पहिलो पटक निर्वाचित कार्यसमिति, २५ वर्षपछि निर्वाचित नयाँ नेतृत्व

पश्चिम नेपालकै पहिलो र ठुलो पुस्तकालयको इतिहास बोकेको तत्कालिन प्रेम पुस्तकालय हाल महेन्द्र पुस्तकालय नेपालगन्ज पच्चिस वर्षपछि नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
१७ औं साधारणसभा तथा अधिवेशनले बलराम यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो । यादव तदर्थ समितिका अध्यक्ष पनि हुन् ।
अध्यक्ष यादवसहित ५ जना पदाधिकारी र २ महिला सदस्य निर्विरोध निर्वाचित अभिवेशनमा कार्यसमितिका लागि आवश्यक ४ जना खुला सदस्यका लागि मतदान भएको थियो ।
‘पहिलो पटक यसरी महेन्द्र पुस्तकालयको इतिहासमा पूर्ण लोकतान्त्रिक विधिबाट कार्यसमिति बन्यो,’ नेपालगन्जका पूर्व नगर प्रमुख विजय कुमार गुप्ताले पहिलो पटक निर्वाचित कार्यसमिति बनेपछि पुस्तकालय परिसरमा भने ।
यसअघि अध्यक्षले नै पदाधिकारी मनोनयन गर्ने व्यवस्था बारे चर्चा भइरहँदा तत्कालिन अध्यक्ष कन्हैयालाल टण्डन छेउमै मुस्कुराइरहेका थिए । २०५४ सालमा उनै टण्डनको नेतृत्वमा पुस्तकालय राम्रै स्थापित अवस्थामा रहेपनि त्यसपछि बेहाल हुँदै गएपछि अहिले आएर हस्तक्षेप भएको हो ।
तदर्थ समितिको नेतृत्व सम्हालेका यादवलाईनै सबैसम्मत अध्यक्ष चुनिएको छ । निर्वाचन समितिका सदस्य पूूर्णलाल चुकेका अनुसार कार्य समितिको उपाध्यक्ष पंकजकुमार श्रेष्ठ, सचिव मणिदेव अर्याल, सहसचिव धनमाया लुइँटेल (ऋचा) र कोषाध्यक्षमा अजय कुमार टण्डन, महिला सदस्यद्वय मीना ढकाल र अस्मिता शाह महतरालाई निर्विरोध निर्वाचित गरेको थियो ।
चार जना खुला सदस्यको लागि भएको सर्वसम्मत प्रयास सफल हुन नसकेपछि मतदानमा जानु परेको थियो । बुधवार भएको मतदानबाट बिज्रेश बहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्दिकी र वीरेन्द्रप्रसाद जैसी (बीपी अस्तु) निर्वाचित भएका छन् । खुला सदस्यमा ९ जनाबीच प्रतिष्पर्धा भएको थियो । ‘पुस्तकालयलाई साँच्चिकै पुस्तकालयका रुपमा रुपान्तरित गर्नुनै नयाँ टिमको चुनौती हो,’ पत्रकारका रुपमा पुस्तकालय सुधारबारे निरन्तर लेखिरहेका जैसीले निर्वाचित भएपछि
दैनिक नेपालगन्जसँग भने ।

निर्वाचन समिति सदस्य चुकेका अनुसार, कूल मत २१२ रहेकोमा १४७ मत खसेको थियो । जसमध्ये ४ मत बदर भएको जानकारी दिंदै चुकेले निर्वाचित कार्यसमितिलाई शनिवार पद तथा गोपनियताको सपथसँगै पदस्थापन गरिने बताए ।










