दशैं, परिवार र परिकार

यस पटक पनि घटस्थापनाबाट दशमीको रौनक सुरु भइसकेको छ । कोभिड महामारी र आर्थिक मन्दीले थलिएको जनजीवन जसोतसो दशैंमय भइरहँदा नेपालगन्ज बजारमा रौनक ह्वात्तै बढेको देखिन्छ ।

कालरात्रीका दिनबाट घरमा सबैले जमरा छरेर दशैंलाई स्वागत गरेका छन् । असुरहरु माथि देवीहरूको विजयी प्राप्ति भएका विभिन्न दिनहरुलाई नवरात्री आरम्भ भएको मान्यता हुँदै दशमीको दिन महान चाड विजयादशमी भनी रातो टिका माथभरि लगाएर जमरा लगाइने गरिन्छ ।

विजया दशमीका दिनलाई देवीहरूको जित र असुरहरूको हार भएको छ ।यसलाई उल्लास र पर्वको रुपमा मनाइएको छ। यी त थिए दशंै अर्थात विजयादशमीको विषयमा छोटो र मिठो परिचय ।

दशैंले सबै परिवारहरूको मिलन गराउने गर्दछ । विश्वको जुनसुकै कुनामा रहेर आफ्नो दैनिकको जिविकोपार्जन गरिरहेका परिवारका सदस्यहरु दशैं भनेपछि टीका लगाउन आ–आफ्नो घर फर्कन्छन् ।

दुःख र सुखका कुराकानी गरी दशमीको दिन मीठा–मीठा परिकार खाई, रमाएर आफ्नो ठूला–बडा मान्यजनहरुबाट रातो अक्षता टिका लगाई आशीर्वाद लिइने गर्दछन् । तर के यो सबैको घरमा लागु हुन्छ त ?

अहँ ! मलाई त लाग्छ, कदापि हुँदैन । परिवारहरूको जमघट हुने पर्वमा मिलन मात्र नभई कलह उब्जिएको पाइन्छ । ‘गरिबको घरमा दशा र धनीको घरमा दशैँ’ भन्ने उखान त पहिलैबाट प्रचलित थियो । अहिले यसको सहि परिचय बदलिँदैछ । धनले धनी हुनेहरुका घरमा अवश्य थुप्रै परिकार पाकेका होलान्, नयाँनयाँ डिजाइनका लुगा लगाएका होलान् । तर, फेसनको प्रतिष्पर्धा एकातिर अर्काेतिर अभावको पीडा यसले आफन्त दाजुभाई, दिदीबहिनी बिचको भाईचारा, माया कमजोर पारिरहेको छ ।

‘तिमी भन्दा म के कम’ भन्ने प्रवृत्तिले बढ्दो दशैं जस्ता महान पर्वलाई कलहको बीउ रोप्ने सन्दर्भ बोकिरहेको भान भइरहेको छ । त्यसका लागि बढ्दो महंगी नियन्त्रणका लागि सरकारी प्रयासको अभाव अनि भ्रष्टहरुलाई तह लगाउयन नसक्ने राज्य व्यवस्थाले थप मलजल गरिरहेको अवस्था हो ।

मनभरी कुण्ठा, नकरात्मक सोंच रिस र आबेग बोकी लगाएको र लगाइदिएको टीकाको के अर्थ रहन्छ होला ? चाडबाडको नाममा परिवारमा फैलिएको यो बढ्दो विकृतिले बालमस्तिष्कमा समेत बढ्दो असर पारिरहेको छ । चाडबाड भनेपछि खुसी हुने र त्यसमा पनि दशैं बनेर उल्लासमा रमाउने बालबालिकाहरू घरमा हुने कलह र झगडाका चाडपर्व आउनुभन्दा नआए हुन्थ्यो भन्न लागेको पाइन थालेको छ । अर्कोतिर धर्म परम्परा र संस्कारलाई बिर्संदै आयातित फेसन र निजत्वको मौलिकतामा मानिसहरु रमाइरहेका पनि उस्तै देखिन्छन् ।

जे छ त्यसैलाई राम्रो बनाइ सुखसँग चाडपर्व मनाउनु नि ! आफ्नो मौलिकतामा पर्व–उत्सव मनाउने कुराले आनन्द दिन्छ । किन ऋण खोजेर दशैं, तिहार, छठ वा अरु कुनै पर्व मान्नु ? किन देखासिकी र उधारोमा रमाउने ? हो, आफ्नो मौलिकतामा संस्कारलाई परिष्कृत गर्दै रमाउने ।

यी त थिए केही पारिवारिक कुरा अब दशैंका केहि मिठा परिकार तिर लागौं ! चाडपर्व विशेष भन्ने बित्तिकै सेलरोटी नै पहिलो रोजाइमा आउने गर्दछ । चामलको पिठोबाट बनाइने रोटीलाई घुमाएको रोटी पनि भन्ने गर्दछन् । एकदिन अगाडि चामल भिजाएर राख्ने र अर्को दिन त्यसलाई ढिकी, सिलौटा अथवा अब त मिक्सरमा खस्रो खस्रो पिठो हुने गरि पिसेर त्यस पिठोमा चिनी, ल्वाङ सुकमेल, घिउ (त्यो हाल्नाले सेलको स्वादमा थप बासनेदार र स्वस्थ हुने छ) हालेर गिलो गिलो मुछ्नु पर्छ । त्यसपछि घिउ र तेल आफ्नो इच्छा र सामग्री अनुसार गोलो गुमाएर सेलरोटी घुमाउने । त्यसपछि हाम्रो शानदार दशैं स्पेशल सेलरोटी बन्नेछ ।

त्यस्तै गरी नवरात्रिका दिन सेलरोटी बनाएर नवदुर्गा भवानी मातालाई भोगका रुपमा चढाउने गरिन्छ कोटमा (मूल मन्दिर) गएर पूजा–आराधना गरी घरमा बनाएका चोखा मीठा प्रसादको भोग चढाउने गरिन्छ ।

त्यसपछि मासुका विभिन्न प्रकारहरु बनाएर खाने चलन छ । भुटुवा, ग्रेभी, तारेको आदि परिकार मासुका हुने छन् र त्यसैमा घिउ हालेको पुलाउ, अचार, चिउरा आदि बनाएर स–परिवार दशैंमा खाने गरिन्छ ।

न कुनै देखावटी संस्कार अपनाउने, न कुनै देखावटी खर्च आफ्नो जे छ त्यहीमा रमाउन सिक्नुपछ, सक्नुपर्छ । पछिल्ला वर्षमा कोभिड–१९ ले गर्दा परिवारजनमा जमघट हुन नसकेकाहरूको लागि यसबर्ष भने अलिक सहज वातावरण छ ।

त्यसै पनि डेंगु रोग फैलिएको छ । तर, एक व्यक्तिबाट अर्कोमा नसर्ने हुनाले जोखिम कम छ ।डेंगु फैलाउने लामखुट्टेहरुबाट जोगिने उपाय अपनाउन चाहिँ आवश्यक छ । आफ्ना परिवारसँग मज्जाले रमाउनुहोस् । धर्म, संस्कार र देशले बनाई दिएका चाडपर्व विशेष नियमहरू पालन गरी आफ्नो यो रमाइलो चाडपर्व अझै खुसियाली पूर्व मनाउनु हुनेछ भन्दै सबैमा हाम्रो महान चाड विजयादशमीको भरपुर शुभकामना !

प्रतिक्रिया

प्रतिक्रिया