पछिल्लो चारदिनदेखिको निरन्तरको झरीले राप्ती नदीमा आएको बाढी घरभित्र पसेपछि बाँकेमा सयौँ घरपरिवार विस्थापित भएका छन् । शनिवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बितण्डाले पारेको प्रभाव लेखाजोखासँगै पीडितहरुलाई राहत व्यवस्थापनमा जुट्ने निर्णय गरेको छ ।
नदीको सतह ९ मिटर कटेपछि राप्तीसोनारी, डुडुवा र नरैनापुरका सयौँ घरमा पानी पसेको छ । राप्तीसोनारीको टिकुलीपुर, बाघखोर, सिक्टागाउँ र सौरी, साइपुर र जंगपुरमा बाढी घरभित्र पसेको समाचार प्रकाशमा आएको छ ।
त्यहाँका विस्थापितहरु सिद्ध साइकुमारी मन्दिर परिसरमा बसेका छन् । बाघखोरका ८१ जनालाई प्रहरीले रातिय नै लालिगुँरास सेल्टर भवनमा सारेको थियो । सिक्टा र सौरीका विस्थापित आफन्तीको घरमा बसेका छन् । साइपुर र जंगपुरका ३५ घरपरिवार सामुदायिक बहुउद्देश्यीय आश्रयस्थलमा बसेका छन् ।
यता, डुडुवाको चौफेरीगाउँमा पनि राप्तीको पानी पसेको छ । नरैनापुरको तटीय गाउँमा पानी पसेको छ । ‘क्षतिको लेखाजोखा गर्ने र पीडितहरुलाई तत्काल सुख्खा खाद्यान्न लगायतका राहत उपलब्ध गराउने निर्णय गरिएको छ,’ जिल्ला विपद् व्यवस्थापन समितिले गरेको निर्णय बारे सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले भने ।
यस्तो छ, निर्णय