यतिबेला सत्ता पक्षको गठबन्धन र विपक्षी दलका गठबन्धनका सम्भावित उम्मेद्वारद्वय मो.इस्तियाक राई र डा.धवल शम्शेर राणा छन् । दुवै नेपालगन्जमा पटक–पटक ’टेष्टेड’ र ’फेलर’ पात्रका रुपमा चित्रण भइरहेका छन् । त्यसको आधार उनिहरुले जनताको रोजमर्राको विषयमा टेवा पुग्ने गरी काम गर्न नसक्नु नै हो ।

बसन्त कुमार उपाध्याय
नेपालगन्जको गर्मी मौषमले विस्तारै कोल्टे फेर्न लाग्दै गर्दा राजनीतिक सरगर्मी भने बढ्न थालेको छ । कारण हो आसन्न मंसिर ४ को निर्वाचन ।
नेपालगन्जका चोक र गल्लीहरुमा यतिबेला बहसको विषय छ क्षेत्र नं. २ । छत्तिसको आँकडामा राजनीतिक दूरि नापी रहेका दुई चर्चित अनुहार वर्तमान क्याबिनेटका मन्त्री मो.इस्तियाक राई र निवर्तमान नेपालगन्ज नगर प्रमुख धवल शम्शेर राणा आउँदो चुनावमा आमने सामने हुँदैछन् ।
यी दुवै पात्रहरु कुन दलमा रहन्छन् भन्ने सैद्धान्तिक बहस छैन नेपालगन्जमा । चर्चा दुई जना ब्यक्तिको ब्यक्तित्वको छ । यी दुवैलाई पराजित गरेर अर्को कुनै अनुहारले चुनाव जित्न पनि सक्छ भन्ने अर्को थरी बहस पनि नेपालगन्जमा चल्न शुरु भएको छ । तर त्यस्तो अनुहार,दल वा स्वतन्त्र को त ? जवाफका लागी उम्मेद्वारी दर्ता सम्म कुर्नै पर्ने अवस्था छ ।
बाँके क्षेत्र नं.–२ नेपालगन्जले संघ (सासंद)मा नयाँ जन प्रतिनिधि चुन्न जरुरी छ भन्ने बहस चल्न थालेको भर्खरै हो । लोकतन्त्रमा राजनीतिक अतिवादका प्रतिनिधि पात्रलाई जन प्रतिनिधि बनाइनु हुँदैन । यी दुवै त्यो प्रवृति बोक्ने पात्र हुन् ।
यतिबेला सत्ता पक्षको गठबन्धन र विपक्षी दलका गठबन्धनका सम्भावित उम्मेद्वारद्वय मो.इस्तियाक राई र डा.धवल शम्शेर राणा छन् । दुवै नेपालगन्जमा पटक–पटक ’टेष्टेड’ र ’फेलर’ पात्रका रुपमा चित्रण भइरहेका छन् । त्यसको आधार उनिहरुले जनताको रोजमर्राको विषयमा टेवा पुग्ने गरी काम गर्न नसक्नु नै हो ।
यी दुवैले प्रतिनिधित्व गर्ने दलहरुको ठोस राजनीतिक अडान पनि छैन । सांसद संख्याका आधारमा सत्ताका लागी जतिबेला पनि टुक्रन्छन र जुट्छन भन्ने दृष्टान्त काफी छ । जनता प्रति उत्तरदायी पनि देखिंदैनन । यी दुवै आत्म केन्द्रित छन् । यस्तो प्रवृत्ति बोकेका जनप्रतिनिधिले जन उत्तरदायित्व बहन गर्न सक्दैनन् भन्ने विषय यतिबेलाको बहसमा छ । हुनुपनि पर्छ । परिवर्तनका लागी यी दुवै भन्दा अर्को नयाँ जन प्रतिनिधि चयन गर्नु पर्दछ भन्ने आवाज मुखरित हुँदै पनि छन् ।
पटक–पटक जन प्रतिनिधि भएकाहरुबाट नागरिकको दैनिक जिवनयापनमा सघाउन गरेका काम केलाउँ त ! राज्य संयन्त्रबाट प्रक्रियागत रुपमा आउने बजेट देशभरी नै वितरण हुन्छन् । बाँकेमा सिक्टा सिंचाई कसरी आएको जगजाहेर नै छ, त्यसकै कन्त विजोग देखिन्छ । सडक र ढल निर्माणमा एडीबीको लगानी थाह भएकै कुरा हो । बाँके त्यसमाथि पनि नेपालगन्जमा कुन चाहिं जनप्रतिनिधिले कुनै ’मेगा प्रोजेक्ट’ ल्याएका छन् त !
विकास सँगै यहाँको बेरोजगारी माथि हल खोजेका छन् । छन् त केवल फलानोको सरुवा,बढुवा,काज,विभाग,पुरस्कार…
क्षेत्र नं. २ का मतदाताहरु संसद र प्रदेशमा जन प्रतिनिधि चुन्दा ’एक पटक होइन पटक–पटकका जनप्रतिनिधिको कामको सूची मागौं अनि मुल्याकंन गरौं त्यसपछि मतदान गरौं भन्ने’ विषय नै चुनावी मुद्दा हुन सक्ने देखिन्छ ।
सत्ता गठबन्धन र विपक्षीको गठबन्धन दुवै थरीको गठबन्धनले कतिपय राजनीतिक दलका जिल्ला तहका कार्यकर्ताहरुको सलल बगिरहेको राजनीतिक जीवनमा विराम लाग्ने पक्का छ । अर्कातर्फ मतदाता गठबन्धनका नाममा मतदान गर्न बाध्य पारिदैं छन् ।
दोश्रो जनआन्दोलन २०६२–६३ पछि यस्को शुरुवात हुन थाल्यो, जनआन्दोलन नै एक खालको गठबन्धनबाट भयो । २०७४ मा वाम गठबन्धनले गरेको थियो । त्यसयताका वर्षहरुमा वाम गठबन्धनले ’बाँ’ गरिरहेको अवस्था छ ।
फेरि विगतलाई फर्केर बाँके नियाल्ने हो भने २०४८ सालको आम निर्वाचनमा बाँके ३ क्षेत्रमा नेपाली काँग्रेसले सबै सिट जित्यो । २०५१ सालमा बाँकेका मतदाताको मुड बदलियो निर्वाचनमा सबै क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जीत दर्ज गर्यो । २०५६ सालमा स्थितिमा फेरि बदलाव आयो । २०५६ सालमा बाँकेका तिनवटै क्षेत्रमा नेपाली कांग्रेसले सफलता पायो । २०५६ सालको एउटा विषेशता थियो उक्त निर्वाचनमा देशभरी कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी भएनन् ।
२०६४ सालको संविधान सभा निर्वाचनमा क्षेत्र नं. १ बाट माओवादी, क्षेत्र नं. २ बाट मधेसी जनाधिकार फोरम र क्षेत्र नं. ३ बाट पनि मधेसी जनाधिकार फोरम विजयी भयो । सर्वदेव ओझाले सुशील कोइरालालाई रोमाञ्चक रुपमा हराएका थिए । क्षेत्र नं. ४ बाट माओवादी विजयी भए ।
गत २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं. १ मा माओवादी, क्षेत्र नं. २ मा तत्कालिन संघीय समाजबादी फोरमले जीत निकाल्यो । जीत निकाल्न वाम गठबन्धनलाई जबरजस्त चुनौति दिए फोरमका मो. इस्तियाक राईले । फोरमका राईले २१ ह्जार पाँच सय ७५ मत वाम गठबन्धनका पशुपतिदयाल मिश्रले १५ हजार ९५१ मत र काँग्रेस–राप्रपा गठबन्धनका ओमप्रकाश आजादले ११ हजार ६२२ मत पाएका थिए । यस अघि २०७० सालमा बाँकेका तीन सिटबाट नेपाली कांग्रेस,फोरम र माओवादीले जीत हाँसिल गरेका थिए ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडागत मतका आधारमा बाँके २ नं. क्षेत्रमा कांग्रेस १८०३७, एमाले १५४७८, जसपा १३८०९, राप्रपा ८४९४, माओवादी ६८५९, एस ८२१, लोसपा ५६४ मत पाएका थिए । नेपालगन्ज उपमहानगरपालिकाका २३ वटा वडामध्ये जनता समाजवादी पार्टीले ६, नेपाली कांग्रेस र नेकपा एमालेले ५–५, नेकपा माओवादी केन्द्रले ४ र राप्रपाले ३ वटा वडाध्यक्ष जितेको छ ।
सत्ता पक्ष र विपक्षको गठबन्धनको राप के सबैतिर एकै खालको पर्ला त ? पेचिलो प्रश्न यो हो । उदाहरणका लागी प्रधानमन्त्री तथा कांग्रेस सभापतिको जिल्ला डडेलधुरामा गठबन्धन नगर्ने त्यहाँको कांग्रेसले भनिरहेको चर्चा छ ।
नेपालगन्जमा एमाले र राप्रपाको गठबन्धनको सम्भावना बढेको छ । कुनैबेला एमालेबाट मेयर जितेका डा.धवल शम्शेर राणा यतिबेला राप्रपामा छन् । के उनको सहजताका लागी विपक्षी दलको गठबन्धन सहज छ त ? यदि गठबन्धन भएमा एमालेबाट त्यो तहको इमान्दारिता देखिएला त ?
हुन त भनिन्छ राजनीति सम्भावनाको खेल हो । बाँके कांग्रेसले गठबन्धनको नाममा २०७४ सालमा पार्टी सभापति स्व.सुशील कोइराला लड्ने सिट छाडेर राप्रपालाई सघायो । परिणाम सुखद थिएन । यसरी बाँके उही अनुहार र उस्तै प्रवृत्तिको नेतृत्वबाट निकास खोज्न चाहिरहेको अवस्था छ ।










