नेतृत्वको असक्षमताले व्यवस्थामाथि प्रश्न

नेपालगन्जमा ‘लोकतन्त्र र नागरिक शिक्षा’ अन्तरक्रिया

राजनीतिक नेतृत्वको असक्षमताका कारण व्यवस्थामाथि नै प्रश्न चिन्ह उठ्न थालेको भन्दै नागरिक सचेतनामा जोड दिइएको छ । नेपालगन्जमा सोमबार आयोजित एउटा कार्यक्रममा सहभागी विभिन्न तह, तप्काका प्रतिनिधिहरुले व्यवस्था माथि नै प्रश्न चिन्ह खडा गर्ने बेला नभएपनि राजनीतिक नेतृत्वले कुसलता प्रदर्शन गर्न नसक्दा नै समस्या देखिन थालेको औंल्याए ।

नेपालका नागरिकले व्यवहारिक रुपमा लोकतन्त्रको अनुभूति गर्न नपाएको भन्दै कार्यक्रमका सहभागी वक्ताहरुले जनताको ठुलो बलिदानी र संघर्षपछि स्थापना भएको लोकतन्त्रमा जनतालाई दुःख र राजनीतिक दललाई मस्ती भएको भन्दै टिप्पणी गरे । ‘यसको अर्थ व्यवस्थाको विकल्प खोज्ने होइन, व्यवस्थाका बारे आम जनता मतदातालाई सुसूचित बनाउँदै गतिलो जनप्रतिनिधि चुन्ने हो’, आसन्न निर्वाचनलाई लक्षित गर्दै सहभागीहरुको भनाइ थियो ।

ऐतिहासिक रुपमा संविधानसभाले निर्माण गरेको संविधानको कार्यान्वयनमा चुनौती उत्पन्न भएको सहभागीहरुले बताएका थिए । एफ इ एस नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सोमबार गरेको बदलिंदो परिस्थतिमा लोकतन्त्र र नागरिक शिक्षा विषयक अन्तरक्रियाका सहभागीहरुले लोकतन्त्र र संघिय पुर्नंरचनापछि नागरिकका सबै अधिकार सुनिश्चित हुनुपर्नेमा त्यसो नभएको चिन्ता व्यक्त गरिएको थियो ।

कार्यक्रममा सहभागी नागरिक समाजका अगुवाहरुले तीन वटै सरकारको गुणस्तरीय, सेवा, पारदर्शिता, र विद्यामान कानूनको कार्यन्वयन गरि नागरिकलाई सामान रुपमा सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको संघियतामा सुशासन आर्थिक आयमका बारे प्रस्तुतीकरण गर्दै नेपालको नयाँ संघीयता कार्यान्वयनतर्फ अघि बढेको भन्दै अझै तीन वटै सरकारका काम कारवाही प्रक्रियाबारे समीक्षा गर्नुपर्नेमा जोड दिए । आर्थिक संकट तथा बेरोजगारीको अन्त्य गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्ने भन्दै नागरिकका सम्पुर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताए ।

प्राध्यापक गणेशदत्त भटले आसन्न निर्वाचन, नेपालमा लोकतन्त्र र यसका समस्या चुनौतीबारे प्रस्तुतीकरण गर्दै पछिल्लो अवस्थामा मुलुकमा नयाँ परिवर्तनसंगै सकारात्मक दिशातर्फ उन्मुख भएका बताए । उनले देशमा कानून, ऐन लगायत सबै सफ्टवेयर संरचना व्यवस्थित रुपमा रहेपनि त्यसको प्रभावकारी कार्यन्वयन नहुँदा समस्या भएको भन्दै भएको सफ्टवेयर हार्डवेयर तथा अभ्यासमा लग्नुपर्नेमा जोड दिए । महिला विकास अधिकृत मञ्जु पाण्डेले सामाजिक न्यायका बारेमा आफनो प्रस्तुतीकरण गरेकी थिइन् ।

कार्यक्रममा नेपालगन्जका मेयर प्रशान्त विष्ट उपमेयर कमरुद्दिन राई, डुडुवा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, बुद्धिजिवी तथा नागरिक अगुवा नरेन्द्रजंग पिटर, सनत रेग्मी, हरिप्रसाद तिमिल्सिना, हेमन्त कर्माचार्य, कृष्णजंग कार्की, रामकुमार दिक्षित, रामगोपाल कुर्मी, विजय गप्ता, गुरुप्रसाद गौतम, अर्जुन पोख्रेल, रुद्रप्रसाद तिम्लिसेना, लक्ष्मी ज्ञवाली, शाहिदा शाह, बसन्त गौतम, डा. विनोद कर्ण, आरिफ अन्सारी, कृष्ण प्रसाद श्रेष्ठ, सन्त कुमार बर्मा लगायतले प्रस्तुत विषयमाथि धारणा राखेका थिए ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख लालमणी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एफ इएसका चन्द्रदेव भट र अधिवक्ता पार्वता राउतले बोलेको कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष विश्वजित तिवारीले गरेका थिए ।

कार्यक्रमका सबैजसो वक्ताहरुको जोड दल भित्रैका योग्यहरुलाई उम्मेदवारी दिन बाध्य बनाउने र योग्य उम्मेदवारहरुमध्येबाट जनप्रतिनिधिका रुपमा नीति निर्माण तहमा पुुर्याउने भूमिकाका लागि नागरिक शिक्षा आवश्यक भएको औंल्याए ।

प्रतिक्रिया

प्रतिक्रिया