यी हुन् बाँकेमा एमालेका आकाँक्षी

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले बाँकेले उम्मेदवार छनोट सिफारिस प्रक्रिया एकसाथ अगाडि बढाएको छ । एमाले केन्द्रले दिएको निर्देशन अनुसार, देशव्यापी रुपमा शनिबार प्रदेश कमिटि बैठकले इच्छाएको उम्मेदवारहरुको सूचि तयार गरी क्षेत्रलाई पठाएको हो ।

‘क्षेत्रले प्रदेशबाट आएको प्रदेशसभा सदस्यका आकांक्षीको सूचि र प्रतिनिधिसभा सदस्यका आकांक्षीको नाम छलफल गरी जिल्लालाई पठाउने छ’, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले ६ वटै प्रदेश कमिटिले निर्णय गरिसकेको जानकारी आफुले पाएको बताउँदै भने, ‘क्षेत्रीय कमिटिले आइतबार आफ्नो काम पूरा गर्नेछन् ।’

भोलि सोमबार जिल्ला कमिटिको बैठकले समानुपातिक उम्मेदवारहरुसँगै क्षेत्रबाट आएका नाम प्रदेश पठाउने छ । ‘आएका नामहरुलाई काटपिट गर्ने भन्दा सुझाव सहित प्रदेश पठाइने छ’, अध्यक्ष कक्षपतिले दैनिक नेपालगन्जसँग भने, ‘आवश्यक निर्णय अधिकार प्रदेशलाई नै छ ।’

शनिबार बसेको एमाले बाँके क्षेत्र नं. १ अन्तर्गत प्रदेश कमिटिले क बाट ६ जना र ख बाट ७ जनाको नाम सिफारिस गरेको छ । क्षेत्रीय पार्टी इन्चार्ज बलराम भट्टराईका अनुसार, क बाट अधिवक्ता रामकुमार दीक्षित, परशुराम थारु (विराज), तिर्थ डाँगी, सोहनलाल यादव, विक्रम यादव र पुमा डाँगीको नाम सिफारिस गरिएको छ ।

ख बाट दुर्गा प्रसाद चौधरी सहित ७ जनाको नाम सिफारिस भएको इन्चार्ज भट्टराईले जानकारी दिए । उनका अनुसार, नरेन्द्र प्रसाद शर्मा, अनिता पौडेल, विष्णु वेल्सासे, विजुला अधिकारी, कुश्माखर बस्याल र सुर्य रोकायको नाम सिफारिसमा परेको छ ।

एमाले क्षेत्र नं. २ मा क बाट बिक्रम यादव, राजेन्द्र कंडेल र विष्णु भण्डारीका नाम सिफारिस गरिएको क्षेत्रीय इन्चार्ज अशोक कर्माचार्यले जानकारी दिए । कर्माचार्यका अनुसार, ख बाट निरक गुरुङ, कृष्ण प्रसाद श्रेष्ठ, दत्त प्रसाद आचार्य, हलिम शाह, कैलास यादव, हकिम हलवाई, मनोज बर्मा र मिना ढकालको सिफारिस गरिएको छ ।

बाँकेको प्रदेश सभा–३ क र ख बाट एमालेका ११ जना सिफारिसमा परेको क्षेत्रीय संयोजक भीम ओलीले जानकारी दिए । उनका अनुसार, प्रदेश सभा–३ ‘क’ बाट मात्र एमालेले ७ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभा–३ ‘क’ कार्यसमितिले शनिबार उनीहरुको नाम सिफारिस गरेर पठाएको हो ।

एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ मानबहादुर रुचाल (ठकुरी), चन्द्र चौधरी, करिम खाँ, इन्द्र थापा, प्रेम सुवेदी, विश्वकान्त गौतम र पुनित शाहको नाम सिफारिस गरिएको छ । यस्तै प्रदेश सभा–३ ‘ख’ बाट ४ जना सिफारिसमा परेका छन् । प्रत्यक्ष तर्फबाट पदम धिताल, डिल्ली बिसी, भिम ओली र मिरा खनालको नाम सिफारिस गरिएको हो ।

आज आइतबार बस्ने क्षेत्रीय कमिटिले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट सिफारिस गरी जिल्लामा पठाउने एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

पार्टी सम्बद्ध स्रोतका अनुसार, क्षेत्र नं. १ बाट सुर्य ढकाल र बलराम भट्टराईले दाबी गरिरहेका छन् । क्षेत्र नं. २ मा दाबेदारका रुपमा चर्चा गरिएका मो. हारुन हलवाई बाहेक बाँकीले प्रदेशसभा ताकेपछि एक्लो नाम बाँकी छ । ‘गठबन्धन निश्चित जस्तो भएपछि उम्मेदवारको खडेरी देखियो’, पार्टी नेता भन्छन्, ‘कसैले पनि अहिलेसम्म पार्टीमा दाबेदारी गरेका छैनन् ।’ सम्भवत मो. हारुनको मात्र नाम दाबेदारका रुपमा रहेको बताइएको छ ।

निर्वाचन क्षेत्र नं. ३ मा जिल्ला पार्टी अध्यक्ष कक्षपति र सचिव रत्न खत्रीले दाबेदारी गरेका छन् । अर्का दाबेदार भीम ओलीलाई प्रदेशमा सिफारिस गरिएपछि दुई जनाको नाम जाने सम्भावना रहेको पार्टी स्रोतको भनाइ छ ।

क्षेत्र नं. २ मा भने बाँकेमा राप्रपासँग गठबन्धनपछि डा. धवल समशेर राणालाई समर्थन गर्ने सम्भावना बढेको एमाले नेताहरु स्वीकार गर्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया