नेकपा एकीकृत समाजवादीले बाँकेमा समानुपातिक तर्फ भोट माग्ने अभियानलाई तिव्रता दिएको छ । सत्ता गठबन्धनमा रहेको समाजवादीले जिल्लामा प्रत्यक्ष तर्फ उम्मेदवारी नपाएपछि समानुपातिक तर्फ भोट माग्ने अभियानलाई तिव्रता दिएको हो । त्यसका लागि निर्वाचल परिचालन कमिटि समेत नेकपा एकीकृत समाजवादीले बताएको छ ।

‘जिल्लामा उम्मेदवार नभइएपनि समाजवादी नेता, कार्यकर्ताको ठूलै संख्या बाँकेमा रहेको छ’, समाजवादीका बाँके जिल्ला प्रचार विभाग उपप्रमुख लोकनाथ शर्मा भन्छन्, ‘त्यसैले जिल्लामा समानुपातिक तर्फ भोट माग्न निर्वाचन परिचालन कमिटि परिचालन गरिएको हो ।’ गठबन्धन भएका ठाउँमा गठबन्धनका उम्मेदवारलाई भोट जाने भएपनि समानुपातिक तर्फ पार्टीले छुट्टै प्रचार अभियान सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि जिल्लाबाट समानुपातिक उम्मेदवार पनि जनताको घरदैलोमा खटिएको बताए । ‘समानुपातिक तर्फको भोटले पनि पार्टी जिल्लामा कति बलियो छ भनेर देखाउन सक्ने भएकाले यसतर्फ पार्टी योजनाबद्ध लागेको छ’, प्रचार विभाग उपप्रमुख शर्मा भन्छन्, ‘बाँकेका तीन वटै निर्वाचन क्षेत्रमा घरदैलो निरन्तर गरिरहेका छौं ।’
आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ आफ्नो भाग नपरेपछि समाजबादीले क्षेत्र नं. १ र ३ मा गठबन्धनलाई सहयोग गर्ने र क्षेत्र न २ मा पनि गठबन्धन कै उम्मेदवारलाई सघाउने छ । घरदैलोमा पार्टीको समानुपातिक मत माग्ने कार्य भएको पार्टीका जिल्ला सचिब दिपक जिएमले बताए । समानुपातिकका उम्मेद्वार जिल्ला सचिवालय सदस्य ऋषि पोखरेलले मत माग्नुका साथै मत हाल्ने तरिका पनि मतदातालाई सिकाइरहेको बताए ।

‘प्रत्यक्ष तर्फको उम्मेदवार नहुँदा मतदातालाई कुनै उलझन नहोस् भनेर स्पष्ट रूपमा प्रदेश र संघ तर्फ समानुपातिकमा समाजवादीलाई कसरी भोट हाल्ने सिकाएका छौं’, पार्टी नेता भन्छन् ।

बाँकेबाट समानुपातिक तर्फ रामकृष्ण विक, अव्दुल जव्वर मन्जरि, सुनिता वर्मा र हसमि वेगम उम्मेदवार रहेका छन् । गठवन्धनलाई जिताउन पूर्ण इमान्दारीपूर्वक लागेको र समानुपातिक मत बढी भन्दा बढी ल्याउनको लागि जिल्लाका ८१ वडामा टोली परिचालन गरिएको समाजवादीका केन्द्रीय सदस्य अशोक कोईरालाले बताए ।











