‘म अब बाच्ने आधार भेटिन् त्यसैले आत्महत्या गरेकी हुँ’ – भेरी अस्पतालको मनोपरामर्श कक्षमा सेवाग्राहीले यो वाक्य व्यक्त गर्दा मनोसामाजिक परामर्शकर्तालाई एक हद सम्म चुनौती समेत हुन्छ । उमेरले २२ को हाराहारीकी उनको लाउने, खाने उमेरमा आएकोे मनोवैज्ञानिक उतारचढावले जो कसैलाई पनि प्रभावित बनाउछ । फरक यति हो अरुले यसलाई सामन्य धम्की वा मनमा आएको वेगका रुपमा लिन सक्छन् भने हामी उक्त पेशाकर्मीले यसलाई सुन्ने, बुझ्ने र त्यसका प्रभावहरुका बारेमा चर्चा गछौं ।
२०७९ बैशाख यता मात्रै १० जना आत्महत्याको प्रयास गरेका व्यक्तिहरुलाई मैले मनोपरामर्श सेवा प्रदान गरें र त्यो भन्दा बढी दिक्दारी, नैराश्यताका केशहरु आउने गरेका छन् ।
माथि चर्चा गरिएका लगभग सबै सेवाग्राहीहरु उत्पादनशील उमेर समुहका र अझ भनौं किशोरावस्थाका थिए । हास्ने खेल्ने उमेरका किशोर किशोरीहरुले पनि आत्महत्याको प्रयास गर्छन र कतिले त साच्चै आत्महत्या गरेर जीवन लीला समाप्त पारिरहेका पार्छन भन्ने सुन्दा आश्चर्य लाग्दोहो तर यी घटना अहिले बढेका छन् ।
तनावमुक्त जीवन, पढाइमा अनावश्यक प्रेसर, सोसल मिडियाको प्रभाव र पश्चिमी देशको जीवन शैली अपनाउने होड वाजीले आत्महत्या गर्ने जोखिमलाई प्रभाव पारेको छ । बावु–आमा र छोराछोरीको विच जेनरेसनगैप, छोराछोरीमा स्वतन्त्र, आफुले चाहे जस्तो जीवन शैली विताउने इच्छा र बावु आमामा, छोराछोरी पहिले पहिले जस्तै अनुशासीत हुनुपर्छ भन्ने सोचाई र व्यवहारले घरमै प्रशस्त तनाव हुने गरेको पाइन्छ ।
स्कुलमा कसले धेरै नम्वर ल्याउने भन्ने अर्को अनावश्यक तनाव त छदै छ । केटाकेटी र किशोरहरु किशोरीहरु भित्र रहेको श्रृजनशीलतालाई कसरी अघि वढाउने, कसरी प्रोत्साहन गर्ने भन्दा पनि कसरी पढाएको विषय घोक्छन र वुझेपनि, नवुझेपनि परिक्षामा ओकल्छन र राम्रो नंम्बर ल्याउछन भन्ने अस्वस्थकर प्रतिस्पर्धा स्कुलहरुले गर्दा शिक्षालाई रमाएर लिने भन्दा वोझको रुपमा हेरिदैछ । व्वाय फ्रेन्ड, गर्ल फ्रेन्ड, लभ, सोसल मिडियामा मेसेज, यु–ट्युवमा यौन जीज्ञासा मेटाउन हेरिने विभिन्न कुराहरुले किशोर किशोरीहरुको मनमा के कस्तो असर पारेको छ, अध्ययनको विषय हो ।
हुनत शरिरमा निस्केन विभिन्न हार्मोनहरुका कारण केटाकेटी विच हुने शारीरिक आकर्षण, सामान्य हो, सकारात्मक नै हो र प्राकृतिक हो । तर आफुले भने जस्तो भएन, धोका भयो, पछुताउ भयो वा व्रेकअप भयो भने प्रशस्त टेन्सन दिने र लामो समय सम्म मनोवैज्ञानिक असर पर्दो रहेछ ।
आजकल देखाइने टेलिसिरियल र फिल्ममा जस्तो फेशन गर्दा र रोमाञ्चक जीवन विताउने इच्छा गर्दा वा विताउदा पनि तनाव दिने गर्छ । आत्महत्या घरमा, स्कुलमा वा अन्य कारणले लगातार मानसिक तनाव भइराख्यो भने वा तनावकै कारण नकारात्मक सोचहरु र भावनाहरु आइराखे भने वा यीनै कारणले डिप्रेसन भयो भने हुने रहेछ ।
मानव जीवन अमुल्य छ र जीवन जीउने कला जान्ने हो भने यो अति सुन्दर छ । किशोर वा किशोरीले आत्महत्या गर्दा उनको जीवन त समाप्त भयो त्यसको असर उनको परिवारमा, साथीभाईमा र समाजमा ज्यादै नराम्रो पर्दछ । के यस्तो आत्महत्या घटाउन सकिन्छ त ? प्रयास ग¥यो भने निश्चय नै घटाउन सकिन्छ ।
आत्महत्या गर्ने सोच वारम्वार आउन लागे किशोर वा किशोरीले मर्ने चाहना सिधै वा घुमाउरो किसिमले व्यक्त गर्छन । आमाबावुले वा साथीहरुले यो कुरा लाई गम्भिरताका साथ लिनु पर्छ र के कस्तो सहयोग गर्ने भन्ने सोच्नु पर्छ । आत्महत्या संग एक्कासी आउने सोचाईबाट गरिने प्रयास बाहेक अधिकांश आत्महत्या योजनामा गरिएको हुन्छ ।
आत्महत्याको सोचाई आइराख्दा यी व्यक्तिहरुले आफु सहयोगविहिन भएको वा आफुलाई सहयोग गर्ने कोही नभएको, भविष्य अन्धकार र केही आशा नभएको, आफ्नो जीवन फलदायी वा उपलब्धीमुलक नरहेको, मैले केही गर्न सकिन, जीवन बाच्नुको अर्थ छैन् लगायतका सोचाई आउनुका साथै आफ्ना भनाई वा व्यवहारमा यस्ता अभिव्यक्ति देखाइरहेका हुन्छन् ।
लगातारको मानसिक तनाव छ वा डिप्रेसन नै भएको छ भन्ने “जीवन अर्थ हीन छ, भावनात्मक पिडा सहि नसक्नु छ, मनमा कहिल्यै न पुरिने चोट लागेको छ, अरुको लागी वोझ भएर किन वाच्नु” जस्ता भावनाहरु ऋाउन थाल्छन । मन शान्त गराउन गाँजा, निन्द्रा लाग्ने चक्की, वियर, वाइन वा रक्सी र लागु औषधी खाने व्यक्तिको सम्पर्कमा आएमा त्यस तर्फ आकर्षित हुन्छन ।
मन अशान्त भएपछि कताजाउ, के गरु भन्ने छटपटी लाग्छ, निन्द्रा लाग्दैन र आफ्नो पढाईको वास्ता हुदैन । किन पढने, के को लागी पढने जस्ता प्रश्नहरु उठछन । आफ्नो स्वास्थ्यको ख्याल हुदैन र अरुको वास्ता लाग्न छाडछ । कहिले रिस उठने, सामान फाल्ने र आक्रमक शैली देखाउने हुन्छ भने कहिले कसैसँग बोल्न मन नलाग्ने गरि निराश हुन्छन ।
यस्ता लक्षणहरु देखेपछि आमा बाबु, परिवाजनले, साथीभाईले, वा थाहापाउने जो कोहीले पनि गम्भिर भई किन यस्तो व्यवहारमा परिवर्तन भएको छ, पढाई विग्रदै छ भनेर खोजी गर्नु पर्छ । स्कुलका शिक्षकहरुले पनि पहिले राम्रो बोली, व्यवहार र पढाई गर्ने विद्यार्थी किन फरक देखिन्छ भनेर ख्याल राख्ने र स्कुल काउन्सेलर छन भने मनोपरामर्श (काउन्सेलीङ) को लागि पठाउनु पर्छ । मनोचिकित्सक, चिकित्सा मनोविद्, मनोविद् लगायतको राय अनुसार अगाडी वढनु उपयुक्त हुन्छ ।
बावुआमाले आफ्नो छोरा वा छोरीको पढाई किन विग्रदै छ भनेर स्कुलका शिक्षक सँग वुझ्ने, आफ्नै छोरा छोरीसँग कुरा गर्ने, त्यसको लागी समय दिने, छोराछोरीका साथी सँग के कस्ता कुरा हुन्छन बुझ्ने गर्नुपर्छ । उनीहरुले सोसल मिडिया जस्तै फेसबुक आदीमा के कस्तो पोस्ट गरेका छन हेर्दा पनि केहि कुराहरु थाहा पाउन सकिन्छ ।
आत्महत्या गर्न प्रयोग गरिने डोरी, हतियार वा विषादी घरमा छन भनेर लुकाएर राख्नु पर्छ । उपचारको लागी मानसिक रोग विशेषज्ञ संग भेट गराई औषधी र काउन्सेलीङ सेसन दुवै आवश्यक पर्ने भए सोही अनुसार अन्यथा मनोचिकित्सकको राय अनुरुप औषधी खानुपर्छ वा पर्दैन वहाहरुले निश्चित गर्नुपर्दछ ।
घरको वातावरणमा परिवर्तन, मानसिक तनाव दिने खालका समस्याहरुको व्यवस्थापन, मनोसामाजिक सहयोग र चिन्तरोग वा डिप्रेसन भए उपचार गर्नु पर्छ । आत्महत्याको प्रयास गरेका वा विषादी खाएको कारण अस्पतालमा उपचार गराउनु परेको भए पनि फेरी आत्महत्या गर्ने सम्भावना भएकोले काउन्सेलिङ तथा समस्याको समाधान गर्ने प्रयास जरुरी छ ।
आत्महत्या रोकथाम गर्नका निम्ती त्यस्ता अभिव्यक्ति दिने व्यक्ति संग उनीहरुका समस्या, भावनात्मक प्रतिक्रिया र जीवन अस्थीर छ भनेर आशा जगाउने स साना प्रयासले समेत व्यक्तिको जीवन जोगाउन सकिन्छ । तर जटिल व्यवहार देखाउने, अरुलाई समेत हानी गर्ने र आफु पनि आफ्नो शरीरलाई हानी गर्ने लगायतका अभिव्यक्तिहरु दिईएको पाईएमा तुरुन्त मनोचिकित्सक, मानसिक स्वास्थ्य सेवा सम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मी, मनोविद्, मनोसामाजिक परामर्शकर्ता संग भेट गराई आवश्यक उपचारात्मक सहयोगको आवश्यकता पर्दछ ।
‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने मुल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवश विश्वमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाईराख्दा समेत (एकघण्टाको कार्यक्रम सकिने बेला सम्म) ९० जनाले आत्महत्या गरिसकेको हुनेछन् । जसमा २२ यस ५० ले त आत्महत्याको प्रयास गरेकाहुनेछन् ।
विश्व स्वास्थ्य संगठनको २०१९ को प्रतिवेदन अनुसार वर्षेनी ७ लाख ले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छने भने हरेक ४० सेकेण्डमा १ जना व्यक्ति आत्महत्याकै कारण आफ्नो मृत्यु गरेका पाइन्छ । नेपालमा समेत सरदर झण्डै प्रतिदिन १९ जना व्यक्तिको मृत्युको कारण आत्महत्या रहेको छ ।
यस विषम तर आत्महत्याको कहालि लाग्दो डाटा रहेको छ । तर अझै पनि हामी यसबारे खुलेर कुराकानी गर्ने गरेको पाइन्न । समयमा नै यसबारे सरोकारवाला निकायको ध्यान नपुगेमा यो विषय थप जटिल हुनेछ । किनभने हरेक १ आत्महत्याको घटनाले १ सय ३५ जनालाई प्रत्यक्ष असर पार्ने गरेको विभिन्न अनुशन्धानले देखाएको छ ।
त्यसैले हाम्रा ३ तहका सरकार र सरोकारवाला निकायले जनसरोकारको विषय बनाई यस तर्फ विभिन्न खालका आशा जगाउने, सचेतनामुलक क्रियाकलाप संचालन गर्ने र आत्महत्याको हरेक विषयलाई गम्भिरतापुर्वक सोची रोकथामका हरप्रयास गर्न जरुरी छ ।