अवस्था अध्ययनका लागि कारागार ब्यवस्थापन बिभागका महानिर्देशक चक्रपाणी पाण्डे नेतृत्वको टोलीद्वारा अनुगमन, कारागार ब्यवस्थापनमा सुधार र शीघ्र सञ्चालनको पहल थाल्ने निर्णय

वसन्त गौतम
तीन हजार क्षमताको सुबिधासम्पन्न क्षेत्रीय कारागार सञ्चालनको लक्ष्य राखी ६ बर्ष अघि बाँकेको नौबस्तामा निर्माण गर्न थालिएकोे क्षेत्रीय कारागार सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।
महानिर्देशकको रुपमा कारागार ब्यवस्थापन बिभागमा पदबहाली गरेसंगै देशका बिभिन्न कारागारको अवस्था बुझ्दै हिडेका चक्रपाणी पाण्डेले बुधवार नौवस्ताको निर्माणाधीन क्षेत्रीय कारागारको स्थलगत अनुगमन गरेका छन् ।
मंगलवार नेपालगन्ज आइपुगेका महानिर्देशक पाण्डे नेतृत्वमा रहेको अनुगमन टोलीले स्थानीय अधिकारीहरुलाई आवश्यक निर्देशन दिंदै शीघ्र सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
‘क्षेत्रीय कारागार सञ्चालन पहल, खुला कारागारको कार्यविधि तयार गरेर के कस्ता कैदीबन्दी राख्ने कुराको निक्र्याेल गर्ने र बालसुधार गृहको अवस्था जानकारी लिनेनै यो अनुगमनको मुख्य लक्ष्य हो,’ महानिर्देशक पाण्डेले दैनिक नेपालगन्जसँग भने, ‘त्यसक्रममा लुम्बिनी र कर्णालीका १७ जिल्लाका कारागार प्रमुखहरुसँग अन्तक्र्रियात्मक गोष्ठीपनि गरिएको छ ।’
नौबस्तास्थित, निर्माणाधीन क्षेत्रीय कारागारका साथै महानिर्देशक पाण्डेको अनुगमन टोलीले खुल्ला कारागार गनापुर र बालसुधार गृह बाँकेको समेत अनुगमन गरेको जनाएको छ । मंगलवारनै महानिर्देशकको टोलीले कारागार कार्यालय बाँकेको अनुगमन गरेको थियो ।
अनुगमन टोलीमा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, सहरी बिकास तथा भवन निर्माण बिभागका उपनिर्देशक प्रकृण तुलाधार, संघीय आयोजना कार्यालय इकाई बाँकेका आयोजना प्रमुख खड्क बहादुर चौधरी, बाँकेका जेलर अर्जुन जंग शाह, सशस्त्र प्रहरी नायव उपरिक्षक दिपेन्द्र थापा लगायत रहेका थिए । अनुगमन टोलीले निरिक्षण भ्रमण गरि थप सुधारका लागी आवश्यक निर्देशन दिएको जनाएको छ ।
अनुगमनका क्रममा क्षेत्रीय कारागार नौबस्ता एवं खुल्ला कारागार गनापुरको अवलोकन निरिक्षण एवं आवश्यक निर्देशन दिएको अनुगमन टोलीको नेतृत्वकर्ता कारागार ब्यवस्थापन बिभागका महानिर्देशक पाण्डेले जानकारी दिए ।
क्षेत्रीय कारागार नौवस्तालाई यथासम्भव छिटो सञ्चालनमा ल्याउने गरि निर्माण कार्यमा थप सुधार गर्ने, कारागार भित्र रहेका प्रत्येक ब्लकमा थुुनुवा भेटघाट कक्ष निर्माण गर्ने, कारागार युनिट ब्लक भित्र च्यानल गेट बनाउन आवश्यक देखिएको महानिर्देशक पाण्डेले जानकारी दिए ।
यसै गरि प्रत्येक युनिटको माथिल्लो तलामा बहुउद्देश्यीय हल निर्माण गर्ने निर्णय अनुगमन टोलीले गरेको जनाएको छ ।
बाँके जिल्लाको नौवस्तामा झण्डै १० बिगाहको क्षेत्रफलमा तीन हजार क्षमताको क्षेत्रीय कारागार निर्माण प्रक्रिया अन्तिम चरणमा पुगे पनि सञ्चालन आउन अझै केही समय लाग्ने छ ।
सुरक्षा ब्यारेक, कर्मचारी ब्यवस्थापन, श्रोत साधनको ब्यवस्थापन भै नसकेको सञ्चालनमा अझै ४/५ महिना लाग्न सक्ने महानिर्देशक पाण्डेले बताए । दैशैभरिका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी रहेको बेला यो कारागार संचालन आए धेरै राहत हुनेछ । कैदीबन्दीले पहिलेको तुलनामा केही सुबिधा पाउने छन् ।
तीन हजारको क्षमता भनिए पनि निर्माण गरिएका १६ वटा भवनमा प्रति भवनमा १४० का दरले राख्ने क्षमता भएको र यस हिसावले अहिले बनेका १६ भवनमा कैदीबन्दी राख्ने क्षमता २ हजार २४० को हुने सहरी बिकास तथा भवन निर्माण बिभागका उपनिर्देशक प्रकृण तुलाधारले जानकारी दिए ।
पहिलो चरणमा निर्माणाधीन भौतिक संरचना निर्माण कार्य सम्पन्न भए पछि तेश्रो चरणमा थप संरचना निर्माणको योजना रहेको छ ।
कारागार ब्यवस्थापन बिभागका महानिर्देशक पाण्डेका अनुसार, तेश्रो चरणमा १५ बेडको अस्पताल, मावि स्कुल लगायतका संरचना निर्माण गरिने लक्ष्य रहेको कारागार ब्यवस्थापन बिभागका महानिर्देशक पाण्डेको भनाइ छ ।
नयाँ कारागार ऐन अनुसार ५ सयबढी कैदीबन्दी भएको कारागारमा अनिवार्य रुपमा १५ बेडको अस्पताल सञ्चालनमा ल्याउनु पर्नेछ ।
अनुगमन टोलीले बाँके गनापुरमा रहेको खुल्ला कारागारको समेत अनुगमन गरेको छ । ६ बर्ष अगाडी केही भौतिक संरचना निर्माण गरिएको भए पनि अहिलेसम्म सञ्चालन कार्यबिधि बन्न नसक्दा निर्माण हुन सकेको छैन ।
दण्डको सुधारात्मक सिद्धान्त अनुसार यहाँ सानातिना मुद्धाका थुनुवालाई कारागार बाहिर समेत गई रोजगारी, आयमुलक कार्य गर्न छुट दिने लक्ष राखिए पनि सञ्चालनमा नआउँदा बनाएका भवनहरु समेत जीर्ण हुन थालेका छन् ।
अनुगमन पश्चात दैनिक नेपालगन्जसंगको कुराकानीमा बिभागका महानिर्देशक चक्रपाणी पाण्डेले छिटैखुल्ला कारागार संचालनमा आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
पुराना कारागारमा साँघुरा कोठामा कोचिएर बस्दै आएको कैदीबन्दीहरु अब भने ठुला र घामहावा छिर्ने कोठामा बस्न पाउने छन् । नौवस्तास्थित नया भवनमा प्रर्याप्त शौचालय र स्थानकक्ष बनाइएको पाइएको छ । भान्साकोठा पनि ठुला छन् ।
बन्दै गरेको कारागारमा कैदीबन्दीले तालिम लिन मिल्ने ठुलो हलको ब्यवस्था गरिएको छ । कारागारको नियम उल्लघंन गर्नेलाई कष्ठकर सजाय दिन अलग्गै दुई वटा अध्याँरा साँघुरा कोठा पनि बनाइएको छ ।
बाँकेको नौबस्तामा बनाइएको क्षेत्रीय कारागारमा सीपमुलक तालिम दिन सक्ने गरि सभाहल बनाइएको छ । कारागारलाई सुधार केन्द्रका रुपमा बिकाश गर्ने उद्देश्य नयाँ संरचना निर्माण गरिएको महानिर्देशक पाण्डेको भनाइ छ ।
बाँके मात्रै होइन लुम्बिनी प्रदेशका सबै कारागारहरुमा क्षमता भन्दा बढी कैदीबन्दी रहेका रहेको बेला यो कारागार संचालनमा आए पनि यस क्षेत्रका कैदीबन्दीले केही राहत पाउने छन् ।

देशैभरिका कारागारमा कैदीबन्दी राख्न सकिने क्षमता १० हजार ४३३ हो । कारागार ब्यवस्थापन बिभागका अनुसार, मुलुक भरका कारागारमा गत असार मसान्तसम्म जम्मा २६ हजार २४० कैदीबन्दी छन् । यसै गरि देशभरका ८ बालसुधार गृहमा १ हजार ६४ बालवालिका थुनामा छन् ।
हाल संचालनमा रहेको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमता भन्दा बढी कैदीबन्दी छन् । बन्दीलाई बस्न, सुस्नका लागि प्रर्याप्त स्थान छैन । ३५० को क्षमता भएको बाँके कारागारमा ७८८ कैदीबन्दी रहेको जेलर अर्जुनजंग शाहले जानकारी दिए । जसका कारण कैदीे बन्दीले अवस्था दयनीय छ । उनीहरुले कष्टकर दैनिक बिताउनु परेको छ ।
बाँकेमा पर्याप्त ठाउँ नभएपछि बरण्डा, भान्सा र शौचालयको छतमा समेत कैदी बन्दी सुत्न बाध्य छन् । वि.सं. २००० सालमा बनेको नेपालगन्ज कारागार जीर्ण छ । नेपालगन्जको गर्मीमा कैदीबन्दीहरु टिनको छानामुनी बस्न पर्दा निकै समस्या परेको कैदीबन्दी गुनासो गर्ने गर्दछन् ।
कैदी बन्दीहरुलाई गर्मीयाम संगै स्वच्छ खानेपानी र शौच गर्दा लाइनमा बस्नु पर्दा निकै कष्टकर दैनिकी बिताउनु परेको बताउँछन् । बाँके कारागारमा कैदीबन्दीलाई पर्याप्त बस्ने ठाँउ र खेल्ने मैदान अभाव छ ।
०७३ कात्तिक ८ गते सम्झौता हुँदा ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न ३६ महिनाको समय दिइए पनि समयमा पुरा हुन सकेन । तर, उक्त समयमा कामपुरा नहुँदा पप्पु कम्पनी कालोसूचीमा परेको छ । पप्पुले छोडे पछि अहिले रसुवा पप्पु जेभीले निर्माण गरिरहेको कम्पनीका इन्जिनियर बिनोद ज्ञवालीले जानकारी दिए ।
नौवस्ताको कारागार सञ्चालनमा आए पछि पनि मुद्धा फैसला नभएका सुनुवाईका लागी अदालत लैजानु पर्ने थुनुवा, उपचार गराउनु पर्ने बिरामी, बद्ध थुनुवाहरुलाई नेपालगन्ज स्थित पुरानै कारागारमा राखिने जनाइएको छ ।
कैदीबन्दीका हिड्डुल गर्न पाउने ब्यक्तिगत स्वतन्त्रताको हक बाहेक अन्य सबै अधिकारहरु उपभोग गर्न पाउछन् । तर, नेपालका कारागारमा रहने कैदीबन्दीले आधारभूत मानव अधिकारको सम्म उपभोग गर्न पाएका छैनन् ।
नयाँ बन्दै गरेको कारागारमा मानबोचित ब्यवहार र आधारभुत मानव अधिकार उपभोग गर्न पाउनु पर्ने ब्यवस्था सहित सञ्चालनमा ल्याउनु पर्दछ ।
गर्मीमा बिजुली बत्ति, खानेपानी, सरसफाई, आर्थिक उपार्जन गर्ने खालका सीपको ब्यवस्था, मनोरञ्जन खेलकुद, शिक्षा, स्वास्थ्य, खानपान लगायतका आधारभूत कुराका साथै कारागार संचालनका मापदण्ड पुरा गरि कारागार संचालन गर्नु पर्ने अधिकारकर्मीहरु भनाइ रहने गरेको छ ।











