बाँके, बर्दियाका ३ हजार २ सय ३० किसान अनलाइन प्लेट फर्ममा आबद्ध, ९ सय बढी समस्या समाधान
बाँके र बर्दिया लगायत विभिन्न जिल्लाका किसान जिओ कृषि मार्फत स्मार्ट कृषिमा आबद्ध भएका छन् । किसानले आफ्ना समस्या डिजिटल प्लेटफर्ममा विज्ञसँग अनलाइन मार्फत समस्या राख्ने र त्यसको समाधान गर्ने प्रविधिको विकास भएसँगै किसान लाभान्वित भैरहेका छन् ।
बुधबार यस क्षेत्रका किसानलाई लक्षित गरेर जियो कृषि–पाथवे टेक्नोलोजीले आयोजना गरेको कार्यक्रममा बिक्रम आचार्यले आफ्नो प्रस्तुति राख्दै कृषि सम्बन्धित समस्या राख्न किसानलाई अनलाइन प्लेट फर्म प्रभावकारी बन्दै गएको बताएका थिए । उनले प्राप्त समस्या समाधानका लागि समेत जिओ कृषिले महत्व बढ्दै गएको विगतको तथ्यांकले देखाएको बताएका थिए ।
आचार्यले जिओ कृषि प्रयोगकर्ता बाँकेमा १ हजार ६ सय ८२ रहेको जानकारी दिएका छन् । उनले कोहलपुरका २ सय ९०, राप्तीसोनारीका ८ सय ६९, नेपालगन्जका ७०, नरैनापुरका ५१, बैजनाथका १ य ६७, खजुराका १ सय ८०, डुडुवाका ३२ जना जियो कृषिमा आबद्ध रहेको बताए । त्यस्तै बर्दियाका ७ स्थानीय तहका १ हजार ५ सय ४८ किसान जियो कृषिमा आबद्ध रहेका छन् ।
‘जियो कृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र हो’, जियो कृषिका कार्यकारी निर्देशक राजनमान बज्राचार्य भन्छन्, ‘यसले कृषि मूल्य श्रृंखलाका सबै पात्र कृषक, उद्यमी, एग्रोभेट, प्राविधिक, सहकारी, बजार केन्द्र, सूचना तथा सेवा प्रयायक स्थानीय तह र ज्ञान केन्द्रहरुको सीप तथा क्षमतामा सबलीकरण गरी कृषि उत्पादन र उत्पादकत्व बढाउन भुगोल अनुरुपको कृषि सूचना र जानकारी प्रदान गर्ने कार्य गर्दछ ।’
कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै मेनसुरा भट्टराईले किसानहरुलाई लक्षित गरी जिओ कृषिले जियो कृषि फार्म एप, जियो कृषि इएक्सटि, जियो कृषि एग्रोभेट, जियो कृषि बेव इन्टरप्राइजेज, सामुहिक बजार डटकम सञ्चालन गरिरहेको जानकारी दिइन् । ‘किसानले कृषि तथा वस्तुमा देखिएका समस्या एप मार्फत पठाएर त्यसको समाधान पाउन सक्ने व्यवस्था मिलाइएको छ’, पाथवे टेक्नोलोजीका निर्देशक सुरज श्रेष्ठले भने, ‘यो किसानका लागि प्रभावकारी बन्दै गएको छ ।’
कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालको प्रमुख आतिथ्यतामा भएको जियो कृषि डिजिटल कृषि तथा पशु परामर्श सेवा सम्बन्धी कार्यक्रममा सहभागीलाई समूहमा विभाजन गरेर जियो कृषिका कारण किसानलाई भैरहेको लाभ, चुनौति र आगामी दिनमा चाल्नु पर्ने कदम लगायतका बारेमा सुझाव समेत लिइएको थियो ।
कार्यक्रमका कतिपय सहभागीले अनलाइन पहुँच, स्तरीय स्मार्ट मोबाइल नहुँदा किसानलाई जियो सँग आबद्ध हुन समस्या रहेको बताएका थिए । यद्यपि, जियो कृषिले किसानका समस्या सामूहिक रुपमा सुन्नका लागि इचौतारीको समेत आयोजना गरिरहेको कार्यक्रममा जानकारी दिइएको थियो । ‘इ चौतारिमा किसान एकै ठाउँमा भेला भएर अनलाइन मार्फत समस्या कृषि विज्ञसँग राख्ने र समाधानको उपाय थाहा पाउने व्यवस्था गरिएको छ’, भट्टराईले भनिन् । कार्यक्रममा बाँके र बर्दियामा मात्रै २० वटा इ चौतारी सञ्चालन भएको, किसान समूह, सहकारीलाई तालिम दिइएको, प्रशिक्षक प्रशिक्षण गरिएको लगायतको जानकारी दिइएको थियो ।
कार्यक्रममा प्रस्तुति राखेका आचार्यले बाँके, बर्दियाका ९ सय किसानका समस्याको समाधान गरेको जानकारी दिएका थिए । विगत तीन बर्षदेखि कार्यक्रम सञ्चालन भएपनि कोभिडका कारण बीचमा प्रभावित भएको थियो ।
‘जियो कृषिको प्रविधि प्रयोग गरेर कृषकले स्थानीय मौसमको जानकारी, बजार मूल्यको जानकारी, असल कृषि अभ्यास, पशुपालन, मलखाद हिसाबकिताब, सुझाव, विज्ञ सँग सल्लाह र आफ्नो स्थान अनुरुपको स्मार्ट जानकारी पाउन सक्छन्’, जियो कृषिका कार्यकारी निर्देशक बज्राचार्य भन्छन् ।










