माघ अन्तिममा हुने भो ‘टुर दि ठाकुरद्वारा’

खेलकुद र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिंदै आएको टुर दि ठाकुरद्वारा साइकल यात्राको पाँचौं संस्करण तय भएको छ । आयोजक नेपालगन्ज साइक्लिङ्ग क्लबले आगामी माघ २७–२८ टुर दि ठाकुरद्वारा–२०२३ आयोजनाको घोषणा गरेको हो ।


क्लब अध्यक्ष सतिश निरौलाको अध्यक्षमा बसेको बैठकले चौथो संस्करणसम्म आइपुग्दा बाँके, बर्दियामा पर्यटकीय गन्तव्य प्रवद्र्धनका लागि टुर दि ठाकुरद्वारा सफल ढंगले अगाडि बढेको निष्कर्ष निकाल्दै पाँचौं संस्करण आयोजनाको निर्णय गरिएको सचिव प्रदिप सापकोटाले जानकारी दिए ।

‘देश, विदेशका साइक्लिष्टहरूलाई आयोजनामा निम्त्याउन तयारी पहल पनि सुरु भैसकेको छ’, क्लबका सचिव सापकोटाले दुई सय बढी साइकल यात्रुले रोमाञ्चक साइकल यात्रामा सहभागिताको प्रतिबद्धता जनाइसकेको जानकारी दिंदै भने, ‘साइकल अभियानलाई मानिसको आधारभूत स्वास्थ्य र पर्यावरण संरक्षण सँग जोड्दै पर्यटकीय गतिविधि प्रवद्र्धनमा क्लबलाई अगाडि बढाउने हाम्रो योजना हो ।’


अघिल्लो बर्ष चौथो संस्करणमा २ सय ५० जना साइक्लिष्ट टुर दि ठाकुरद्वारामा सहभागी भएका थिए । ‘यो बर्ष पनि त्यो संख्या कम हुँदैन’, भारतीय साइकल यात्रुहरूको सहभागिता बढ्ने अपेक्षा गरिएको जानकारी दिंदै नेपालगन्ज साइक्लिङ्ग क्लबका सचिव सापकोटाले भने, ‘अन्य देशबाट पनि कसरी साइक्लिष्टहरूलाई जोड्न सकिन्छ भन्ने कुरामा हाम्रो कसरत छ ।’


बाँकेको नेपालगन्जबाट सुरु हुने टुर दि ठाकुरद्वारा बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा पुगेर विभिन्न पर्यटकीय गतिविधि सँग जोडिएर आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया