सत्ता गठबन्धनको सिट बाँडफाँडमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशसभामा एउटा पनि सिट पाएको छैन । प्रदेशमै एउटा पनि सिट नपाएपछि रुष्ट भएका समाजवादीका नेता तथा कार्यकर्ताले गठबन्धनको सिट निर्णय अमान्य हुने भन्दै उम्मेदवारी दिने तयारी गरेको छ ।
यसअघि स्थानीय तहको निर्वाचनमा बाँकेमा एउटा पनि प्रमुख, उपप्रमुख नपाएको समाजवादीका लागि प्रतिनिधिसभा र प्रदेशसभामा समेत एक सिट पनि नछुट्याएपछि स्थानीय नेता तथा कार्यकर्ताले त्यसलाई अपमान भएको संज्ञा दिंदै उम्मेदवारी दिने बताएका छन् ।
‘गठबन्धनले समाजवादीलाई लुम्बिनी प्रदेशमै अपमान गरेको छ, त्यसैले बाँकेबाट प्रदेशसभामा चार वटा उम्मेदवार बनाउने निर्णय गरेका छौं’, समाजवादी पार्टीका बाँके इन्चार्ज समेत रहेका लुम्बिनी प्रदेश संगठन विभाग प्रमुख अशोक कोइरालाले भने, ‘भोलि आइतबार बाँकेबाट प्रदेशसभाका लागि चार जनाले समाजवादीका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेका छौं ।’
समाजवादी सम्बद्ध नेता तथा कार्यकर्ताले बाँकेमा समाजवादीको भोट चाहिने तर एउटा पनि सिट नदिने प्रवृत्ति हेपाहा भएको भन्दै केन्द्रको कुनै पनि निर्णय अमान्य हुने, स्वतन्त्र उम्मेदवारी दिएर भएपनि चुनाव लड्ने बताएका छन् ।










