विश्व म्याराथन क्यालेण्डरमा अब नेपालगन्ज

विश्व म्याराथन क्यालेण्डरमा नेपाल नाम सूचीकृत गरिएको छ । त्यतिमात्रै होइन, पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगन्जको नाम पनि सूचीकृत गरिएको छ ।

एम्सको वेभसाइटमा २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सुचिमा नेपालगन्ज म्याराथन सम्बोधन गरेको हो ।

बिगत आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगन्ज म्याराथन विश्व म्याराथनको सर्वोच्च निकाय, एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको हो ।


‘यसले संसारभरका धावक एवं पर्यटकलाई नेपाल आउने ढोका खोलिदिएको छ,’ उत्साहित हुँदै नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले दैनिक नेपालगन्जसँग भने, ‘एम्सले बिहिवार सार्वजनिक गरेको क्यालेण्डरमा नेपालगन्ज म्याराथनलाई समावेश गरेको छ ।’

‘विश्वका धावक तथा पर्यटकको चासो रहने एम्सको क्यालेन्डरमा पहिलोपटक नेपालगन्ज, लुम्बिनी र नेपाल शब्द देख्दा निकै खुशी लागेको छ’ अध्यक्ष ठकुरीले प्रेस नोटनै जारी गरेर उत्साह साझा गर्दै भनेका छन्, ‘सायद देशप्रेम भनेको यही रहेछ, विश्व समुदाय माझ नेपाल देशलाई चिनाउन पाउँदा एक नागरिकको जिम्मेवारी पुरा गरेको अनुभूति भएको छ ।’


एम्सको वेभसाइटमा २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिन हुने म्याराथनको सुचिमा नेपालगन्ज म्याराथन सम्बोधन गरेको हो ।


एम्सको हेडक्वार्टर ग्रीसको एथेन्समा रहेको छ । म्याराथनको सुरुवात पनि ग्रीसबाट सुरु भएको थियो । एम्सको क्यालेन्डर तथा डाइरेक्टरीमा समाविष्ट भएसँगै नेपाल पहिलोपल्ट सदस्य राष्ट्रका रुपमा विश्व समुदाय माझ देखिएको छ ।

एम्स संसारभरिका म्याराथन आयोजकहरुको साझा संस्था हो । गत सातामात्र नेपालगन्ज म्याराथनलाई एम्सले सदस्यता प्रदान गरेको थियो ।


एम्सले आफ्नो क्यालेन्डरमा नेपालगन्ज म्याराथनको सम्पर्क सम्बन्धमा सहज हुनेगरी रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङको नाम उल्लेख गर्दै वेभसाइट सहित जानकारी उपलब्ध गराइदिएको छ ।


त्यसअघि नेपालगन्ज म्याराथनले एम्सका आधिकारिक कोर्ष मेजरर आमिर सान्डिवानद्वारा चार बिभिन्न विधाहरु ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी दुरीको रुट प्रमाणिकरण गराएको थियो ।


केएल दुगड ग्रुपको धारा तेलले मुख्य प्रायोजन गरेको आठौं नेपालगन्ज म्याराथन यही मंसिर २४ गते शनिवार हुँदैछ । हरेक मंसिरको पहिलो शनिवार आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथन यस वर्ष आम निर्वाचनका कारण मंसिर २४ गते सारिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया