खजुरामा प्रज्ञा प्रतिष्ठान, कुलपति बने पालिका अध्यक्ष

उपाध्यक्ष सह कुलपति, डा. इन्द्र भण्डारी उपकुलपति नियुक्त

बाँकेमा पहिलो पटक पालिकास्तरकोे प्रज्ञा प्रतिष्ठान गठन गरिएको छ । गाउँपालिका अध्यक्ष आफै कुलपति बनेर ‘खजुरा प्रज्ञा प्रतिष्ठान’को संरचना बनेको हो ।

पालिका उपाध्यक्ष मञ्जु मल्ललाई सह–कुलपति बनाइएको खजुरामा गाउँपालिका लेखा अधिकृत प्रदीप सुनारलाई सदस्य सचिव बनाइएको छ ।

शनिवार गरिएको औपचारिक कार्यक्रम गरि प्रतिष्ठान घोषणा गरिएको हो । उपकुलपतिमा डा.इन्द्रबहादुर भण्डारी नियुक्त भएका छन् । साहित्यिक व्यक्तित्व डा.भण्डारी महेन्द्र बहुमुखी क्याम्पसका शिक्षा संकाय सहायक क्याम्पस प्रमुख एवम् ज्ञानोदय पब्लिक क्याम्पसका संस्थापक हुन् ।

प्रतिष्ठानको सदस्यहरुमा मणिदेव अर्याल, माधव शर्मा, कल्पना पौडेल नियुक्त गरिएको पालिकाले जनाएको छ । प्रतिष्ठानको प्राज्ञसभामा १५ जना रहने व्यवस्था गरिएको छ ।

पालिका अध्यक्ष विकले खजुरा गाउँपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र उत्थानका लागि ‘खजुरा प्रज्ञा प्रतिष्ठान’को स्थापना गरेको बताए । कुलपतिका हैसियतले प्रस्तुत कार्यक्रममा विकले पालिकामा रहेको कला, संस्कृति, भाषा, साहित्यको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवन्धन जस्ता कार्यक्रमहरु प्रतिष्ठानले संचालन गर्ने जानकारी दिंदै भने, ‘खजुरामा साहित्यिक गतिविधि र कृति प्रकाशन यसको प्राथमिकता हुनेछ ।’

उपकुलपति नियुक्त डा.भण्डारीले खजुरा प्रज्ञा प्रतिष्ठानले समाज विकासका लागि आवश्यक सांस्कृतिक क्षेत्रमा विशेष भूमिका खेल्ने बताए ।

खजुरा प्रज्ञा प्रतिष्ठानको गठनलाई लिएर प्राज्ञिक क्षेत्रले भने ‘गलत अभ्यास’ भनेको छ । बाँकेमा पहिलो पालिका बन्दै प्रज्ञा प्रतिष्ठान घोषणा गरेको खजुराले यसको कार्यान्वयनलाई लिएर धेरैले आशंका पनि गरेका छन् । ‘यो नितान्त कपिपेष्ट र राजनीतिक कार्यकर्ता व्यवस्थाको काम बनाइँदैछ’, कतिपयले भनेका छन्, ‘प्राज्ञिक मर्यादालाई धुलिमाटी पार्ने गरी भैरहेको यो कामले साहित्य र संस्कृतिको भलो हुँदैन ।’

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सिनाले यो अभ्यासलाई प्रज्ञा प्रतिष्ठानले नै आपत्ति जनाएको जानकारी दिएका छन् । ‘पछिल्लो प्राज्ञ सभा बैठकले नै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ’, प्राज्ञ सभा सदस्य तिमिल्सिनाले खजुरामा आयोजित प्रज्ञा प्रतिष्ठान घोषणासभामै त्यसबारे आफ्नो विमति जनाएको जानकारी दिंदै भने, ‘त्यही ठाउँमा खजुरा वाङ्मय प्रतिष्ठान बनाउन सकिन्थ्यो ।’

वरिष्ठ साहित्यकार, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले खजुराको अभ्यासलाई ‘बिलकुल गलत’ टिप्पणी गरे । ‘पालिकै पिच्छे कुलपतिको भीड जम्मा गरेर के सन्देश दिन खोजिएको हो ?’, रेग्मीले भने, ‘त्रिभुवन विश्व विद्यालय वा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नजिक आउँदा पालिकाका कुलपतिको हैसियत के हुने ?’

साहित्य, संस्कृति र कलाको जगेर्नामा प्रतिष्ठानले काम गर्नेमा पनि धेरैले आशंका गरे । ‘राजनीतिक व्यक्ति र प्राज्ञिक व्यक्ति बीचको सहकार्य आफैमा चुनौति हो’, वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले खजुराको अभ्यासलाई ‘अक्कल नपुगेको नक्कल’को टिप्पणी गर्दै भने, ‘यो चुनौतिलाई सार्थक ढंगले अगाडि बढाउन नसके आफैमा व्यङ्ग्यका रूपमा स्थापित हुन्छ ।’ उनले दैनिक नेपालगन्जसँग भने, ‘केन्द्रीय राजनीतिको स्थानीय अभ्यास गर्न खोजेको देखिएपनि कहीकतै नक्कल गर्दा पुर्याउनु पर्ने अक्कल पुगेनकी जस्तो देखिएको छ ।’ वरिष्ठ पत्रकार पिटरले प्रतिष्ठान गाउँपालिकाको कुनै शाखा वा विभाग जस्तो अभ्यासमा लैजान खोजियो भने प्राज्ञिक गरिमामा आँच आउने बताए ।

वरिष्ठ स्रष्टा किरण आचार्यले भने प्रतिष्ठानले गर्ने कामको मूल्यांकनका आधारमा खजुराको अभ्यास सही वा गलत भन्न सकिने बताइन् । ‘यद्यपि राजनीतिक नेतृत्वले साहित्यिक वा सांस्कृतिक मर्मलाई नेतृत्व गरेर हिड्छ भन्नेमा मलाई शंका छ,’ शैक्षिक व्यक्तित्व आचार्यले कुलपति गाउँपालिका अध्यक्ष भएको प्रति संकेत गर्दै भनिन्, ‘प्राज्ञिक व्यक्तिलाई नै प्रतिष्ठानको नेतृत्व दिनु उचित हुन्थ्यो ।’

प्रतिक्रिया

प्रतिक्रिया