सहकारीका ‘समस्या र अवसर’ बारे छलफल: जिल्ला सहकारी संघ बाँकेले जिल्लामा रहेका विभिन्न सहकारी संघ, संस्थाहरु बीच देखिएका समस्या र अवसर बारे शुक्रबार अन्तरक्रियात्मक छलफल आयोजना गरेको हो ।
बाँकेमा रहेका विभिन्न सहकारी संघ, संस्थाहरु बीच देखिएका समस्या र अवसर बारे शुक्रबार अन्तरक्रियात्मक छलफल आयोजना गरिएको छ ।
जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीको अध्यक्षतामा जिल्लामा रहेका सदस्य संघ, संस्थाहरु बीच अन्तरक्रियात्मक छलफलको आयोजना गरिएको हो । कार्यक्रममा केन्द्रीय कृषि सहकारी संघका सञ्चालक देव बहादुर केसीले प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सहकारीले पछिल्ला दिनमा भोगिरहेका समस्या बारे धारणा राखेका थिए ।
जिल्ला कृषि सहकारी संघ बाँकेका सचिव लोकेन्द्र चन्द, जिल्ला लघु उद्यमशीलता सहकारी संघका अध्यक्ष बसन्ती सुनार लगायतले सहकारी संस्थाबारे चलिरहेका भ्रम र त्यसका निवारणका लागि संघ सम्बद्ध सहकारी संस्थाहरुले चाल्नुपर्ने कदम बारे धारणा राखेका थिए ।
जिल्ला सहकारी संघ अन्तर्गतका विभिन्न ९४ वटा सहकारी संघका अध्यक्ष, प्रबन्धक तथा प्रतिनिधिहरुको सहभागितामा भएको अन्तरक्रियामा जिल्लामा देखिएका सहकारी सम्बद्ध समस्याहरुको छलफल गरिएको अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए ।
सुवेदीका अनुसार, सहकारी अभियानलाई देशकै नमूनाका रुपमा अगाडि बढाउन बाँकेका सहकारीहरु आपसी समन्वयका साथ सुशासन, नीति, विधि र प्रविधि केन्द्रित सहकारी संस्थाका रुपमा विकास गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।