बाँके नरैनापुर गाउँपालिकाका किसान धान खेती लगायत दुई बर्ष अपेक्षित हुन सकेन । गत बर्ष काट्न तयार रहेको तथा काटेको धानबालीमा बेमौसमी बर्षात्ले क्षति पुग्यो । खेतमा तयार रहेको धानलाई पानीले क्षति पुर्यायो, काटेको धान बर्षात्ले भिजायो, बगायो । धान काम नलाग्ने स्थितिमा पुग्यो ।
यस बर्ष नरैनापुर गाउँपालिकामा पर्याप्त बर्षात् नै भएन । १५ प्रतिशत मात्रै धान रोपाई भएको नरैनापुरमा रोपाई भएको क्षेत्रमा समेत उब्जनी जोगाउन विभिन्न विकल्पको प्रयोग गरी ट्युववेलको प्रयोग गर्नुपर्यो । बाँकी खेतीयोग्य जग्गामा रोपाईं नै भएन । लगातार दुई बर्ष धान खेती नभएपछि अहिले नरैनापुरका किसानमा के खाने भन्ने चिन्तामा छन् । यद्यपि, पालिका मात्रै होइन जिल्ला प्रशासन कार्यालय समेत सुख्खा क्षेत्र घोषणा गरी राहतका लागि सिफारिस गरिसकेको छ ।
‘हामीले यहाँबाट आवश्यक निर्णय गरी पठाएका छौं, राहतको विषय अब केन्द्रबाट हुनेछ’, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले भने ।
नरैनापुर गाउँपालिकाका अधिकांस व्यक्ति खेतीमा भर परेर जीविकोपार्जन गर्दै आएका छन् । खेतीपाती नभएपछि उनीहरु अहिले खानामै संकट हुने भएकाले गाउँपालिका गुहार्न पुगेका छन् ।
गाउँपालिकाका जनप्रतिनिधि अब नरैनापुरमा भोकमरीको अवस्था सिर्जना हुने अवस्था आएको बताउँछन् । नरैनापुरका किसानले सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका पुगेको बताउँछन् ।
नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी सुरु भएको बताइन् । ‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ ।’ गाउँपालिका पुगेर कृष्णावतीले अध्यक्ष ईश्तियाक अहमद शाहलाई भेटेर खाद्यान्न ब्यवस्था मिलाईदिन अनुरोध गरेकी थिइन् ।
कृष्णावती जस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ४ की रिता कलवारको समस्या पनि उस्तै छ । उनीसँग रहेको करिव ६ कठ्ठा जमिन यसवर्ष बाँझै छ । खेतबारी बाँझै छ । घरमा राखिएको अनाज पानी रित्तिसक्यो । भोकमरी सुरुभएपछि गाउँपालिका आउनुको विकल्प नभएको उनले पनि सुनाइन् । ‘भोकभरीले सताउन थालेपछि गाउँपालिका आएकी हुँ,’ रिताले भनिन् ।
नरैनापुरमा यसवर्ष कुल खेतीयोग्य जमिनको करिव १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको तथ्यांक छ । सुख्खा खडेरीका कारण खेत गर्न नपाउँदा अधिकांस किसानको खेतबारी बाँझै रहेका छन् । गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३÷३ वटाका दरले डिप बोरिङको ब्यवस्था गर्न माग गरेको थियो । गाउँपालिका अध्यक्ष शाहले यसअघि अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुरमै लगेर स्थलगत निरीक्षण गराएका थिए । यसका साथै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना लगायतले पनि स्थलगत निरीक्षण गरेका थिए ।
गाउँपालिका अध्यक्ष शाहले खेती गर्न नपाएका अधिकांस किसानको घरमा भोकमरी सुरु भइसकेको बताए । ‘भोकमरीबाट पीडित किसानहरु अहिले ठुलो संख्यामा गाउँपालिका आउने गरेका छन्, मेरो घरमै पुगेर पनि उनीहरुले आफ्नो दुःख सुनाउँछन्,’ शाहले भने ‘संघिय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुःखद कुरा हो ।’ संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा जागेको उनले बताए ।
अघिल्लोको बर्षको राहत खातामा
गत बर्ष असोज अन्तिम र कार्तिक पहिलो साता भएको बेमौसमी बर्षात्का कारण धानबालीमा क्षति व्यहोरेका नरैनापुरका किसानले राहत राहत रकम पाउने सुनिश्चित भएको छ ।
सरकारले गत आ.व.मा देशभरीका किसानलाई निश्चित क्षतिपूर्ति उपलब्ध गराउनका लागि बजेट विनियोजन गरेको थियो । बाँकेमा पनि उक्त रकम आएको थियो । तर, प्रक्रियागत ढिलाईका कारण असार मसान्तमा खर्च गर्नुपर्ने बजेट किसानले पाएनन् । बजेट फ्रिज भयो । तर, जिल्ला प्रशासन कार्यालयले राहतका लागि पहल गरेपछि गाउँपालिकाका लागि विनियोजित रकम पाउने सुनिश्चित भएको हो ।
‘नरैनापुर गाउँपालिकाका किसानका लागि मापदण्ड अनुसार विनियोजित रकम उनीहरुको खातामा पठाइसकेका छौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले भने, ‘यस बर्ष पनि सुख्खा परेको छ, त्यस क्षेत्रमा राहतका लागि पहल गरिसकेका छौं ।’
गत आर्थिक बर्षमा नरैनापुर गाउँपालिकामा मात्रै ७ हजार ५ सय ६८ घरपरिवारको १ लाख ९ हजार १ सय ३० कठ्ठा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको थियो ।










