आज आइतबारदेखि भेरी अस्पताल नेपालगन्जमा उपचाररत् विरामीहरुले निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको छ । यसअघि सट्टा रगत अथवा रक्तदाता संस्थाको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट सशुल्क रगत लिंदै आएका थिए । भेरी अस्पताल नेपालगन्जले सरकारको नीति अनुसार आज आइतबारदेखि निःशुल्क रगत अस्पतालमा उपचचाररत् बिरामीहरुलाई उपलब्ध गराउन थालेको हो । त्यसका लागि भेरी अस्पतालले रेडक्रसद्वारा क्षेत्रीय रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेको छ ।
रेडक्रसको ६० औं स्थापना दिवस पारेर आइतबार आयोजित औपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी बीच यसअघि भएको निर्णय आदानप्रदान गरेर सेवा सुरु भएको घोषणा गरिएको थियो ।
रेडक्रस बाँके सभापति गोवद्र्धन सिंह सम्झनाको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो. इस्तियाक राईले बिरामीका आफन्तलाई निःशुल्क रुपमा रगतको प्याकेट हस्तान्तरण गरी सेवा सुरु गरेका थिए ।
कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले भेरी अस्पतालबाट विपन्न तथा असहायको निःशुल्क उपचार गर्दै आएको उल्लेख गर्दै निःशुल्क रगतले उक्त वर्ग लाभान्वित हुने बताएका थिए ।
कार्यक्रममा रेडक्रसका पदाधिकारी, रक्त सञ्चार केन्द्रका कर्मचारी, भेरी अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले सरकारी अस्पतालमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने नीति अनुसार भेरी अस्पतालमा सेवा सुरु गरिएको हो । जुन अन्य सरकारी अस्पतालमा पनि बिस्तार हुने बताइएको छ ।
२०७९ साल भदौ १५ गते बिहिबारका दिन प्रदेश निःशुल्क रक्तसंचार व्यवस्थापन कार्यविधि २०७८ अनुसार अस्पताल रक्तसंचार व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निःशुल्क रगत उपलब्ध गराउने कार्यको शुभारम्भ भएको हो ।