राजश्व असुलीमा किन निरन्तर असफल भन्सार ?

गत १३ महिनादेखि लगातार रूपमा नेपालगन्ज भन्सार कार्यालयका लागि निर्धारित लक्ष्य असुलीमा नेपालगन्ज भन्सार असफल भैरहेको छ । गत आर्थिक बर्ष २०७८/०७९ को दुई महिना (साउन र असोज)मा मात्र लक्ष्य प्राप्त गरेको नेपालगन्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेट्याउन सकेको छैन ।

अघिल्लो आ.व.मा आफ्नो बार्षिक लक्ष्य नभेटेको भन्सारको तथ्यांक हेर्ने हो भने पछिल्ला केही महिनादेखि निरन्तर मासिक लक्ष्य समेत प्राप्त गर्न सकेको छैन । भन्सार राजश्व असुलीमा गत बर्षको साउनमा लक्ष्यको १३१.४८ प्रतिशत भेटेको नेपालगन्ज भन्सारले चालु आर्थिक बर्षको साउनमा लक्ष्यको ७५.७१ प्रतिशत मात्रै मात्रै असुली गर्न सफल भएको छ । नेपालगन्ज भन्सार कार्यालयको भन्सार राजश्व असुली चालु आर्थिक बर्षमा लक्ष्य भन्दा निकै कम मात्रै होइन, निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । चालु आर्थिक बर्ष २०७९/०८० को साउनमा १ अर्ब ७८ करोड ८५ लाख लक्ष्य पाएको भन्सारले जम्मा १ अर्ब ३५ करोड ४८ लाख २८ हजार, भदौंमा २ अर्ब २३ करोड ३६ लाख १३ हजार लक्ष्य पाएकोमा १ अर्ब ४३ करोड ४९ लाख १२ हजार राजश्व असुली गरेको छ । जुन लक्ष्यको जम्मा ६४.२५ प्रतिशत हो ।

चालु आर्थिक बर्षको असोजमा भन्सार असुली घटेर लक्ष्यको ५५ प्रतिशत भन्दा कममा झरेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार, असोजमा २ अर्ब ३४ करोड १९ लाख १४ हजार रूपैयाँ भन्सार राजश्व असुलीको लक्ष्य राखिएकोमा १ अर्ब २८ करोड ४८ लाख २० हजार मात्रै राजश्व असुली भएको छ । जुन लक्ष्यको ५४.८७ प्रतिशत मात्रै हो ।

नेपालगन्ज भन्सारले गत असारमा लक्ष्यको ७८.१० प्रतिशत, जेठमा लक्ष्यको ७७.५४ प्रतिशत, बैशाखामा ७६.७६ प्रतिशत, चैत्रमा ७९.१६, फाल्गुनमा ८९.७४, माघमा ७७.३० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको थियो ।

गत आ.व. मा नेपालगन्ज भन्सारले आ.व. २०७८/०७९ मा २५ करोड २१ लाख ६ लाख ६२ हजार रूपैयाँ लक्ष्य पाएकोमा २२ अर्ब ३१ करोड २६ लाख ६२ हजार रूपैयाँ भन्सार राजश्व असुल गरेको थियो । जुन लक्ष्यको ८८.५१ प्रतिशत हो । भन्सार राजश्व असुलीमा निरन्तर असफलता रहेपनि चालु आर्थिक बर्ष २०७९/८० का लागि अघिल्लो आ.व. २०७८/०७९ मा भन्दा चार अर्ब बढी लक्ष्य नेपालगन्ज भन्सारले पाएको छ । अघिल्लो आ.व. मा २५ अर्ब राजश्व असुलीमा असफल नेपालगन्ज भन्सारलाई थप चार अर्ब बढी थपेर चालु आ.व.का लागि लक्ष्य निर्धारण गरिएको हो ।

नेपालगन्ज भन्सारले चालु आ.व. २०७९/०८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार लक्ष्य निधारण गरेको हो । अघिल्लो आ.व. २०७८/०७९ मा नेपालगन्ज भन्सारले २५ करोड २१ लाख ६ लाख ६२ हजार रूपैयाँ लक्ष्य पाएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया