अब नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता

नेपालगञ्ज उपमहानगरपालिकाले आज मंगलवारदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको जनाएको छ ।

त्यसक्रममा वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय सेवाग्राहीलाई राहत भएको छ ।

८५ बर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै खुसी लागेको भन्दै बैंकमा लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको बताए । ७५ बर्षीया सन्तोखिया काँदुले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरु जस्तो बृद्धबृद्धालाई निकै सहज भएको प्रतिक्रिया दिइन् । ।
नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष सेवाग्राहीले राहतको महसुस गरेको बताए ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालय पुगेका नगर प्रमुख विष्टले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुुरक्षा भत्ता वितरण सुरु गरिएको बताए। उनले आफूहरुले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताए ।

राष्ट्रिय बाणिज्य बैंक नेपालगञ्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानले वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिदै अहिलेलाई नेपालगञ्जका १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकासंग सहकार्य गरिएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया