मध्यपश्चिम स्रष्टा समाजले आयोजना गर्दै आएको कविता वाचनको कार्यक्रम ‘काव्यगन्ज’को दोस्रो श्रृंखलामा कवि डा. निरज भट्टराईले आफ्ना चुनिएका कविता र गजल वाचन गरेका छन् ।

डा. निरजका कविता सुनिसकेपछि सहभागीहरुले फरक स्वादका कविता सुन्न पाइएको प्रतिक्रिया दिएका छन् । कतिपय सहभागीहरुले वाचनमा निरजका गजलहरुले बढी प्रभावित पारेको बताए ।
डा. निरजका कवितामाथि समीक्षक राजकुमार बानियाँ र गजलमाथि खगेन्द्र गिरि ‘कोपिला’ले टिप्पणी गरेका थिए । बानियाँले निरजको धुवाँको धागो कविता संग्रह पहिलो र एकमात्र कविता संग्रह भएपनि त्यसले उनलाई दिइरहेको पहिचान उल्लेखनीय रहेको बताए ।
‘कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जन’ डा. निरजमा कविता श्रृजनाको पनि विशिष्ट प्रतिभा रहेको उनले बताए । उनले डा. निरज कुण्ठाभन्दा माथि हुनेर आत्मानूभूतिका कविता लेख्ने कविको रुपमा रहेका बताए ।
गजलमाथि टिप्पणी गर्दै समीक्षक खगेन्द्र गिरी ‘कोपिला’ले डा. भट्टराईको ‘तलाश’ गजल संग्रह नेपाली मानक गजल संग्रह रहेको बताउँदै धेरै गजलकारहरुले उनको शैली पछ्याएको दाबी गरे ।
मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष शुक्रऋषि चौलागाईंले समाजले आगामी दिनहरुमा थप व्यवस्थित साहित्यक कार्यक्रमहरु गर्ने योजना रहेको बताए । ‘काव्यगन्ज’ हरेक चार महिनामा एक पटक आयोजना गर्ने गरि तय गरिएको कार्यक्रम रहेको चौलागाईंले बताए । शनिवार कवि डा. निरज भट्टराईको एकल कविता तथा गजल सुन्न बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, चिकित्सक, उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी एवं साहित्यकारहरुको ठूलो उपस्थिति देखियो ।

नेपालगन्जमा साहित्यिक कार्यक्रममा यति वृहत सहभागिता भएको दुर्लभ घटना भएको कार्यक्रममा सहभागी लेखक एवं राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरले बताए । उनले निरजका शक्तिशाली कविता नेपालगन्जका सबै तप्का सुन्न पाउनु आफैमा खुसीको कुरा भएको बताए ।










