यसपटकको बडादशैं झरी मैं बितेको छ । नेपाली अर्थतन्त्रको प्राणवायु मानिएको दशैं चाडले कोरोनापछिको भव्यतापूर्ण दशैंलाई अझ भव्य बनाउन सकेन । दशैंको शुरुका दिनमा नै बजारमा देखिएको कम चहलपहलले दशैं अर्थतन्त्रमा रौनकता ल्याउँने राम्रो सँकेत दिएको थिएन । भयो पनि त्यस्तै । बेरोजगार, आर्थिक तङ्गी, कोरोनाले थला पारेको कारोबार, गतबर्षको बेमौसमी बर्षाले पारेको कृषि उत्पादनको असर आदिले अधिकाशं नेपालीका अर्थपोकाहरु साँगुरिएका थिए । यसैमाथि यसपटकको दशैंझरीले बचेखुचेको कसर पनि पुरा गरेको छ ।
मेरो सम्झनामा रहेसम्म दशैंका दिनमा यत्रोबिध्न झरी परेर यो मौलिक र महान चाड दशैं दिनभरिको बर्षामा मनाएको स्मरण छैन । दशैंलाई बर्षे दशैं भनेतापनि बर्षा सकिएर खेतहरुमा पहेंलपुर धानका बाला झुलेको, आकाश खुलेर रातमा टहटह जुन लागेको र ती जुनेली रातमा गाउँघरका बरपीपलका रुखहरु, बिभिन्न किसिमले जताततै हालिएका लिङ्गे (लठ्ठे) पिङ्गमा रातीरातीसम्म झुण्डिएका बालबालिकाका चिरबिराहट देखिन्थ्यो । (उसैपनि आजकलको दशैंमा कमै देख्न पाइन्छ )े यसपटकको दशैंमा झरीको बेहाल अवस्थाले यदाकदा देखिने पिङ्गहरु पनि खाली खाली देखिए ।
दशैंका दिन बालबालिकाहरुले पाएको दक्षिणा लिएर नजिकका पसलहरुमा बिभिन्न कुरा किन्न कुद्ने बालबालिकाहरु पनि यो दशैंमा देखिएनन् । दशैं बिदाको उपयोग गर्दै घुम्नयोग्य ठाउँहरुमा घुम्नजानेहरुको लर्को पनि यो दशैंमा देखिएन । दशैंका दिन निधारभरि टीका र कपालभरि जमरा लगाएर आफन्त र मान्यजनबाट टीका आर्शिबाद थाप्न जानेहरुको दौडादौडी पनि यो दशैंमा फिका नै भयो ।
पहाडी भेकमा पहिरोले बाटो रोकिएका र तराइमा ठाउँठाउँमा बाढीका खबरहरुले आफ्नो जीउ धनमाल पशुचौपाया पाक्न लागेको बाली सुरक्षित कसरी गर्ने भन्ने चिन्तामा यसपटकको दशैं बितेको पत्तै भएन ।
दशैंको आगमन सँगै जसरी काठमाण्डौंबाट बाहिरिनेहरुको भीड देखिएको थियो त्यो रुपमा गाउँका नजिकमा रहेका शहरहरुबाट दशैंका दिन गाउँजानेहरु कम देखिए । दशैं देखि पूर्णिमासम्म आफन्त भेटघाट टीकाटालोमा व्यस्त हुने र यहि व्यस्तताका कारण यातायात क्षेत्रले आर्जन गर्ने मुद्रामा अत्याधिक ह्रास आयो । घुम्न जाने ठाउँहरुमा दशैंभरि हुने भीडभाडले होटल, खानपीन आदिमा हुने बिक्रीको आस लगाएर बसेको ब्यापार समेत सबै भताभुङ्ग भयो ।
नेपालका चाडवाडहरुको महत्व शहरहरुमा भन्दा गाउँमा हुने गर्छ । नेपालका हरेक चाडपर्वहरुको संयोजन बिशेष गरेर कृषिकर्म, कृषिकार्यको मौसमसँग तादम्यता राखेर पारिएका छन् । प्राय जेष्ठ असारमा त्यस्तो कुनै ठूलो महत्वपूर्ण चाडपर्व पर्दैनन् । खेतीपातीको पहिलो झमट सकेपछि भवगवान शिवको महिना श्रावण शुरुहुन्छ । साउने संक्रान्तिबाट पहिलो चाड पनि शुरु हुन्छ । भगवान शिवको जटाबाट उत्पत्ति भएको गंगाको अर्थ नदि मात्रै हुँदैन जलको श्रोत भन्ने हुन्छ ।
त्यसपछि क्रमैसँग प्रकृतिको बिषाक्ततालाई सन्तुलन गर्ने र पानीको मूलहरु संरक्षण गर्ने नाग देवताको पर्व नागपञ्चमी मनाइन्छ । आफ्नो बारीमा पाकेका मकैहरु नागदेवतालाई सर्मपण गरेर नयाँ बालीको ग्रहण गर्ने गरिन्छ ।
हामी ऋषिसन्तति हौं । सनातन पद्धतिमा ऋषि भनेका मन्त्रद्रष्टा हुन् । सृष्टिको आदि र अन्त्यको जानकारहरु हुन । देवता र मानव बीचका सेतु हुन । शास्त्र र अस्त्रका शुत्रधार हुन । ऋषिहरु गुरु हुन । यसैले उनै ऋषिहरुको सम्झना गर्दै उनका नाममा ऋषि तर्पणी पूर्णिमा मनाइन्छ ।
शिवलाई अर्धनारिश्वर मान्न,े नारीलाई देविशक्तिका रुपमा मान्ने हाम्रो सँस्कृति हो । नारीहरुको लागि स्वतन्त्रता दिइने पर्व तीज नारीको पर्व हो । भदौमा धानबालीको गोडनगाडन सकिवरी छोरीचेलीहरुलाई आफ्ना माइती जाने र खेतीपाती लाउँदाको थकान मार्ने, मनका बह गीतका माध्यमबाट पोख्ने नारी स्वतन्त्रताको पर्व तीज मनाइन्छ ।
त्यसपछि आउने सबैको साझा चाड दशैं हो । खेतीपाती लगाउने काम सकेर नयाँ धानको न्वाइ खाएर, धानबाली भित्र्याउने तयारी गर्दै दशैंको हर्सोलास आउँछ । यसमा घरभन्दा टाढा रहेका, परदेशमा रहेका घर आउने, सँगैबस्ने खाने रमाउने चाडमा यसबर्ष झरीबाढिको प्रवेश भयो । मौसमका कारण सबैभन्दा बढि रुने भनेको नै यो देशको किसान हो । यस बर्षको दशैंमा चाड मात्रै अमिलो भएन, किसानका खेतमा रहेको पाकिसकेको र पसाउँदै गरेको धानबालीको सत्तोचुर नास हुनेगरि परेको झरीले किसानको मनपनि निकै अमिलो भएको छ ।
किसानको आर्थिक श्रोतको रुपमा रहेको धानबालीको बिनासले एकातिर किसानको मन अमिल्लिएको छ भने अर्कोतिर झण्डै एक खर्बको चामल आयात गर्न बाध्य बनाइएको नेपाली अर्थतन्त्रको मेरुदण्ड नै भाँचिएको छ । झण्डै एकहप्ता परेको झरीमा बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थपिएको अतिरिक्त बर्षाले धानबालीमा निकै हानी पुर्याएको छ । के कति धानबाली नष्ट भएको छ भन्ने ठ्याक्कै मापन गर्ने, तथ्याङ्क लिने काम त पछि होला तर अहिलेसम्मको अवस्था हेर्दा मोटा धानबाली र नदि नाला छेउछाउका बाढी पस्ने ठाउँका खेतमा रहेको धानबाली भने लगभगजसो नष्ट भएको देखिएको छ ।
नेपाली अर्थतन्त्रको एकतिहाइ हिस्सा चलाएमान हुने दशैंमा झरिले निकै प्रभाव पारेको छ । यसक्षेत्रको मुख्य ब्यापारिक नगरी नेपालगञ्जका ब्यापारीहरुको भनाईमा यो दशैंले जुन उत्साह थप्ने आशा थियो त्यो हुन सकेको छैन । दशैं लक्षित समानहरुको भण्डारणमा लगानी गरेको मौज्दात कट्न नपाउँदा महङ्गो ब्याजको लगानी डम्पिङ हुन गएको भन्ने भनाइ छ ।
हाम्रा चाडहरु प्रकृति, कृषिसँगै समाजिक परिवेशका आधारमा चल्ने र यसैका आधारमा अर्थतन्त्रको चलाएमान हुने गर्छ । दशैंका बेला खेतको नयाँ धान निस्केर नयाँ चिउरा बजारमा आउने गथ्र्यो तर झरिका कारण खेतबाट धान निस्कन पाएन । स्थानीय चिउरा मिलहरु पनि बन्द राख्नुपर्ने अवस्था आए । गाउँमा बसेर स्थानीय धानको ताजा चिउराको साटो दशैंको मासुसँग उहि ठूला औधोगिक घरानाका प्याकेटका चिउरा अवस्था आउनु भनेको ग्रामीण अर्थतन्त्रका लागि ठूलो नोक्सानी नै हो । अलि समयमै आलु लगाउने, तरकारी लगाउनेहरुलाई पनि यसपटकको झरीले अर्थहीन बनाइदिएको छ । कतिपयका आलुबारी डुबेका छन् ।
दशैं कस्तो मनाउने र कसरी मनाउने भन्नेकुरा किसानका लागि उसको खेतको अवस्थाले तय गर्दछ । सबै किसानका आफन्त छोरा नाती शहर वा परदेशमा कमाउने नहुनपनि सक्छन् । यस्तोमा आम्दानीको श्रोत भनेको नै त्यहि खेतको बाली हुन्छ । यसैका आधारमा चाडवाड कस्तो मनाउने भन्ने तय हुन्छ । यसपटक अनियमित बर्षाका कारण किसानका खेतबालीले दशैंलाई उत्साहित बनाउन सकेन । यसैमाथि दशैंका दिनदेखि परेको झरीले नेपाली किसानसँगै अर्थतन्त्रका आँखामा पनि चौंधारा आँसु बगेका छन् ।
यसपटकको दशैंमा राज्यका कर्मचारीहरुलाई विदेशबाट ऋण खोजेर खुवाएको तलब भत्ता भने मौसमका कारण घुमफिरमा आएको कटौतीका कारण नाफामा रहेको हुनसक्छ । स्थानीय शहरहरुबाट नजिकका गाउँतिर जाने अर्थतन्त्रको बहाव झरिले रोकिदिएको छ । प्राय नवमीका दिन या दशैंका दिन शहरको घरमा टिका लगाएर ठूलो जनसंख्या गाउँ पस्थ्यो । त्यो गाउँ पस्ने जनसंख्याले गाउँतिर लैजाने नगद, जिन्सी आदी पनि रोकिएको छ । यसले शहरलाई भन्दा गाउँलाई नै नोक्सान भएको छ ।
हिमालबाट झरेका च्याङ्ग्राहरु तराईका भान्सासम्म आइपुग्ने भनेको दशैंटिका पछि नै हो । तर झरिका कारण यसपटक ती च्याङ्ग्राहरु लेकतिरै छुटेका छन् । यसक्षेत्रमा यहिबेला हो जुम्लाको स्याउको राम्रो कारोबार हुने पनि । यतातिर आएकाहरुले कार्टुन भरेर जुम्लाका स्याउ काठमाण्डौंसम्म पुर्याउने गर्थे । यसपटक झरिले ज्यान नै जोखिम मोलेर हिँड्नपर्ने बनायो । स्याउको कारोबारमा पनि कमि आयो । यसको असर शहरका ठेकेदार देखि स–साना ब्यापारिहरुलाई पनि पर्यो ।
दशैं साँस्कृतिक रुपमा नेपालीहरुको महान चाड त हो नै गाउँ नै गाउँमा बसेको नेपालको अर्थतन्त्रको लागि अति नै महत्वपूर्ण प्राणवायु हो । गाउँ नहाँसे कृषि सबल हुनसक्दैन । कृषि सबल हुन नसके संसारले जाउलो पाउन सक्दैन । माने नमानेपनि सत्य यहि हो । सरकारी हेलोहोंचो, कथित पढेलेखेका भनिएकाहरुको हेयादृष्टि, राजनीतिको भोटबैंकको शिकार बनेको नेपालको कृषिक्षेत्र र नेपालको ग्रामिणक्षेत्र, नेपाली मात्रको मौलिक चाड दशैंमा परेको झरिको झटारोले खल्लो मात्रै भएन, ग्रामिण कृषि अर्थतन्त्रको सन्तुलन नै बिगारिदिएको छ । चुनावको चटारोमा भोट माग्न मात्रै किसानको आँसुसँग खेल्ने काम नहोस् । दशैंमा बगेका आँसु चुनावका जुलुसका पसिनामा नमिसिउन ।
दष्कजधबmष्तचबद्धट२नmबष्।िअयm