युवा विचार

तीज, पञ्चमी ब्रत र रजस्वलाको प्रसंग

‘शिरै शिरफुल किन चाहियो मलाई

दाई त लाग्यौ वनवास

शिरै शिरफुल चाहिँदैन मलाई

कहाँ पाउँला ओडारको वास’

यसपाला तीजमा यो भाका मेरी हजुरआमाले ऋषि पञ्चमीको दिन गाउनु भयो, जुन गीत यसअघि मैले सुनेकी थिइन । उहाँसँगै बुझ्दा यसको अर्थ, सप्तऋषिहरुको बहिनी रन्नतीले आफ्ना दाजुहरू वनवास जाँदा शिरफुल चाहिएन मलाई । शिरफुल त बरु पैसा भए किन्न पाइन्छ तर मेरा दाजुहरु वनवास लागेपछि दाजुहरुको न्यानो ओडार (त्यो बेलाको घरवास हो की ?) वास कहाँ पाउँछु र भनेर रन्नतीले दुखेसो पोखेकी हुन् भन्ने हो ।

हजुरआमाको भनाइ अनुसार, तीज पछिको भाद्र शुक्ल पञ्चमी तिथिको दिनमा मनाइने पर्वको रुपमा मनाइने गरिन्छ ऋषि पञ्चमी । हिन्दु धार्मिक परम्परागत चलन अनुसार भगवान इन्द्रले गरेको पापलाई मोचन गर्न सो पापलाई ब्रम्हाजीले चार ठाउँमा बाँडिदिएका रहेछन् ।

ती चार भागको एक भाग नारीजातिहरुको रजस्वलाको रुपमा पाप बाँडिएको थियो भनेर महिनावारीको समयलाई पापको रुपमा लिइन लाग्यो रे ! यसकारण, मासिक धर्मका समय लाग्ने पापहरुको निवारणका लागि पञ्चमीको व्रत महिलाहरुद्वारा गर्ने चलन सुरुवातमा आयो । सप्त ऋषिहरुको पुजा गर्नाले रजस्वला हुँदा गरिएको छुइछाईको पापबाट मुक्ति पाइने धार्मिक विश्वास रहेछ । ऋषि पञ्चमीको दिन दतिउन चबाउने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चकव्य सेवन गर्नाले छुवाछुतको दोष मेटिन्छ भन्ने शास्त्रीय वचन रहेछ ।

यो त थियो पञ्चमीको विषयमा मैले पढेको र हजुरआमासँग सुनेको ज्ञान । तर, यी कुराहरुमा मेरो सहमति कत्तिपनि छैन । किनभने भगवान इन्द्रले गरेको पापलाई बाँडिदिएर दिएकाले रजस्वला हुन थालेको भन्ने मनगढन्त किम्बदन्ती बनाउनु र सरासर धर्मको नाममा विकृति फैलाउनु हो । मलाई लाग्छ, धर्मका आडमा बनाइएका अनुशासनका अंग हुन् यी भनाइ सबै । कुनै आधार–प्रमाण छैनन्, यी भनाइका ।

नारीहरु सबैले पापको निवारण गर्नलाई ब्रत बस्नुपर्ने, पञ्चमी घुम्न पर्ने जस्ता कुराहरु कसरी सहि भयो ? मान्छु मैले पनि धर्म र संस्कृति तर यी कुन धर्ममा परे ? जब कि रजस्वला हुनु त महिलाहरुको प्राकृतिक अवस्था हो । यदि यो प्राकृतिक नियम नभएको भए मानव जीवनको अस्तित्व नै रहने थिएन ।

मलाइ लाग्छ, पहिलेका मानिसले धर्म र पापको सहायताले महिलालाई सरसफाई र स्वास्थ्यमा केन्द्रित गर्न खोजेका थिए तर त्यसलाई रुढीवादी परम्परा बनाई प्रयोगमा ल्याए । अहिलेका केहि मानिसहरुले केहि सजगता अपनाएर धर्ममा जोडे, तर अब रजस्वलालाई धर्मसँग जोडेर सरसफाइ लगायतका प्रसंग बोरिाख्नु आवश्यक छैन । पुराना मानसिकता धेरैले अझैपनि बदलिएका छैनन् जसले गर्दा आजपनि हामी यीनै बेतुकका कुरामा अल्झिएका छौं । धर्ममा आस्था राख्नु सहि हो तर धर्मका नाममा विकृति भरिएको सोंचलाई पालना गर्नु कदापि उचित होइन । त्यसैले म हजुआमासँगै बसेर तीज, पञ्चमी ब्रत र रजस्वलाको साइनोका प्रसंगमा जानकारी लिएँ, पञ्चमी ब्रत आवश्यक ठानिन ।

तीजको प्रसङ्गमा समेत धेरै कराहरु बाहिर आएको थियो । महिला दिदीबहिनीहरु सँगै बस्ने, मिलेर मिठामिठा खानेकुरा पकाएर खाने, नाँचगान गर्ने र रमाइलो गर्ने चाडपर्व हो तीज । तर, आजभोलि पश्चिमी सभ्यतालाई पछ्याउँदै गएका हाम्रा पुर्वीया सभ्यताका दिदीबहिनीले आाफ्नो मौलिकतालाई बहन गर्नमा चुकिरहेको देखिन्छ । यसपटक तीजमा कुकुर नाँच नाँचेका भनेर थुप्रै कुराहरु बाहिरिए, विवादित भए । कतिले चर्चा गरे, कतिले विरोध वा समर्थन् । हुन त नाँच्नु वा ननाच्नु व्यक्तिको निजी कुरो होला तर तीजलाई र त्यसको आस्था र मान्यतालाई चोट पुर्याउने गरि गरिएका गीतसंगीत वा नाँचनृत्य त कतैबाट पनि सहि हुन्न की भन्ने मेरो विचार हो ।

सत्य र तथ्यलाई नै मध्यनजर गरी धारणा बनाउन चाहिँ सबैले सक्नुपर्छ भन्ने मलाई लाग्छ । अतः न त रजस्वला हुनु पाप हो न त नारीजातिहरु पापको भागीदार । त्यसैले धर्मका नाममा कुरीति र विकृतिलाई चाहिँ बढावा नदिउँ भन्नु नै मेरो धारणा राख्न चाहेर यति विषय उठान गरेको हो । मलाई लाग्छ, तीजलाई मौलिक पर्वको रुपमा हामी नेपालीले मनाउँदा यसको आधार भत्काउनु हुन्न, आस्था बिगार्नु हुन्न । तर, यसको वास्तविकतालाई भने औंल्याउँदै समयसापेक्ष रुपमा अगाडी लैजानु आजको आवश्यकता हो ।

प्रतिक्रिया

प्रतिक्रिया