आचारसंहितामा प्रतिबद्धता

आचारसंहिता उल्लघंन गरि हुलदंगा गर्ने दलका कार्यकर्तालाई निर्वाचन अवधीभर थुनामा राख्ने प्रहरी, प्रशासनको चेतावनी

वसन्त गौतम

बाँके स्थित राजनीतिक दल लगायतका निर्वाचन सम्बन्ध सरोकारवालाहरुले निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिको आयोजनामा शनिवार भएको सर्वपक्षीय बैठकमा निर्वाचन आयोगद्वारा जारी आचार संहिता पालना गर्ने÷ गराउने सम्बन्धमा लिखित प्रतिबद्धता जनाइएको हो ।

बाँकेका मुख्य निर्वाचन अधिकृत धनसिंह महराको संयोजकत्वमा भएको कार्यक्रममा निर्वाचन आचार संहिताको बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रमा उपस्थित राजनीतिक दल, उम्मेदवार, संचारकर्मी पर्यबेक्षक लगायतका सम्बद्ध निकायका प्रतिनिधिले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि निर्वाचनका सम्बन्धमा निर्वाचन आयोगबाट जारी भएको आचार संहिता पालना गर्ने प्रतिवद्धता जनाएका थिए । प्रहरी, प्रशासन, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृत लगायतले पालना गराउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा नेपाली काँग्रेस बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेलले आफुहरु आचारसंहिता पालना प्रतिबद्ध रहेको र नियमनकारी निकायले पनि आचारसंहिता कार्यान्वयन गराउन प्रतिबद्ध हुनेपर्ने बताएका थिए । कार्यक्रममा सहभागी एमाले, एनेकपा माओवादी, राप्रपा, जनता समाजवादी लगायतका दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री र प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले दलको आवरण निर्वाचनमा हुलदंगा गरि शान्तिसुरक्षा बिथोल्ने दलका कार्यकर्तालाई नियन्त्रणमा लिई निर्वाचन अवधीभर नछाडिने बताएका थिए ।

कार्यक्रममा निर्वाचन पर्यबेक्षण समिति नियोकका प्रतिनिधि प्रभात कुमार ठकुरीले अहिले पनि नगरका बिभिन्न क्षेत्रमा आचारसंहिता बिपरित तुल ब्यानर टांगिएको जनाउदै आचारसंहिताको सबैले इमान्दारीपूर्वक पालना हुनु पर्नेमा जोड दिएका थिए ।

समन्वय बैठकले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन – २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन निष्पक्ष निर्वाचन आचारसंहिता – २०७९ पालना गर्ने, नियमनकारी निकायबाट आचारसंहिता उल्लघंन भएको पाइएमा कारवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी दिए ।

मुख्य निर्वाचन अधिकृत धनसिंह महराले निर्वाचन आयोगका मुख्य निर्वाचन आयुक्तले आचार उल्लघंन गर्नेलाई कारवाही गर्ने सम्बन्धमा कडा निर्देशन भएको जानकारी दिदै बाँके जिल्लामा पनि अटेरी गरि आचारसंहिता उल्लघंन गरे कारवाही गरिने बताए ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले सहजीकरण गरेको कार्यक्रममा बाँके जिल्लाका मुख्य निर्वाचन अधिकृत एवं बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश धनसिंह महरा, बाँके क्षेत्र नं १ का निर्वाचन अधिकृत यम प्रसाद बास्कोटा, ३ नं क्षेत्रका निर्वाचन अधिकृत प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, राजनीतिक दल, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी, पर्यबेक्षक, लगायतको सहभागी थियो ।

आचारसंहिता अनुगमन गर्न समिति

दलीय प्रचारका तुल हटाउन निर्देशन, नहटाएमा कारवाही

दैनिक नेपालगन्ज

मुख्य निर्वाचन अधिकृत धनसिंह महराको संयोजकत्वमा बाँकेमा जिल्ला आचारसंहिता अनुगमन समिति गठन भएको छ ।

शनिवार भएको समन्वय बैठकमा समितिले आचारसंहिता उल्लघंन सम्बन्धी उजुरीको ढाँचा उपलब्ध गराउदै आचार संहिता उल्लघंन भएमा उजुरी गर्न आग्रह गर्दै केही उम्मेदवारले नगरका बिभिन्न स्थानमा राखिएका तुल हटाउन निर्देशन दिने र नहटाएमा कारवाहीको प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।

मुख्य निर्वाचन अधिकृत महरा संयोजक रहने अनुगमन समितिमा प्रमुख जिल्ला अधिकारी खत्री सहसंयोजक रहेका छन् । सदस्य सचिवमा निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त र सदस्यहरुमा जिल्ला अनुसन्धान अधिकृत नरेन्द्रराज गिरी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख खडानन्द अधिकारी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया