आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आवश्यक मतपत्र बाँके आइपुगेको छ ।
मंगलबार नेपाली सेनाको सुरक्षा व्यवस्था बीच बाँकेका लागि आवश्यक प्रत्यक्ष तर्फको मतपत्र जिल्ला आइपुगेको हो । ‘३ लाख ३२ हजार २ सय ३१ मतदाता रहेको बाँकेमा त्यसभन्दा बढी मतपत्र आइपुगेको छ’, बाँकेका मुख्य निर्वाचन अधिकृत धन सिंह महरले दैनिक नेपालगन्जसँग भने, ‘मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्याइसकिएको छ ।’
यसअघि आइपुगेको समानुपातिक तर्फको मतपत्रलाई निर्वाचन अधिकृतले रुजु गर्ने काम गरिरहेको जानकारी दिंदै मुख्य निर्वाचन अधिकृत महरले कर्मचारी व्यवस्थापन कार्यमा लागि परेको बताए ।
मुख्य निर्वाचन अधिकृत महरका अनुसार, बाँकेमा ३ हजार १ सय बढी कर्मचारी निर्वाचन कार्यका लागि परिचालन गरिनेछ । ‘निर्वाचनका लागि खटिने कर्मचारीहरूको बिस्तृत विवरण अद्यावधिक गर्ने काम भैरहेको छ’, त्यसक्रममा कतिपय कार्यालय र कर्मचारीले सूचना दिन आलटाल गर्ने, बहानाबाजी गर्ने जस्ता अप्ठ्यारा सामना गरिरहेको खुलासा गर्दै महरले भने, ‘त्यसलाई अन्तिम रूप दिने काममा हामी जुटेका छौं ।’
यसैबीच, बाँकेमा भैरहेको निर्वाचन तयारीबारे निर्वाचन आयुक्त डा. जानकी तुलाधरले मंगलबार जायजा लिएकी छन् । निर्वाचनका लागि मिडिया अभिमूखिकरण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुगेकी आयुक्त काठमाडौं जानु अघि नेपालगन्ज स्थित बाँकेको मुख्य निर्वाचन कार्यालय पुगेर समग्र जिल्लाको तयारी बारे जायजा लिएकी हुन् । ‘हामीले गरिरहेको तयारीबारे ब्रिफिङ गरेका छौं’, मुख्य निर्वाचन अधिकृत महरले भने ।










