राठौर भन्छन्, म पनि प्रधानमन्त्री दावेदार’

नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले आफुलाई प्रधानमन्त्रीका दावेदारका रुपमा प्रस्तुत गरेका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि सोमवार पहिलो पटक पत्रकारमाझ प्रस्तुत भएका राठौरले पार्टी महामन्त्री गगन थापाको ‘प्रोजेक्ट’ प्रति लक्षित गर्दै आफुलाई प्रधानमन्त्रीका लागि दावेदारका रुपमा प्रस्तुत गरेका हुन् ।

प्रधानमन्त्रीमा युवा ल्याउने विषयमा पार्टीभित्र छलफल भएमा सबैभन्दा बढी हकदार आफु हुने भन्दै सहमहामन्त्री राठौरले भने, ‘युवालाई अगाडी बढाउने भए प्रधानमन्त्री बन्न मेरो हक लाग्छ, प्रधानमन्त्री परियोजनाले गगनलाई मात्रैलाई योग्य देख्छ भने त्यो लोकतान्त्रिक कुरा भएन ।’

नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा सोमबार सहमहामन्त्री राठौरलाई पत्रकारमाझ निम्त्याएको थियो ।

कार्यक्रममा राठौरले पार्टी र गठबन्धनभित्र छलफल नहुँदै प्रधानमन्त्री बन्ने विषयलाई ब्यक्तिगत रुपमा चर्चामा ल्याउन उचित नहुने तर्क गर्दै भने, ‘युवा उहाँ (गगन थापा र विश्वप्रकाश शर्मा) मात्र होइन, उहाँहरुभन्दा सिनियर म छु, म पनि युवा नै हो, म पनि तयार छु नि प्रधानमन्त्री चलाउनलाई ।’ गगन थापा स्ववियु सदस्य हुँदा आफु त्रिचन्द्र कलेजको स्ववियु सभापति भरहेको स्मरण गर्दै भने, ‘युवा प्रधानमन्त्री चाहिएको भए पार्टीभित्र छलफल हुनुपर्छ ।’

थापा र शर्मालाई विश्वास गरेर पार्टीका नेता, कार्यकर्ताले महामन्त्री बनाएकाले उनीहरुले पार्टीलाई नै बनाएर देखाउनुपर्ने सुझाव दिए । ‘पार्टीलाई बनाएर देखाएको हामी हेर्न चाहन्छौं, त्यसमा हामीले के सहयोग गर्नुपर्छ, हामी सहयोग गर्न तयार छौं,’ सहमहामन्त्री अगाडी राठौंरले थपे । महामन्त्रीद्धय थापा र शर्माले पाँच वर्षसम्म पार्टीलाई बनाएर देखाउनुपर्ने उनले बताए ।

पत्रकारको जिज्ञासामा राठौंरले संगठनको कमजोरी र नेतृत्व तहमा भएका नेताहरुले काम नगरेका कारण कतिपय ठाउँमा पार्टीले चुनाव हार्नुपरेको बताए ।

‘पार्टीको जिम्मेवार तहमा बसेर पार्टीलाई असहयोग गरेका कारण पनि हार भएको हामीले महसुुस गरेका छौं, भोलीका दिनमा यो कुराको छानविन हुन्छ, पार्टीको क्रियाशिल सदस्य भनेको नेता हो, पार्टीको क्रियाशिल सदस्य भएर पार्टीलाई सहयोग नगर्ने पार्टी विरोधी कुरा हो, यसले पार्टीलाई अगाडी बढाउन सक्दैन ।’

पार्टीभित्र बसेर पार्टीलाई घात गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी अगाडी बढ्न नसक्नेमा जोड दिए । अनुशासन नभए घर नबन्ने र पार्टीभित्र अनुशासन, त्याग, तपस्या र बलिदान नभएमा पार्टी नबन्ने उनको बुझाइ छ । अहिलेका युवाले पाउने कुरा मात्रै गर्ने गरेको बताए ।

पत्रकार भेटघाटमा प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रम सचिव विजय मल्लले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया