नाथम स्थापनाबारे बहस: तत्काल कक्षा सञ्चालन गर्न दबाब

दुई बर्षदेखि कार्यालय सञ्चालन गरेपनि शिक्षा र तालिम कक्षा सञ्चालन गर्न नसकेको भन्दै पर्यटन तथा होटल अध्ययन प्रतिष्ठान (नाथम)लाई तत्काल औपचारिक शिक्षा कक्षा प्रारम्भ गर्न दबाब बढाइएको छ ।

शुक्रबार नेपालगन्ज उपमहानगरपालिकाको आयोजना नाट्टा बाँके च्याप्टरको भएको सरोकारवालाहरु बीचको छलफलमा सहभागीहरुले ‘त्यसका लागि आवश्यक सहयोग स्थानीय सरकारबाट उपलब्ध गराइने’ जोड दिए ।

प्रदेशसभा सदस्य आइपी खरेलले राजनीतिक दलहरुकै प्रयासबाट स्थानीय सरकारले जग्गा उपलब्ध गराएको नाथमलाई आवश्यक परे स्थानीय सरकार तथा प्रदेश सरकारबाट सहयोग उपलब्ध हुने विश्वास दिलाए । ‘तर के, कति कारणले कक्षा सञ्चालनमा ढिलाई भैरहेको छ, त्यसलाई तत्काल समाधान गरेर अगाडि बढ्न जरुरी छ’, प्रदेश सभा सदस्य खरेलले भने, ‘यो वा त्यो वहानामा नाथमलाई निष्क्रिय बनाउनु पर्ने काम भएन ।’

‘आवश्यक पर्यो भने भौतिक पूर्वाधारका लागि पनि अरु विकास निर्माणका काम रोकेर पनि हामी लगानी गर्छौ’, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले भने, ‘एकाध सडक बन्नु भन्दा नाथम सञ्चालनमा ल्याउनु जिल्लाको विकासमा महत्वपूर्ण हुन्छ ।’ उनले नाथमलाई भुगोलका रुपमा नेपालगन्जमा स्थापना गर्न लागिएपनि यसले सिंगो बाँके जिल्लालाई योगदान दिने धारणा राखे । ‘त्यसका लागि जिल्लाले अपनत्व लिंदै सबै स्थानीय तहबाट सहयोग हुन्छ भन्नेमा म विश्वस्त छु’, विष्टको भनाइ थियो ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यले स्पष्ट कार्यविधि बनाएर प्रस्तुत गर्न सके स्थानीय सरकारका तर्फबाट कोहलपुरले निश्चित विद्यार्थीलाई सशुल्क नाथम पठाउन सक्ने बताए । ‘तर, स्थानीय सरकारले आर्थिक रुपमा सहयोग गरोस् भनेर अपेक्षा गर्नुभन्दा अरु समन्वय र सहकार्यका मोडेल तयार गर्नु उचित हुन्छ,’ आचार्यको सुझाव छ । उनले कक्षा सञ्चालनका लागि ढिलाई गर्न नहुने प्रष्ट पारे ।

कार्यक्रममा नाथम नेपालगन्ज कार्यालय प्रमुख विपिन नेपालले प्राविधिक प्रस्तुति गरेका थिए भने नाथमका प्रिन्सिपल राम कैलास वृक्षाले समग्र नाथमबारे जानकारी दिंदै कक्षा सञ्चालनका लागि तयारी र आवश्यकता बारे जानकारी दिए । ‘यसैबर्षबाट नन एकेडेमिक तालिम सुरु गर्छौ’, प्रिन्सिपल वृक्षाले भने, ‘अर्को शैक्षिक सत्रदेखि कुनै हालतमा औपचारिक कक्षा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौं ।’

निजी क्षेत्रबाट होटल म्यानेजमेन्ट कक्षा सञ्चालन गरिरहेका ब्राइटल्याण्डका सञ्चालक डा. अवनिन्द्र दत्त मिश्रले नाथमबाट दिइने शिक्षा उच्च सहुलियतको हुनुपर्ने धारणा राखे । ‘निजी क्षेत्रको भन्दा सरकारी सेवा, सुविधामा आकर्षक हुनुपर्यो’, डा. मिश्रको भनाइ थियो, ‘अनिमात्रै हाम्रो राजश्वबाट नाथम सञ्चालनको अर्थ हुन्छ ।’

नाट्टाका निवर्तमान केन्द्रीय अध्यक्ष अच्यूत गुरागाई, बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले नाथमको पूर्व अध्ययनदेखि पूर्वाधारका लागि गरिएका पहल र प्रयासबारे जानकारी दिंदै राजनीतिक दल र स्थानीय सरकारको इच्छा शक्तिले मात्रै यसले साकार पाउने बताए । ‘त्यसका लागि राजनीतिक दलको अग्रसरता जरुरी देखिन्छ’, लायन्स लिडर मधुसुदन शर्माले भने, ‘सबैको सहकार्यबाट तत्काल यसलाई सञ्चालनमा ल्याउन लागि परौं ।’

नेपालगन्ज उद्योग वाणिज्य महासंघका महासचिव चिरञ्जीवि ओली, ग्रिन नेपालगन्ज क्लिन नेपालगन्जका अभियन्ता डा. विनोद कर्ण, पर्यटन विज्ञ रामजी पाठक, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण पौडेल, लायन्स लिडर मुकुट अर्याल, पर्यटन व्यवसायी देवानन्द अर्याल लगायतले नाथमको रोडम्याप प्रष्ट पारेर अगाडि बढ्न सुझाव दिए ।

प्रतिक्रिया

प्रतिक्रिया