बाँके ३ मा माओवादी किचलो:स्वतन्त्र बोक्दै काँग्रेस

बाँके क्षेत्र नम्बर ३ मा उम्मेदवार छनोटको विषयलाई लिएर बढेको नेकपा माओवादी केन्द्रको किचलोमा सत्ता गठबन्धनको नेतृत्व लिएको नेपाली काँग्रेस फँसेको छ ।

माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य ईन्द्र प्रसाद खरेल (आइपी) लाई आधिकारिक उम्मेदवारका रुपमा केन्द्रबाटनै घोषणा गरिसकिंदा पनि स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई बोकेपछि काँग्रेस नराम्ररी फँसेको हो ।

बाँके ३ का गठबन्धनका उम्मेदवार कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरसँगै प्रदेशसभा ३ (१) का स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारको तस्वीर राखेरै प्रचार कार्यालय उद्घाटन गर्नेदेखि सभादेखि घरदैलोसम्म उनैलाई बोकेर हिंडेपछि माओवादी संस्थापन चिढिएको छ ।

सत्तारुढ गठबन्धनका तर्फबाट बाँके ३ मा प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका राठौर, प्रदेशसभा ३(१) मा माओवादी केन्द्रका आईपी खरेल र ३(२) मा कांग्रेसका बादशाह कुर्मी उम्मेदवार तय भएका छन् । गठबन्धन दलहरूमध्ये बाँके ३(१) नेकपा एकीकृत समाजवादीले दाबी गर्दैआएको थियो ।

लुम्बिनी प्रदेशसभा सदस्यमा एक जना पनि उम्मेदवार नपाएपछि एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं प्रदेश सह–इन्चार्ज सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनै सुनारलाई माओवादी केन्द्र प्रवेश गराएर गठबन्धनको साझा उम्मेदवारका रूपमा अघि बढाउने माओवादी एउटा गुटको इशारामा काँग्रेस चलेको संस्थापनको आरोप छ । ‘होइन भने आधिकारिक उम्मेदवारलाई बाहिर राखेर हुन्छ ?,’ खरेलले दैनिक नेपालगन्जसँग भने, ‘काँग्रेसले अब प्रष्ट भन्नु पर्यो ।’

गठबन्धनले स्वतन्त्र उम्मेदवार सुनारलाई बोकेर हिडेपछि माओवादीको एउटा पक्ष खरेललाई निर्वाचन जिताउनका लागि ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेर प्रचारमा होमिएको छ । ‘जिल्लामा रहेका अधिकाँश केन्द्रीय सदस्य सहितको सहभागितामा भएको भेलाले कमिटी बनाएको हो,’ युवा नेता तुलसीमणि केसीले आइतवार भएको पार्टी भेलाबारे भने ।

बाँके निर्वाचन क्षेत्र ३ (१) बाट माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका आइपी खरेललाई जिताउन आइतबार बाँकेको बैजनाथमा माओवादी केन्द्रको निर्वाचन क्षेत्र ३ (१) को पार्टी कमिटीको बैठकले उक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेता खरेलले जानकारी दिए ।

खरेलका अनुसार, उक्त पार्टी कमिटीका अध्यक्ष र सचिवले पार्टीबाट राजिनामा दिएकाले उपाध्यक्ष कृष्णबहादुर घर्तीको अध्यक्षतामा बैठक बसी घर्तीकै संयोजकत्वमा ७ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा राजमोहन चौधरी, कार्यालय सचिवमा सुदिप लामिछाने छन् ।

असोज २५ गते संयुक्त राजीनामा दिएका माओवादी केन्द्रको प्रदेश निर्वाचन कमिटी ३ (१) संयोजक दीपेन्द्र शाह युगान्त, सचिव महेन्द्रबहादुर शाही, बैजनाथ गाउँपालिका कमिटी अध्यक्ष जयबहादुर विश्वकर्मा र खजुरा गाउँपालिका अध्यक्ष राजकुमार विकले कार्तिक ७ गते संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सुनार पार्टीको आधिकारिक उम्मेदवार भएको दाबी गरे । त्यस लगत्तै, सो क्षेत्रमा सत्तारुढ गठबन्धनका कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार राठौरसँगै सुनार पनि देखिन थालेका थिए ।

आईपी खरेल र सुनारमध्ये कसलाई आधिकारिक उम्मेदवार बनाउने भन्नेमा माओवादी केन्द्र पूरै विभाजित छ । खजुरा गाउँपालिका अध्यक्षसमेत रहेका जिल्ला संयोजक डम्बर बिक ‘तुफान’ र सचिव डिल्ली बराल ‘अमिर’ खरेलको उम्मेदवारी निष्क्रिय बनाएर सुनारलाई आधिकारिक उम्मेदवार बनाउने पक्षमा रहेको बताइएको छ । उनीहरूलाई खजुरा र बैजनाथ गाउँ कमिटी अध्यक्षद्वयले साथ दिइरहेका हुन् ।

माओवादी केन्द्रका आधिकारिक उम्मेदवार खरेल लुम्बिनी प्रदेशसभाका निवर्तमान सदस्य हुन् । अन्तरपार्टी संघर्षका बेला उनी तत्कालीन नेता रामबहादुर थापा बादल निकट थिए । एमाले र माओवादी केन्द्र एकतापछि उनी नेकपाका जिल्ला अध्यक्षसमेत बने । तर, दुई पार्टी छुट्टिँदा बादल एमालेमै बसेपछि माओवादी केन्द्रमा रहेका खरेल अन्तरपार्टी संघर्षमा एक्लिए । खासगरी, पार्टी जिल्ला संयोजक तुफानसँग तिक्ततापूर्ण सम्बन्धले अहिले आधिकारिक उम्मेदवार हुँदासमेत सिंगो पार्टी उनको पक्षमा उभिन नसक्ने स्थिति बन्यो ।

पार्टीका केही नेताले स्वतन्त्र उम्मेदवार सुनारलाई गठबन्धनको आधिकारिक उम्मेदवार भन्दै प्रचारप्रसार मात्र होइन, भेला र बैठकमै सहभागी गराएपछि ८ कात्तिकमा आधा दर्जन धेरै केन्द्रीय सदस्यहरूको बैठकले पार्टी निर्णयबाहिर जानेहरूले गल्ती गरेको निष्कर्षसहित निर्णय पालना गर्न अपिल गरेको थियो ।

सो बैठकमा केन्द्रीय सदस्यहरू खरेल, पूर्णाकुमारी सुबेदी, महेश्वर गहतराज ‘अथक’, पार्वती पुन, कृष्णा केसी, नरेन्द्र न्यौपाने, अन्जना चौधरी र केन्द्रीय अनुशासन आयोगका सचिव अशोक रोकाय सहभागी थिए । जिल्ला संयोजक तुफान र सचिव बरालले निर्णय पालना नगरे बाँके इन्चार्ज सुवेदीलाई निर्वाचन परिचालनको नेतृत्व दिने निर्णय भए पनि कार्यान्वयन भएन । ‘अब कसले के गर्छ होइन, पार्टीको आधिकारिक उम्मेदवार म नै भएकाले प्रचार अभियानलाई तिब्रता दिइन्छ,’ खरेलले भने, ‘गठबन्धनसँग पनि फाइनल कुरा हुन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया