‘आउँदा दिन पनि उत्साहजनक हुन सकुन्’

विकास निर्माण र समुन्नतीका पक्षमा सधैंनै सक्रिय रहने मो. इस्तियाक राईको प्रतिबद्धता

बाँके निर्वाचन क्षेत्र नम्बर २ का निकटत्तम प्रतिद्वन्द्वी मो. इस्तियाक राईले निर्वाचन नतिजा स्वीकार गर्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणालाई शुभकामना दिएका छन् ।

‘तपाईंले जनता समक्ष गरेका तमाम बाचा पुरा गर्न सक्नुहोस्,’ निवर्तमान सांसद राईले डा. राणालाई लक्षित गर्दै भनेका छन्, ‘तपाईंको जीतलाई जनताले आफ्नै जीतका रुपमा व्यवहारतः अनुभूत गर्न सकुन्, शुभकामना !’


‘आउँदा दिन पनि उत्साहजनक बन्न सकुन्,’ निर्वाचन नतिजाबारे आफ्ना धारणा सार्वजनिक गर्दै निवर्तमान सांसद राईले नवनिर्वाचित सांसद डा. राणालाई निर्वाचनमा गरेका वाचा पुरा गर्न सम्झाएका छन् ।


पूर्वमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका युवा नेता राईले परिणामलाई प्राविधिक पक्ष भनेका छन् । निर्वाचनमा उम्मेदवारको जीत हार भन्दा पनि जनताको जीत हार महत्वपूर्ण हुने भन्दै आफ्नो एजेण्डालाई जनताको ठुलो हिस्साले आत्मसाथ गरेकोमा उनिहरुको विश्वासलाई कहिले पनि डगमगाउन नदिने बाचा गरेका छन् ।


‘सधैं विकास, समृद्धि र सद्भावका लागि काम गरिरहने’ उल्लेख गर्दै राईले आफ्नो धारणामा भनेका छन्, ‘सामाजिक सद्भाव, एकता सहितको जनसेवा र विकास निर्माणका सन्दर्भमा मेरो अठोट हिजोपनि थियो, आजपनि छ र भोलिपनि सशक्तनै रहिरहनेछ ।’


आफ्नो पार्टी कार्यकर्ता समर्थक र शुभेच्छुकहरुलाई सम्बोधन गरेका युवानेता राईले यसपटक सफल हुन नसकेपनि अभियानबाट नडगमगाउने सन्देश दिंदै भनेका छन्, ‘सामाजिक सद्भाव, एकता र विकास निर्माण प्रतिको मेरो अभियानलाई मुकाममा पुर्याउन तपाईहरु आउँदा दिनमा अझै बढी सक्रिय हुनुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।’


प्रतिनिधि सभा सदस्य उम्मेदवार राई प्रतिष्पर्धी डा. राणासंग ६ हजार बढी मतले पराजित भएका थिए । ‘चौतर्फी घेराबन्दी, षडयन्त्र र अफवाहका विचपनि निर्वाचनमा डटेर’ राम्रो मत ल्याएको भन्दै धारणामा भनेका छन्, ‘मलाई विश्वास छ आउँदा दिनमा मेरो अभियानको उचित मुल्यांकन भै सार्थक सिद्ध हुनेछ ।’


दुई/दुई पटक बाँकेबाट प्रतिनिधि सभामा निर्वाचित जनप्रतिनिधिको भूमिका निर्वाह गरिसकेका युवानेता राईको पटक–पटक मन्त्रीको जिम्मेवारी पनि सम्हालेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया