसदहरुको सपथ सकिएको छ । नयाँ सरकारका लागि काठमाडौंमा दलहरुका रस्साकस्सी जारी रहेकै बेला नेपालगन्जमा ‘नेपालको निर्वाचन–२०७९ ले उब्जाएका प्रश्न र दिएको सन्देश’ बारे अन्तरक्रियात्मक बहसको आयोजना गरिएको छ ।
शनिवार शाश्वत स्मृति प्रतिष्ठान नेपालगन्जले नेपाली राजनीति र देशको अवस्थाको बारेमा उपत्यका बाहिर पनि चिन्तन मनन र बहस गर्नुपर्छ भन्ने सन्देश दिनेगरि अन्तरक्रियात्मक बहसको आयोजना गरेको हो ।
कुनैपनि बेला नेपाली राजनीतिमा कुनै बौद्धिक बहस वा अन्तरक्रियाको समाचार आउँदा एकछिन पनि न नघोत्लिइ भन्ने गरिन्छ त्यो कार्यक्रम काठमाडौं मैं भएको हो, अनि हत्त न पत्त कुन राजनीतिक दलका नेता आए, कुन गुटका बुद्धिजीविहरु आए र के भने ? भनेर खोजिन्छ । यो नेपाली राजनीतिक चर्चामा आम न्यारेटिभ नै भएको छ ।
उपत्यका बाहिर नेपाल छैन भन्ने जस्तो । तर शनिवार नेपालगन्ज उपमहानगर पालिकाको सभाकक्षमा जम्मा भएका नेपालगन्ज देखि सुर्खेतसम्मका राजनीतिमा बहस गर्नसक्ने बुद्धिजीविहरुको जमघट देख्दा काठमाडौं बाहिर पनि महत्वपूर्ण र प्रभावकारी अन्तक्रियात्मक बहसहरु हुन थालेको सन्देश प्रवाह भएको हो । नेपालको राजनीतिको बारेमा बौद्धिक बहस गर्न काठमाडौं बाहिर पनि नागरिक समाज छ भन्ने देखिने–सुनिने गरि अवसर जुराएको थियो शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगन्जले ।
शाश्वत स्मृति प्रतिष्ठान नेपालगन्जको अध्यक्ष श्रीमति किरण आचार्य अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज, खजुरा र सुर्खेतका बौद्धिक व्यक्तित्वहरुको सहभागिता थियो । कार्यक्रमलाई प्रतिष्ठानका संरक्षक डा. जनार्दन आचार्यले स्वागत गरे भने कार्यक्रम सहजीकरण साहित्यकार खगेन्द्र गिरी कोपिलाले गरेका थिए ।
कार्यक्रमबारे मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका पूर्व डीन सह प्राध्यापक पिताम्बर ढकाल, बरिष्ठ अधिवक्ता तथा नेपालगन्जका पूर्व नगरप्रमुख विजय कुमार गुप्त, र अधिवक्ता लोक बहादुर शाहले धारणा राखेपछि बहसले अन्तरक्रियात्मक रुप लिएको हो ।
मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन राजनीतिशास्त्री पिताम्बर ढकालले नेपालको राजनीतिक इतिहासमा सातवटा संविधान सात दशकमा बनेको र यो समयलाई हेर्दा नेपालका जुनसुकै संविधानको औसत आयु दश बर्ष रहेको संकेत गरे । अब फेरि त्यस्तो हुन नदिन हरेक बौद्धिक क्षेत्र, नागरिक समाजबाट खबरदारी हुन जरुरी रहेको औंल्याउँदै राजनीतिशास्त्री ढकालले भने, ‘हामी कतिसम्म निरह भयौं त ? आफैले भोट हालेको पार्टीको गलत क्रियाकलापलाई ढाक्ने नाममा आफैलाई लाज नलागेपछि लोकतन्त्र कसरी बच्न सक्छ ?’
लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने धारणा राख्दै ढकालले भने, ‘तर, निर्वाचनमा भएको र हुने गरेको पैसाको खेल र हावादारी घोषणापत्रहरु पस्केर सत्तामा पुग्ने प्रपञ्चले नेपाली लोकतन्त्र जिवन्त हुन सक्दैन ।’ ‘हिजो हामीले लोकतन्त्रका लागि राजाका बिरुद्ध संघर्ष गर्यौं तर अब यहि चाला रह्यो भने भोलि कसका बिरुद्ध संघर्ष गर्ने ? ढकालको प्रश्न थियो ।
बरिष्ठ अधिवक्ता विजय कुमार गुप्तले नेपालमा विचारको राजनीति मरेको र यसले अबको युवालाई राजनीतिको सहि गन्तव्यतिर लैजान नसक्ने बताए । आफ्नो मन्तव्य निकै रोचकताका साथ पस्किएका नेपालगन्जका पूर्व नगरप्रमुख गुप्तले ‘अहिलेको समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था जुन असल नियतका साथ राखिएको थियो त्यसमा समेत चरम भ्रष्टाचार भएर अहिले गर्लफ्रेण्डलाई सीट सुरक्षित गर्ने प्रणाली भएको’ टिप्पणी गरे ।
‘राजनीतिक पार्टी विचारले चल्ने हो मानिस होस् या व्यवस्था उमेरले होइन विचारले बुढो हुने हो, विचारमा नविनता छ, उर्जा छ भने कुन उमेरकाले चलाएको छ भन्ने कुराले कुनै अर्थ राख्दैन,’ वरिष्ठ अधिवक्ता गुप्तले भने, ‘विचारले जवान हुनुपर्छ, अहिलेका जस्ता उमेर ४० कम तर विचारशुन्यता भयो भने त्यस्तालाई राजनीतिका भाषामा जवान वा युवा भन्न सकिँदैन ।’
नेतालाई देवत्वकरण गर्न नहुने तर्क गर्दै वरिष्ठ राजनीतिज्ञ गुप्तले भने, ‘सार्वभौम जनता आफै दैनिक सत्ता सञ्चालनको काममा खट्न सम्भव नहुने भएकोले वारिसको रुपमा चुनेर पठाएको मात्र हो नकि उनीहरुलाई मालिक बन्न पठाएको। त्यसैले भोट हालेर मात्रै नागरिक कर्तव्य पुरा हुँदैन । हरेकले हरेक ठाउँबाट खबरदारी गर्न जरुरी छ ।’
नेपालगन्ज बारका पूर्व अध्यक्ष लोकबहादुर शाहले नेपालको न्यायपालिकाको अवस्था, नेपाली लोकतन्त्रमा संंविधानले दिएको बाँच्न पाउने अधिकारको कार्यान्वयनको अवस्था, २०७९ को आम निर्वाचनमा उब्जिएका प्रश्नहरु र निर्वाचन परिणामले दिन खोजेको सन्देशको बारेमा आफ्ना भनाइहरु राखेका थिए । अधिवक्ता शाहले आफ्नो मन्तव्य राख्दै नेपालको न्यायपालिकामा रहेको लालफिताशाहीको अवस्थालाई घुमाउरो पाराले पस्किए ।
सय मीटरको दुरीमा रहेको जिल्ला अदालतबाट उच्च अदालतमा मिसिल आफै पुग्न नसक्नु जनताले न्याय सजिलै पाउने अवस्था होइन भन्दै गर्दा सहभागीहरुले त्यहाँ खुट्टा लगाउनुपर्छ भन्दै न्याय क्षेत्रमा रहेको बेथितिलाई व्यङ्ग गरेका थिए ।
वक्ता त्रयको मन्तव्यपछि सहभागीहरुबाट ‘कतै नेपाली राजनीतिको मूलमा नै कैफियत भएको र नेपाल सापेक्षताको राजनीतिको सोच नभएकोले त होइन नेपालको राजनीतिमा बेथिति मौलाएको ?, यो निर्वाचनले नेपालका नेताहरु र मुख्य पार्टीहरुप्रति वितिष्णा पलाएको नेताको चरित्रले हो कि ? के अब पनि ठूला दलका नेताहरु सुध्रिन सक्छन् त ? कतै अब यो व्यवस्था नै धरापमा पर्ने त होइन ?’ आदि प्रश्नहरु राखेका थिए ।
झण्डै तीन घण्टा चलेको कार्यक्रमको समापन गर्दै प्रतिष्ठानकी अध्यक्ष श्रीमति किरण आचार्यले नेपालगन्जबाट पनि यस्तै कार्यक्रमहरु गरेर नेताहरुलाई बौद्धिक जगतले घच्घच्याउनु पर्ने, आफुले भोट हालेको पार्टी हो भन्दैमा सबैकुरा त्रिपालले छोपे झैं छोप्न नहुने, बौद्धिक र सक्षम व्यक्तिले पद नियुक्ति आदिको भाग पाउने आसमा बेथितिलाई मौन समर्थन गर्न नहुने धारणा राखिन् ।
यसखालका कार्यक्रम नेपालगन्जमा अर्थतन्त्र, विदेशनीति, भाषासँस्कृति नीति र राष्ट्रको स्वाभिमानलाई लिएर भैरहनु पर्ने माग सहभागीको थियो । अब राजनीतिक मूल्य र मान्यता नीति सिद्धान्त बीनाको नेताको सिण्डिकेट नेताले त गर्लान तर जनताले अस्वीकार गर्छन र गरेका छन् भन्ने निचोड पनि निकालिएको एक सहभागीले बताए ।