पीडित लक्षित कार्यक्रम ल्याउन नगरप्रमुखलाई ज्ञापनपत्र

स्थानीय सरकारसंग द्वन्द्व पीडितहरुले आफु लक्षित कार्यक्रम ल्याउन माग गरेका छन् । बलपुर्वक बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर पीडितहरुले आवश्यक बजेट छुट्याई परिपूरणका कार्यक्रम ल्याउन कोहलपुर नगरपालिकासंग माग गरेका हुन ।


कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई लिखित रुपमा आइतवार माग पत्र बुझाउदै पीडितहरुले द्वन्द्व सकिएको लामो समयसम्म पनि न्यायको अनुभुति गर्न नपाएको भन्दै पीडितहरुको आवश्यकता, चाहाना र सन्तुष्टि मिल्ने खालका परिपुरणका कार्यक्रम ल्याउन माग गरिएको यातना पीडित सिमा चौधरी जानकारी दिइन् ।


मागपत्र बुझ्दै नगरप्रमुख आचार्यले आफु पनि द्वन्द्वपीडित भएको र पीडितका पीडा बुझेको भन्दै पीडित लक्षित कार्यक्रम ल्याउन आफुले पहल गर्ने बताए ।


पीडितहरुद्वारा बुझाईएको मागपत्रमा पीडितहरुको यकिन तथ्याङ्क संकलन गरि उनीहरुको अवस्था बझेर पीडितहरुको आवश्यकता र चाहाना र सन्तुष्टि मिल्ने खालका कार्यक्रम ल्याउन, घाइते अपाङ्गहरु, दिर्घरोगीको औषधी उपचारको ब्यवस्था मिलाउन, न्यून आय भएकाहरुका लागी आयमुलक कार्यक्रम ल्याउन माग गरिएको छ ।


अधिकांश द्वन्द्व पीडितहरुलाई पीडाका कारण मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्या रहेकोले निशुल्क औषधी उपचार र मनोसामाजिक परामर्शका कार्यक्रम संचालन गर्न पीडितहरुले माग गरेका छन् ।


द्वन्द्व पीडित किसान सानातिना ब्यवसाय संचालन गरेका ब्यवशायीहरुको पेशालाई उकास्न आर्थिक अनुदान र आयमुलक कार्यक्रम ल्याउन माग गरेको द्वन्द्व पीडित प्रतिनिधि कौशिला कार्कीले जानकारी दिइन् ।


पीडितहरुको गुनासो सुनी नगरपालिकाले पीडितहरुलाई अभिभावकत्व ग्रहण गर्न र पीडितको सम्मान, आत्मसन्तुष्टिका लागी शहिद बेपत्ता स्मृति गेट, स्मारक पार्कको निर्माण, शहिद बेपत्ताका नाममा बाटोघाटो, पार्कको नामाकरण गर्न माग गरिएको द्वन्द्व पीडित सहिला संजालकी तिलावती खड्काले बताइन् ।


कार्यक्रमा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले पालिका भित्र बसोवास गर्ने द्वन्द्व पीडितको तथ्याङ्क संकलन गरि नगरपालिकाले अवस्था अनुसार पीडित लक्षित परिपुरणका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । पीडितहरुको माग पत्र पेश गर्ने कार्यक्रममा बोल्दै संयोजक गौतमले आफ्ना नागरिकको पीडा सम्बोधन गर्ने दायित्व स्थानीय सरकारको पनि भएकाले उनीहरु लक्षित कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया