नेपालगन्ज–१० भृकुटीनगर स्थित एक घरमा बुधबार साँझ बम विष्फोट भयो । निर्वाचनको महोलमा शान्त रहेको नेपालगन्ज एकाएक बम विष्फोटको घटनाले त्रास सिर्जना गर्यो । घरमा सिलिण्डर विष्फोटको आशंका प्रारम्भमा गरिएपनि पछि बम भएको पुष्टि थियो ।
बम विफोटसँगै प्रहरीको ठूलै टोली घटना स्थलमा पुग्यो । थप बम रहेको आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुग्यो । एकाएक भएको यो घटनाले निर्वाचन बिथोल्न खोज्नेहरू सलबलाएको स्पष्ट हुन्छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले दिवाकर बिक्रम मल्लको घरमा विष्फोट भएको जानकारी दिए । ‘विष्फोटमा मल्लको घरमा डेरा गरी बस्ने सल्यानका डिल्ली बहादुर डिसी, कैलालीका धर्म बहादुर सुनार घाइते भएका छन्’, उनले भने, ‘घाइते दुवैको अस्पतालमा उपचार भैरहेको छ ।’ घाइते सुनारको अवस्था गम्भीर र डिसीको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
दुवै नेत्र बिक्रम चन्द नेतृत्वको विप्लप समुह सम्बद्ध रहेको प्रहरीले जानकारी दिएको छ । डिसी विप्लव नेतृत्वको विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनास्थललाई नेपाली सेनाले घेरा हालेर राखेको छ । सेनाले थप बम हुनसक्ने र क्षति रोक्नका लागि घटनास्थल आफ्नो नियन्त्रणमा लिएको हो । नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले घटनास्थल नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त ठाउँमा एउटा प्रेसर कुकर फेला परेको र बमको आशंका गरिएको जानकारी दिएको छ । प्रहरी स्रोतले सेनाले प्रेसर कुकर बम भए नभएको र अन्य समाग्रीहरूबाट परीक्षण गरिरहेको बताएको छ ।
‘विष्फोट अघि प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गस्ती सोही क्षेत्रमा पुगेको थियो’, बाँके प्रहरी स्रोतले भन्यो, ‘त्यसक्रममा लुकाउन हतार गर्दा पड्किएको हुनसक्छ ।’ प्रहरीले यसअघि नै शंकास्पद गतिविधिको निगरानी गरिरहेको थियो, सोही क्रममा भृकुटीनगर क्षेत्रमा निगरानी बढाएको सम्बद्ध प्रहरी अधिकारी बताउँछन् ।
प्रहरीले नेत्र विक्रम चन्द विप्लव समूहले चुनाव वहिष्कार गरेकाले विथोल्ने प्रयासका लागि बम बनाउन लागेको बताइएको छ । घटना भएको क्षेत्र बाँके क्षेत्र नं. २ को मतगणना स्थल भेरी प्राविधिक शिक्षालय रहेको क्षेत्र हो ।
प्रहरीले घटना लगत्तै जिल्लाभर सुरक्षा सतर्कता र गस्ती बढाएको छ । प्रहरीले रातीमा विभिन्न ठाउँमा चेकजाँच समेत बढाएको छ ।