हाम्रो धर्मभित्र रहेका नकारात्मक पक्षहरु हटाउँदै जातपात, छुवाछुत जस्ता विकराल अवस्थाको अन्त्य गर्छु भन्दा कसरी धार्मिक सद्भाव खलबलिने कुरा भयो ?
हिन्दु राष्ट्रको वकालत गर्दै सडकदेखि सदनसम्म संघर्षको घोषणा गर्ने बाटो रोजेका बाँके क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिवाकर खनालले त्रिभुवन चोकमा आयोजित एउटा कार्यक्रममा भने, ‘मैले धार्मिक सद्भाव खल्बल्याउन होइन बरु बलियो बनाउन खोजेको हो । ’
मध्य नेपालगन्जमा छ गोली हानेर ढालेपछि माओवादी हतियारधारीले उनलाई म¥यो भनेर छाडेका थिए । छातीमा मात्र छवटा गोली लागेका थिए । फोक्सो र कलेजो छेडिएका थिए । दायाँबायाँ हातमा एक–एकवटा गोली लागेको थियो । त्यसरी गोलीले छाती छियाछिया भएर ढलेका उनी व्यवसायी दिवाकर खनाल त्रिभुवन चोकमा उभिएर भाषण गरिरहँदा फेरि प्रश्न गरियो तपाई अमेरिका किन जानुभयो ?
हुनपनि माओवादी छ वटा गोली छल्ली पारिदिएका खनाल यसरी पुनः उठ्ने आशा कमैले गरेका थिए । तर, उनी सिनेमाको नायकझैँ दुनियाँलाई आश्चर्यमा पार्दै उठे । माओवादी द्वन्द्वबाट जोगिन केही वर्ष अमेरिका गएर बसे । शान्ति स्थापनापछि स्वदेश फर्किएर पर्यटन व्यवसाय सम्हालेका दिवाकर प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार भए ।
‘ म आफ्नो ज्यान बचाउन औषधी उपचारका लागि अमेरिका गएको हुँ ’, बागेश्वरी माताको कृपाले ज्यान जोगिएको तर्क गर्दै भने, ‘मैले सुखसुविधा खोजेको भए त अमेरिकामै बस्थेँ । जतिसुकै सुख भए पनि मातृभूमिजस्तो पवित्र कहीँ हुँदैन । त्यसैले माता बागेश्वरीको काखमै फर्किंए,’ बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दिएका दिवाकरले सञ्चारकर्मीसँग भने, ‘एकपटक सांसद जितेर हिन्दु राष्ट्रको मुद्दा सडकदेखि सदनसम्म पु¥याउने इच्छा छ ।’
बाँके–२ पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको परम्परागत निर्वाचन क्षेत्र हो । खनाल आफै पनि काँग्रेसमा जीवन बिताएका राजनीतिज्ञ हुन् । तर यतिबेला उनी काँग्रेससँग सन्तुष्ट हुन सकेनन् । र, हिन्दु, हिन्दुत्व अनि हिन्दु राष्ट्रको नारा बोकेर मैदानमा उत्रिएका छन् । भन्छन्, ‘यो मुद्दामा म एक्लै छैन, ८० प्रतिशत भन्दा बढी हिन्दु नेपाली छन् । ’ उनको यो कुरालाई बाँकेमा शिव सेनाले साथ दिएको छ ।
निर्वाचनमा काँग्रेसबाट सुदिप नरसिंह राणा, एमालेसँगको तालमेलमा राप्रपाका महामन्त्री डा. धवल समशेर राणा र जसपा नेता मो. इस्तियाक राई सँग क्लोज ब्याटलमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्नेमा दिवाकर कत्तिको विश्वस्त छन् ? ‘मैले जनतालाई विश्वास गर्ने हो । जनताले कतै गठबन्धन गरेका छैनन्,’ उनी भन्छन्, ‘हिन्दु राष्ट्रका लागि मेरो आह्वान हो । पक्कै जिताउनेछन् ।’
नेपालका हिन्दुहरुको भविष्य नै खतराको अवस्थामा पुगेको भन्दै उम्मेदवार खनालले आफुहरुको उम्मेदवारी संसदमा हिन्दुका मुद्दा उठाउनका लागि भएको आफ्नो चुनावी सभामा बताउँदै आएका छन् । हरेक राजनीतिक दल होस् अथवा सरकारका विभिन्न आयोगहरुमा अन्य धर्मका आयोग तथा संगठन बन्न हुने तर हिन्दु भएकै नाताले हिन्दुहरुलाई हेपाहाको दृष्टिले हेर्ने गरेको हुँदा यसको विरुद्ध आफ्नो उम्मेदवारी भएको स्वतन्त्र उम्मेदवार खनालले प्रष्ट पार्छन् ।
निर्वाचनको अवस्थामा विभिन्न टिका टिप्पणी आउने गरेको भएता पनि त्यसको जवाफ आफ्ना मतदाताहरुले मंसिर ४ मै दिने बताए । आफुहरुको एजेण्डामा हिन्दु एकता नै भएको हुँदा कोही पनि विचलित नहुन आफ्ना मतदाताहरुलाई आग्रह गर्दै स्वतन्त्र उम्मेदवार खनालले यस पटकको निर्वाचनको परिणाम सम्पूर्ण मतदाताहरुको पक्षमा हुने दावी गरे । स्वतन्त्र उम्मेदवार खनालले मतदाता माझ आफ्ना प्रतिबद्धता यसरी प्रस्तुत गरेका छन् ।
१) हिन्दू राष्ट्र स्थापनाको लागि सदन तथा सडक दुवै ठाँउबाट आन्दोलन खडा गर्ने ।
२) ठाँउ ठाँउमा गुरुकुल शिक्षापद्धती अनुसार पाठशाला संचालनमा जोड दिने ।
३) भ्रष्टाचार बिरोधको अभियान संचालन गर्ने ।
४) कृषकहरुलाई समयमा मलखाद्य, बिउ र सिचाईको लागि पहल गर्ने ।
५) गौ संरक्षणको लागि स्थानियहरु संग सहकार्य गरी कम्दी स्थित खजुरा माता मन्दिर क्षेत्र वरिपरीको ५ कि.मि. जंगलमा तारबार गरेर गौशाला व्यवस्थापन गर्ने ।
६) होलिया चौफेरी, रामनगर लगायत डुडुवाको बिकट गाँउहरुमा बाटोघाटो निमाणर्मा प्राथमिकता दिईने ।
७) मोटरसाइकल र चारपांग्रे सवारी साधनको कर एक पटक मात्र लिने व्यवस्थाको लागि आवाज उठाउने
८) स्थानिय मठ मन्दिर, गुम्बाको संरक्षण, प्रर्वद्धन तथा व्यवस्थापनमा जोड दिने ।
९) राज्यबाट हामीले प्राप्त गर्ने तलबभत्ताबाट गरिब हिन्दू परिवारका सदस्यलाई तिर्थाटनको व्यवस्था गर्ने
१०) युवाहरुका स्वास्थ्य र मान्सिक बिकासका लागि जिम र खेलकुदलाई जोड दिने ।
११) हिन्दूधर्मको नाममा हुदैँ आएका सस्कार विरोधी गतिविधिलाई नियन्त्रण गर्दै धर्म राष्ट्रको निर्माणका लागि अभियान संचालन गर्ने ।
१२) नेपालगञ्जमा हुने डुवानको समस्यालाई समाधानका लागि दिर्घाकालिन समस्याको समाधानका लागि ठोस कार्ययोजनाका लागि पहल गर्ने ।
१३) प्रदेशमा रहेका केही मन्त्रालयहरु नेपालगञ्जमा पनि राख्ने पहल गर्ने ।
१४) पर्यटनलाई अभिवृद्धि गर्न राँभा विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा स्तरोन्नतिका लागि पहल गर्ने ।
१५) नेपालगञ्जको बहुप्रतक्षित रोडको निर्माणका लागि पहल गर्ने ।