नेपालका सबै जिल्ला प्रशासन कार्यालयले निर्वाचनका बेला लाइसेन्स लिएर राखेको हतियार क्षणिक समयका लागि फिर्ता माग्ने गर्दछ । निर्वाचन सुरक्षाका लागि हतियार फिर्ता कार्यतालिकाको निरन्तरता जस्तै भएको छ ।
निर्वाचनका बेला हतियारको दुरूपयोग नहोस् भनेर हतियार माग्ने गरेको सम्बद्ध अधिकारीहरू बताउँछन् । मानिसहरूले आफ्नो इच्छा, सुरक्षा लगायतका कारणले लाइसेन्स लिएर हतियार राख्ने गरेका छन् ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन हुँदैछ । निर्वाचनका बेला जनतासँग रहेका हतियारबाट असुरक्षाको अवस्था नआओस्, निर्वाचन सुरक्षामा आँच नआओस् भनेर देशभरका जिल्ला प्रशासनले हतियार बुझाउनका लागि सूचना जारी गर्ने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले असोज २४ गते कात्तिक ५ गतेसम्मको म्याद राखेर हतियार बुझाउन सूचना जारी गरेको थियो । तर, जिल्लाबाट इजाजत लिएका हतियार प्रहरी इकाइमा बुझाएको पाइएनन् । जिल्ला प्रशासन कार्यालय बाँकेले पनि सूचना जारी गरेपछि हतियार बुझाउन दबाब दिने र खोज्ने खालका कुनै गतिविधि अगाडि बढाएन जसका कारण हतियारहरू प्रहरी इकाइमा जम्मा नभएका हुन् ।
जिल्लाबाट लाइसेन्स लिएर हतियार राख्ने र नविकरण गर्नेको संख्या ठूलै रहेको छ । तर, निर्वाचनका बेला प्रहरी इकाइमा जम्मा गर्नुपर्ने सूचना र नत्र कारवाही हुने चेतावनी दिइएपनि अटेरी हुँदै आएको छ । ‘सूचना औपचारिकतामा सीमित हुँदा र वैध हतियारबाट कुनै पनि अवाञ्छित गतिविधि विगतमा भएको नपाइएकाले पनि प्रशासनले खासै चासो राखेको पाइँदैन’, स्थानीय भन्छन्, ‘भोलिका दिनमा तिनै हतियारबाट अप्रिय घटना भएमा जिम्मेवारी कसले लिने होला ?’
बाँकेमा कति हतियार लाइसेन्स वाला रहेका छन् भन्ने एकिन तथ्यांक समेत छैन । प्रशासनले नविकरणको आधारमा हतियारको अनुमान गर्दै आएको छ । मानिसहरू इजाजत लिएर अर्को जिल्लामा बसाई सरी जाने र सूचना जारी हुँदा सम्बन्धित जिल्ला प्रशासनमा बुझाउने, जीर्ण भएका हतियारको जानकारी नदिंदा पनि लाइसेन्स वाला हतियारको तथ्यांक एकिनका भरमा रहेको छ ।
गत बैशाखमा पनि स्थानीय तहको निर्वाचनका बेला १० भन्दा कम हतियार प्रहरी इकाइमा जम्मा गरिएका थिए ।
२०७४ सालमा भएको निर्वाचनमा समेत प्रशासनले पटकपटक सूचना जारी गर्दा पनि लाइसेन्स वाला हतियार प्रहरी इकाइमा अपेक्षित रूपमा जम्मा भएको थिएन । उक्त समयमा प्रशासनको तथ्यांक अनुसार, बाँकेमा ३ सय भरुवा बन्दुक र ५ सय ३४ वटा बाराबोर रहेको थियो ।
जिल्लामा पेस्तोल ७ वटा, बाराबोर एक नाले १७७, २ नाले २४१, राइफल ८८, एरगन ३, ३२ बोर ३ थान रहेको थियो । जसमा सर्टगन २ थान, १६ बोर राइफल ४ थान सहित बाँकेमा ८ सय ३४ वटा हतियार थिए । त्यसपछि पनि प्रत्येक बर्ष हतियार इजाजत नविकरण तथा नयाँ हतियारको अनुमति लिने क्रम रहेको छ । अन्य जिल्लाबाट यहाँ आउने र यहाँबाट अन्य जिल्लामा जाने क्रम पनि रहेको प्रशासनका अधिकारी बताउँछन् । बाँके प्रशासनको नविकरणको तथ्यांक अनुसार, जिल्लामा ५ सय ५५ जनाले हतियार राख्न अनुमति लिएर १ हजारको हाराहारीमा हतियार राखेका छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा गत आ.व. २०७८/०७९ मा एउटा हतियार नामसारी भएको छ । उक्त अवधीमा १ सय ६९ वटा हतियार नविकरण गरेको प्रशासनको तथ्यांक रहेको छ । प्रशासनले हातहतियार नविकरणबाट मात्रै गत आ.व.मा ५ लाख रुपैयाँ राजश्व असुल गरेको छ ।
गत आर्थिक बर्ष २०७७/०७८ मा बाँकेमा १ सय ६५ वटा हातहतियार नविकरण भएको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांक रहेको छ । लाइसेन्स लिएर हतियार लिएकाले हतियारको नविकरण अनिवार्य रहेको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, १८ जना हातहतियार नामसारी गत आ.व.मा गरेका छन् । प्रशासनले हतियारको इजाजत नविकरणबाट गत आ.व.मा १ लाख ७७ हजार ६ सय ८८ राजश्व संकलन गरेको छ ।
भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको छ । मानिसहरूलाई धम्क्याउन, चोरी शिकारी गर्नका लागि अवैध हतियार भित्र्याउने गरिन्छ ।
खुला सीमाना रहेकाले बाँकेमा अवैध हतियार भित्र्याउन अपराधिक प्रवृत्तिको व्यक्तिलाई सहज रहेको छ । खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति र भारतमा सहजै उपलब्ध हुने साना हतियार नेपालको सुरक्षा व्यवस्थामा चुनौति बन्दै गएको पछिल्ला थुप्रै उदाहरण पाइन्छ । भारतबाट साना हतियार ल्याउने बाँके तथा यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने अपराधिक घटना घटाउने गरेको पाइन्छ ।
बाँकेमा विगत तीन बर्षको अवधीको हातहतियार तथा खरखजाना मुद्दा बढ्दो क्रममा रहेको पाइन्छ । अन्तर्राष्ट्रिय सीमा नाका औपचारिक रूपमा बन्द रहेको समयमा अवैध हतियार पक्राउ पर्ने र त्यससम्बन्धी मुद्दा ह्वात्तै बढेको पाइन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँकेमा अवैध हातहतियार सम्बन्धी मुद्दा आ.व. ०७५/०७६ मा ५ वटा, आ.व. ०७६/०७७ मा ५ र आ.व. ०७७/०७८ मा बढेर १४ पुगेको छ । प्रहरीले आफ्नो सुरक्षा संयन्त्र परिचालन गरेर बेलाबखत अवैध हतियार सहित मानिस पक्राउ गर्ने गरेको छ । बाँकेमा अपराधिक घटना घटाउने मानसिकताले हतियार भित्र्याउने गरेको पाइन्छ ।
गत आ.व.का. १० महिनामा ६ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएका थिए ।