असहायहरुको घरका रुपमा रहेको निल सागर सेवा आश्रम आर्थिक संकटका कारण सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको छ । संस्थाका अध्यक्ष सरिता खनालले संस्थामा आश्रितका लागि खाना र उपचारकै लागि समस्या भएपछि विभिन्न संघ, संस्था गुहारेका छन् । संघ, संस्था तथा व्यक्तिमा समस्या सुनाउँदा केही आर्थिक तथा खाद्यान्न सहयोग हुने गरेको छ । तर, निरन्तर रुपमा खर्चिलो व्यवस्थापनका कारण संस्था चल्न नसक्ने अवस्थामा पुगेको अध्यक्ष खनालले बताइन् ।
आश्रमको नेपालगन्जमा हाल १ सय ६२ जना असहाय आश्रित रहेका छन् । जसमध्ये अधिकांसमा मनोसामाजिक समस्या रहेको छ । ‘नियमित उपचार र केयरको पाटोमा काम गर्नु खर्चिला हुन्छन्, घरभाडा, लगत्ताकपडा र खाना खर्च पनि बढ्दो छ’, संस्थाका उपाध्यक्ष अमन सुवेदीले भने, ‘संस्थामा बालबालिकामा मात्रै ५५ जति रहेका छन् ।’
‘आर्थिक संकटका कारण संस्था आगामी दिनमा चलाउन नसकिने हो कि भन्ने चिन्ता बढ्दै गएको छ’, उपाध्यक्ष सुवेदीले भने, ‘बढ्दो खर्च र सीमित सहयोगबाट संस्था जुधिरहेको छ ।’ असहायको सेवामा हुने खर्च संस्थाले धान्न नसक्ने अवस्थामा पुगेको भन्दै उपाध्यक्ष सुवेदीले यथाशक्य सहयोगको आव्हान गरेका छन् । ‘प्रत्येक महिना दाताबाट आएको सहयोग र खर्चबारे अडिट गर्दै आएका छौं’, उनले भने, ‘दाताहरुले गरेको सहयोग सही ढंगले प्रयोग भएको ढुक्क हुने स्थिति हामीले बनाएका छौं ।’
संस्थाले असहायकालाई बासस्थान सँगै खानपान, उपचार र बालबालिकाका लागि सहयोग जुटाएर शिक्षा समेत प्रदान गर्दै आएको छ । ‘सक्दो प्रयास गरिरहेका छौं तर कतिञ्जेल सकिएला भन्ने चिन्ता थपिंदै गएको छ’, उपाध्यक्ष सुवेदीले शनिबार राती नेपालगन्ज स्थित समशान घाटमा संस्थामा आश्रित ज्येष्ठ नागरिकको मृत्यु भएपछि अन्त्येष्टि गरिरहेको जानकारी दिंदै भने, ‘सबैको कुरा व्यवस्थापन गर्नुपर्छ, तर स्रोत छैन ।’
संस्थाले आफ्नै घर भएमा आश्रितको व्यवस्थापन गर्न सकिने उद्देश्यले नेपालगन्जको हाडियाबाबा पूर्व भवन बनाउन सुरु गर्यो । तर, भवनका लागि आवश्यक बजेट नहुँदा तीन तले भवनको एउटा तला अझैसम्म पूरा हुन सकेको छैन । ‘सुरुको बर्षमा प्रदेश र केन्द्रबाट गरी प्राप्त ६० लाख रुपैयामा ढिलो गरी टेण्डर हुँदा २ लाखको मात्रै काम भयो, बाँकी फ्रिज भयो’, उपाध्यक्ष सुवेदी भन्छन्, ‘त्यसपछि लुम्बिनी प्रदेश सरकारले ५० लाख विनियोजन गर्यो, हामीले बजेट आउने भएकाले संस्थाको पैसा समेत भवनमा लगायौं तर मूल्यांकन ३१ लाखको मात्रै भएर भुक्तानी भयो’, उपाध्यक्ष सुवेदीले भने, ‘करिब २४ लाख संस्थाको खर्च भएको जसले गर्दा असहायको व्यवस्थापनमा आर्थिक संकट आइपरेको छ ।’
चालु आर्थिक बर्षमा भवन र संस्था सञ्चालनका लागि बजेट तीन तहकै सरकारबाट नपाएको संस्थाले जानकारी दिएको छ । ‘संस्थामा आश्रितको व्यवस्थापनका लागि प्रदेश सरकारले यसअघि २५ लाख छुट्याएको थियो चालु आर्थिक बर्षमा त्यो बजेट उपलब्ध छैन’, उनले भने ।
संस्थाले भवन पूरा गर्नका लागि महायज्ञ लगायो । स्थानीय तह निर्वाचन, कोरोना तथा चर्को गर्मीका बेला लगाइएको महायज्ञले संस्थाको भवनलाई आर्थिक स्रोत जुटाउन सकेन । बाँकेका स्थानीय तहलाई समेत सहयोगको आव्हान गरेपनि नरैनापुर गाउँपालिका बाहेक अन्य स्थानीय तहले भवनका लागि रकम दिन प्रतिबद्धता जनाएका थिएनन् । नरैनापुर गाउँपालिकाले भने असहायका लागि बनिरहेको भवनको दुई कोठा आफुले बताइदिने प्रतिबद्धता जनाएको छ ।
संस्थाले असहायका लागि ३ तल्लाको ५ करोड लागतमा भवन बनाउन लागेको हो । बजेट नहुँदा भवन कहिले भन्ने निश्चित छैन । ‘निर्माणाधिन भवन अलपत्र अवस्थामा छ, सबैले असहायका लागि सहयोग गर्नुपर्यो’, उपाध्यक्ष सुवेदीले भने ।