बन्द हुँदै नर्सिङ कलेज, बेरोजगार भए शिक्षक

नर्सिङ कलेज बन्द हुने भएपछि बेरोजगार शिक्षक कर्मचारीहरुले आफ्नो बारे सरकारले सोच्नु पर्ने माग अघि सारेका छन्

नर्सिङ शिक्षा सम्बन्धी नयाँ व्यवस्था आएपछि मुलुकभरका ८० वटा नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेको भन्दै त्यहाँ कार्यरत २ सय बढी शिक्षक, कर्मचारीहरुले आफ्नो रोजगारीको सुनिश्चितता हुनुपर्ने माग अघि सारेका छन् ।

त्यसक्रममा विभिन्न संगठित उनीहरुले आफ्ना आवाज सरकारसम्म पुर्याइदिन सञ्चारमाध्यम गुहार लगाउँदै भनेका छन्, ‘हाम्रो रोजगारीको व्यवस्था बारे सरकारले नसुनेरै नर्सिङ क्याम्पस बन्द गराउने काम गर्दा हामीलाई अन्याय भयो ।’

बाँके स्थित विभिन्न पाँच मध्ये चार वटा नर्सिङ कलेज बन्द हुने अवस्थामा पुगेका छन् । ती कलेज बन्द हुँदा ६० जना नर्सिंङ प्रशिक्षक, कर्मचारी बेरोजगार हुने अवस्थामा पुगेको उनीहरुले बताएका छन् ।

‘बर्षेनी १ सय ६० विद्यार्थीले सहुलियत दरमा नर्सिङ्ग पढ्न पाउने अवसरबाट वञ्चित भएका छन्,’ बाँकेका विभिन्न चार वटा नर्सिङ क्याम्पसका प्राचार्यहरुले एक स्वरमा भने, ‘सरकारले नर्सिङ्ग क्याम्पस बन्द गराएर सक्नेका छोराछोरीलाई विदेश पढ्ने ढोका खोल्यो तर नसक्नेका छोराछोरीले के गर्ने ?’

वैकल्पिक व्यवस्था विना एकाएक नर्सिङ्ग क्याम्पसमा कडाई गरेर सरकारले गलत काम गरेको तर्फ संकेत गर्दै उनीहरुको भनाइ थियो, ‘१० बर्षदेखि मापदण्डमा बेवास्ता गर्ने सरकारले एकैचोटी बन्द गराउनु भन्दा क्रमशः मापदण्ड पालनाको व्यवस्था गरिनुपथ्र्यो ।’

प्राचार्यहरुले गुणस्तरीय नर्सिङ्ग शिक्षणका लागि सरकारले गरेको मापदण्डप्रति आफुहरुको कुनै टिप्पणी नभएपनि त्यसको विकल्पमा नर्सिङ शिक्षण सुरु नगरेको आपत्ति जनाए । लुम्बिनी प्रदेशमा मात्रै ४ सय ८० विद्यार्थीले बर्षेनी नर्सिङ्ग शिक्षाको अवसर पाइरहेको तथ्य प्रस्तुत गर्दै उनीहरुले भने, ‘अब अस्पतालहरुमा योग्य नर्सिङ जनशक्तिको अभाव देखा पर्न थाल्छ, सरकारले के गर्न खोजेको हो ?’

‘सरकारले नर्सिङ जनशक्ति अभावको पूर्तिका लागि कुनै वैकल्पिक व्यवस्था गरेको हो भने हाम्रो रोजगारीबारे सरकारको जिम्मेवारी होइन ?’, मध्यपश्चिम प्राविधिक शिक्षालयका प्राचार्य प्रतिक्षा डाँगीले सञ्चारकर्मीसँग भनिन्, ‘१० बर्षसम्म यसैमा भविष्य देखेर समर्पित हामी अब रोजगारी खोज्दै कहाँ जाने ?’

पत्रकारहरु बीच आफ्ना गुनासा राख्दै भेरी नर्सिङ्ग कलेजका प्राचार्य नन्दिता रिजालले प्रत्येक नर्सिङ्ग कलेजले अस्पताल खोल्ने व्यवस्था गरिंदा त्यसको क्षमताबारे सरकारले अध्ययन गरे नगरेको टिप्पणी गरिन् । ‘सरकारले नर्सिङ्ग कलेजहरु बन्द गरिंदा आउने सक्ने सम्भावित समस्याको समाधान तर्फ ध्यान नदिएको’, गुनासो गर्दै भनिन्, ‘बेरोजगार कर्मचारीबारे राज्यले सोच्नु पर्छ कि पर्दैन ?’

उनीहरुले आफ्ना माग बारे सरकारले बेलैमा सुनुवाई नगरे आन्दोलनको चेतावनी पनि दिएका छन् । ‘स्वास्थ्य शिक्षाको गुणस्तरबारे आन्दोलनरत प्राध्यापक डाक्टर गोविन्द केसीले हाम्रा समस्यालाई पनि आफ्नो मागको रुपमा राखिदिनुपर्छ’, लर्ड बुद्ध कलेजका कोर्डिनेटर शिला रावतले भनिन् ।

प्रतिक्रिया

प्रतिक्रिया