
धारा म्याराथनको आठौं संस्करणसम्म आइपुग्यौं । के छन्, अनुभवहरु ?
नेपालगन्ज म्याराथनको पाँचौं संस्करणबाट हामी यसमा जोडिएका हौं । र, अब आठौंसम्म आउँदा यसले अन्तर्राष्ट्रिय मान्यता प्राप्त भयो । जसले गर्दा यसले थप ऊचाई प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय रुपमा यो स्थापित भएको हाम्रो मान्यता रहेको छ ।
यसको रुट विश्वकै सजिलो रुट मध्ये पर्दछ । किनभने यो सोझो रुटका रुपमा पर्छ । र, उकालो यस रुटमा छैन । म्याराथन फ्रेडली रुट भन्छन् यसलाई । अन्तर्राष्ट्रिय संस्थाबाट नाप्न आउँदा, उहाँहरुको भनाइ अनुसार यो विश्वको उत्कृष्ट ५÷७ रुटहरु मध्ये नै पर्दछ । त्यसैले हामी पनि गौरवान्वित महसुस गरेका छौं । अन्तर्राष्ट्रिय सदस्यता पनि आएका कारण यो नेपालको अन्तर्राष्ट्रिय स्तरको गन्तव्य बन्न सक्छ ।
नेपालगन्जलाई खेलाडीहरुको सहर पनि भनिन्छ । खेल प्रवद्र्धनलाई कसरी निजी क्षेत्रसँग जोड्न सकिन्छ ? जसरी धाराले नेपालगन्ज म्याराथनलाई तीन बर्षदेखि प्रमोट गर्दै आइरहेको छ । त्यसरी निजी क्षेत्र खेल, इभेन्टहरुमा कसरी जोडिएर जानसक्छन् होला ?
यो कुरा सरकारी नीतिमाथि पनि निर्भर पर्दछ । कुनै पनि उद्योगले खेल माथि पैसा लगाउँछ भने त्यसलाई खर्चमा लेख्न पाउने व्यवस्था भयो उ पनि प्रेरित हुन्छ । त्यो व्यवस्था अहिले सोझो बाटोबाट छैन । त्यसलाई विज्ञापन वा अन्य बाटोबाट लगानी गर्नुपर्छ । सरकारी नीति नियम कानुन अलिकति खुकुलो पारेर प्रोत्साहन गर्यौं भने वा चाही अनिवार्य गर्यौं भने
कुनै प्रोडक्टको सेल्सको खर्चको यति प्रतिशतसम्म खर्च गर्ने अनुमति दियो भने धेरै सुधार आउन सक्छ ।
यसको एड्भोकेसी खेल क्षेत्रले गर्ने वा तपाईहरुले पनि त्यसखालको माग गर्न सक्नुहुन्छ ?
यसको एड्भोकेसी खेल क्षेत्रले गर्नुपर्छ । किनभने सरकारी क्षेत्रबाट निर्णय हुनुपर्ने हुन्छ । हामी खर्चकर्ता भएकाले एड्भोकेसी गर्न सक्दैनौ नि ।
यस्ता खालका इभेन्टले उद्योगलाई सहयोग पुग्दैन र ?
त्यसरी हेर्दा उद्योगलाई पनि फाइदा पुग्छ र खेलाडीलाई पनि फाइदा पुग्छ, आयोजना हुने सहर र त्यो ठाउँलाई पनि फाइदा पुग्छ । आज नेपालगन्जमा कोही जितेर जान्छ, भोलि त्यो एशिया कप, ओलम्पिक वा अरु कुनै अन्तर्राष्ट्रिय गेममा पनि भाग लिन जान सक्छ । र, देशको नाम पनि चम्काउन सक्छ । यसले देशलाईनै फाइदा पुग्छ ।
यसमा सरकारको दायित्व पनि उत्तिकै छ । यसअघि गोपिचन्दले जिते, ओलम्पिकको टिकट दिइए पनि जान पाएनन् । खोइ यहाँ राज्यले आफ्नो दायित्व निर्भाह गरेको ? त्यसैले पनि तपाईले उठाएको गम्भीर विषय हो । सम्बन्धित संघ, संस्थाले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने खालको नीति बनाउन सरकारसँग पहल गर्नुपर्छ ।
आज राष्ट्रिय÷अन्तर्राष्ट्रिय कम्पनीहरु धेरै छन् । कसैले एउटा एउटा खेललाई स्पोन्सर गरिदियो भने सबै एउटा उद्योगमाथि भार पनि पर्दैन र सबै खेलकुदको विकास पनि हुन्थ्यो ।
साँच्चै व्ययभारको कुरा गरिरहँदा अन्य खेलको पनि स्पोन्सर गरिदिनुस् भनेर प्रस्ताव आउने गरेको छ ? त्यो खालको समस्या कत्तिको आइपरेको छ ।
कसैले खर्च गर्न भने मान्छेले स्वभाविक रुपमा त्यहाँ उसले पनि आशा राखेरै आएको हुन्छ । उहाँले त्यहाँ सहयोग गर्नुभएको छ भने हामीलाई पनि गर्नुहुन्छ कि भन्ने हुन्छ । यो स्वभाविक रुपमा हुन्छ र उद्योगको लागि भारको रुपमा हुनसक्छ ।
आयोजकहरुले अन्य उद्योगहरुलाई पनि खेलमा लगानी गर्न प्रेरित गर्नुपर्यो । हामीसँग जोडिनुस् भनेर प्रोत्साहन गर्नुपर्छ । व्यवसायीको मनमा पनि आउनु पर्यो खेलमा मैले लगानी गरे भने मलाई के फाइदा छ, खेलाडी र देशलाई के फाइदा छ भनेर ।
कहिलेकाही कम्पनीलाई फाइदा नहुन पनि सक्छ । यो देशका लागि के फाइदा, मेरो योगदान छ भन्ने आफैले पनि मूल्यांकन गर्नुपर्छ ।
नेपालगन्ज खेल पूर्वाधारहरुले सम्पन्न भैसकेका छन् । ती पूर्वाधारको उपयोगिता हुन सकेको छैन । खेलमा तपाईले साझेदारी गर्नुभएको छ । पूर्वाधार उपयोग हुन् भन्नका लागि निजीक्षेत्रको भूमिका हुन्छ ?
त्यो सरकारी हो । त्यसमा प्रत्यक्ष रुपमा निजी क्षेत्रको भूमिका हुँदैन । साफ फुटबल गेम भयो । नेपालगन्जमा पनि ठूलो रंगशाला थियो । यति ठूलो मैदान हुँदा हुँदै पनि एउटा पनि गेम दिएन सबै पूर्वतिर दियो । सरकारबाट पनि कहाँनेर सम्बोधनको प्रयास भएको छ त । के नेपालगन्जमा होटल छैनन् ? कि अतिथिलाई व्यवस्थापन गर्ने छैन ? काठमाडौं पनि खेल भयो, पोखरा पनि खेल भयो, विराटनगर भयो तर किन पश्चिम तिर भएन त । त्यो कुरा पनि खोजी गर्नुपर्ने अवस्था छ । त्यसैले हामी त दबाब बनाउने हो । सरकारलेनै अर्बाै लगानी गरिसकेपछि त्यसको उपयोगिता सुनिश्चित गर्न सक्नुपर्छ ।
दल, सामाजिक अभियन्ता, उद्योगीपतिहरु सामाजिक रुपमा हाम्रो कमजोरी हो नि यो त होइन ? कि विभेदकारी नीतिले गर्दा होला ?
मैले त्यति अनुभव गरेको छैन । कहाँबाट कमजोरी भयो । जुन पनि संस्थाले आयोजना गरेको होस्, उहाँले चाहेर होस् वा नचाहेर होस् दिएको भए राम्रो हुन्थ्यो । तर, सबै ठाउँमा बाँढेर दिएपछि त्यसको उपयोगिता पनि हुन्छ ।
नेपालगन्जमा पछिल्ला बर्षहरुमा खेल, पर्यटनका इभेन्टहरु आयोजना भैरहेका छन् । इभेन्टहरु आयोजनाहरु भैरहँदा यस्ता खालका इभेन्टहरुले समग्र बजार, उद्योग धन्दालाई कत्तिको भाइब्रेन्ट गर्न सक्छ ?
नेपालगन्जको एउटा ब्राण्ड इमेज चाहीँ बन्छ । तर यसले बजारमा त्यति असर गरेको चाहीँ मैले अनुभूति गरेको छैन ।
तर, त्यसका लागि अन्तर्राष्टिय स्तरका खेलाडी, पर्यवेक्षकहरुले भाग लिनु पर्यो । टुरिस्ट आउनु पर्यो । त्यस्तो अवस्था आयो भने यो देशको कायापलट हुन्छ । त्यसमा होटल व्यवसायीहरु देखि लिएर सबै त्यसबाट लाभ लिन सक्ने अवस्था आउँछ ।
खेललाई पर्यटन जोड्ने कुरा गर्ने भएको की ?
खेललाई पर्यटनसँग जोड्न सक्ने इभेन्टको सुरुवात हो नेपालगन्जमा । यसलाई ब्रान्डिङ्ग गरेर अगाडि लग्न सक्यौं भने देशको लागि पनि लाभप्रद पनि हुन्छ ।
उद्योगपतिसँग खेलका कुरामात्रै कति गर्नु, कसरी चलिरहेको कारोबार ?
देश आर्थिक मन्दीको चपेटामा छ, ब्याजदर बढेको बढ्यै छ । उद्योगको लागत धेरै बढेको छ । मूल्यवृद्धि भैरहेको छ ।
समग्र रुपमा विश्वव्यापी आर्थिक मन्दी हो र यसबाट हामी पनि अछुतो रहन सकेनौं । र, अहिले उद्योग, व्यवसाय अत्यन्त अप्ठ्यारो अवस्थामा छ । सरकारले यसका लागि ठोस निर्णय लिनुपर्ने अवस्था पनि देखियो ।
त्यही अप्ठ्यारोका बेला पनि खेलसँग जोडिनु भएको छ ? कत्तिको सजिलो छ निरन्तरता ?
सजिलो त होइन । तरपनि निरन्तर गरिरहेका छौं भने यसलाई बीचमा छाड्न पनि मिल्दैन । त्यो कारणले आफ्नो दायित्व वा भनौं खेल प्रतिको लगाव भनौं त्यस प्रकारले निरन्तरता दिएका छौं । भोलि के हुन्छ तर हामी सकेसम्म यो निरन्तर जान्छ, तर समय परिस्थितिले निर्णय दिन्छ । यो आयोजना सफलतापूर्वक सम्पन्न होस् । आयोजना, प्रायोजक, खेलाडी, टेक्निकल टिम, सञ्चारकर्मी सबैको भूमिका होस् आयोजना सफल पार्न । शुभकामना ।










