लागुऔषध विरुद्ध कोहलपुर प्रहरी सक्रिय, ५ महिनामा १९ मुद्दा

इलाका प्रहरी कार्यालय कोहलपुरले लागुऔषध नियन्त्रण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताउँछ । इप्रका प्रमुख ऐन बहादुर मल्लले कोहलपुरमा भैरहेको लागुऔषध सम्बन्धी कारोबार र त्यसबाट उत्पन्न हुने अपराधिक घटना नियन्त्रणका लागिपरेको बताउँछन् । गत बर्ष चैत्र अन्तिम साता जिम्मेवारी सम्हालेका मल्लले लागुऔषध सम्बन्धी २३ वटा घटनाका अभियुक्त पक्राउ गरेका छन् ।

इप्रका प्रमुख मल्ल लागुऔषधले अन्य अपराधिक घटना समेत वृद्धि गर्ने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि योजनाबद्ध लागेको बताउँछन् ।

भारतबाट आउने ब्राउनसुगर नेपालगन्जमा प्रहरीको नजरबाट बचेर कोहलपुरकै बाटो भई विभिन्न जिल्ला पुग्ने गर्दछ । त्यसैले पनि होला प्रहरीले निगरानी राखेपछि ८० ग्रामसम्म ब्राउनसुगर एकै पटक प्रहरीले फेला पारेको छ । ‘कारवाही मात्रै नभई लागुऔषध निरुत्साहित गर्न सचेतनामूलक कार्यक्रम पनि प्रहरीहरुबाट कोहलपुरमा हुँदै आएको छ’, मल्ल भन्छन् ।
गत चैत्रमा जिम्मेवारी सम्हालेका मल्लले २०७८ चैत्र २९ गते ८० ग्राम लागुऔषध ब्राउनसुगर सहित जगत केसीलाई कोहलपुर–१२ रोईनीखोलाबाट पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले वडा नं. १४ बाट बैशाख १४ गते १ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर सहित दुई जना, बैशाख २४ गते नेपालगन्ज–११ बसपार्कबाट एक जनालाई ४ सय ४० मिलिग्राम ब्राउन सुगर सहित, बैशाख २५ गते राप्तीसोनारी गाउँपालिका १ बाट एक जनालाई ३ केजी ७५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको थियो ।
प्रहरीले जेठ ७ गते नेपालगन्ज–२० बाट १ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर सहित १ जना, जेठ १५ गते नेपालगन्ज–२० बाट एक जनालाई १ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित, कोहलपुर ५ बाट जेठ १५ गते दुई जनालाई ७० मिलिग्राम ब्राउन सुगर सहित, जेठ १६ गते नेपालगन्ज २० बाट २ ग्राम ८१० मिलिग्राम ब्राउनसुगर सहित, असार ९ गते कोहलपुर ११ बाट ३ ग्राम ४० मिलिग्राम ब्राउनसुगर सहित दुई जना, असार १९ गते बैजनाथ गाउँपालिकाबाट फेला परेको ३ केजी ८ सय ग्राम अफिम सहित दुई जनालाई विभिन्न स्थानबाट पक्राउ गरी मुद्दा चलाएको छ ।

त्यस्तै, असार २६ गते कोहलपुरबाट २ ग्राम ८० मिलिग्राम ब्राउनसुगर सहित एक जना, असार २७ गते कोहलपुर ८ बाट ५२० मिलिग्राम ब्राउन सुगर सहित एक जना, असार ३० गते नेपालगन्ज २० बाट ६ ग्राम, साउन ४ गते कोहलपुर ३ बाट नाइट्रोभेट ३९ वटा ट्याबलेट सहित एक जना, नेपालगन्ज २० बाट एक जनालाई १७० ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ ।

त्यस्तै, साउन १७ गते कोहलपुर ८ बाट ५ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित एक जना, साउन २६ गते कोहलपुर ९ बाट ९५० मिलिग्राम ब्राउनसुगर र ४५ ग्राम गाँजा सहित १ जना, २ ग्राम १० मिलिग्राम ब्राउन सुगर सहित सोही दिन थप १ जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको थियो ।

भदौं २२ गते कोहलपुर ११ बाट १ सय ७० मिलिग्राम ब्राउन सुगर सहित १ जना, भदौं २९ गते कोहलपुर २ बाट ६०० मिलिग्राम ब्राउन सुगर सहित एक जना, भदौं ३० गते कोहलपुर ५ बाट २ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

‘होटल, व्यक्तिका रुम, सवारीसाधनमा यात्रा गर्नेहरुबाट लागुऔषध बरामद गरिएको हो’, इप्रका कोहलपुरका प्रमुख मल्लले भने ।

२६ ग्राम ब्राउन सुगर सहित ३ जना समातिए

इलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार २६ ग्राम बढी लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्लले २६ ग्राम ४ सय मिलिग्राम ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको जानकारी दिए ।

प्रहरीले दिएको जानकारी अनुसार, कोहलपुर–१२ चप्परगौडी स्थित यसोदा कार्कीको घरमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने सुचनाको आधारमा छापा मार्दा उक्त लागुऔषध फेला परेको हो । त्यसक्रममा प्रहरीले कार्की सहित उनका श्रीमान रुद्र बहादुर कार्की र मनोज गिरीलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले लागुऔषध बरामद भएको स्थलबाट डिजिटल तौल मेसिन, नगद नेपाली र भारतीय रुपैयाँ ५ लाख ७३ हजार ८ सय १० रुपैयाँ पनि बरामद गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया