नीजि विद्यालयको शिक्षा कि साक्षरता ?

नेपालमा चलेको नीजि विद्यालयहरुको शिक्षा पद्धतिले बालबालिकालाई साक्षर खुब बनाएको छ तर शिक्षित बनाएको भने कमै पाइएको छ । मैले विगत १७ बर्षमा पाएको ब्यक्तिगत अनुभव यहि हो । हुन त शिक्षा के लाई भन्ने ? साक्षरता के लाई भन्ने ? यसबारेमा आआफ्ना मान्यता होलान । व्याख्या होलान । परिभाषा होलान् । नीजि विद्यालयका आफ्ना पनि दाबा होलान् । अन्तराष्ट्रिय मान्यता र परिभाषा पनि होलान् । तर ती सबै मान्यता र परिभाषाले नेपाल र नेपालीत्व अर्थात राष्ट्र प्रथम कहिँ पनि पढाउँदैनन् । त्यसैले मेरो यी सबै परिभाषा भन्दा भिन्न परिभाषा र मान्यता रहेको छ ।

देश पढाउने, देशको धर्मसँस्कृतिप्रति आदर सिकाउने, देशको भूगोल इतिहास मूल्य र मान्यताहरुलाई पढाउने कामले विद्यार्थीलाई शिक्षित बनाउँछ । आफ्नो पूर्खाको ज्ञानपरम्परालाई जीवनउपयोगी शिक्षाका रुपमा समृद्ध गर्दै जाने र त्यसलाई संसारमा परिचित एवं स्थापित गराउन सक्ने शिक्षाले हरेक नागरिकलाई शिक्षित बनाउँछ भन्ने मेरो मान्यता हो । आफ्नोपन, पूर्खाको पौरख, आफ्नो गौरवलाई अपमान गर्ने, नेपाली मौलिकतालाई गाली गरेर प्रगतिशील हुने मान्यता राख्ने शिक्षाले कसैलाई पनि शिक्षित बनाउँदैन । केहि भाषागत र शुत्रगत अक्षरहरुको चिनारी होला । विदेशीको गुलामी गर्ने सीप देला । सँस्कारबिहिन बनेर बिहान बेलुकीको छाक टार्ने मेसो बन्ला । यो त मात्रै साक्षरता हो । यसलाई शिक्षित बनाएको भन्न मिल्दैन ।

नेपालका नीजि विद्यालयको शैक्षिक पद्धतिमा देखिएको साझा तौर तरिका भनेको विद्यार्थीहरुलाई परीक्षा केन्द्रित घोकाइ हो । सुगा रटाई प्रबृति हो । प्रश्नोत्तर लेखाइ दिने र त्यसबाट परीक्षा हुन्छ भनेर निश्चित पान्नामा सीमित गर्ने प्रचलन हो । पुस्तकहरुको भारी भरकम झोला बोकाएर निश्चित पन्नामा तयार प्रश्नहरुबाट परीक्षा लिने र अँग्रेजी जानेपछि सभ्य भइन्छ भन्ने शिक्षाको गुणस्तर हो भन्दा अतिशोक्ति हुँदैन । अपवादको रुपमा केहिले केहि फरक गरेका छन् । छैनन् भन्न मिल्दैन । तर जहाँसम्म धेरैको साझा तौर तरिका यहि नै हो ।

तीन दशक पहिला सिद्धार्थ बनस्थलीका एकजना शिक्षकको कुरा सुनेर मलाई नीजि विद्यालयप्रतिको मोह जागेको थियो । समयले मलाई नीजि विद्यालयको लगानीकर्ता भएर शिक्षा प्रदान गर्ने अवसर मिलाइदियो । यो अवसर मिलेकोमा दंङ्ग भएको पनि थिएँ । तर नीजि विद्यालयलाई हेर्ने समाज, राजनीतिक पार्टीहरु र यसका भातृसंगठनहरुको दृष्टिकोणबाट झन पीडाबोध भयो । नीजि विद्यालय सञ्चालकलाई कतिपय राजनीतिक दलका नेता कार्यकर्ताहरुले भन्ने शैक्षिक माफिया, लूटेरा, ठग जस्ता उपमाहरुले मेरो मनमा नीजि विद्यालय खोल्नु, यसमा लगानी गर्नू भनेको त समाजको सबैभन्दा घृणित व्यक्ति बन्नु पो रहेछ भन्ने लाग्नु अश्वभाविक थिएन ।

नीजि विद्यालयको एउटा शिक्षक, लगानीकर्ता भएर पाएको र कमाएको समाजिक उपाधि शायदै मेटिन्छ होला । मैले यो बिषयमा गहिरो अध्ययन गर्ने प्रयास गरें । समाजमा एउटा शिक्षालयप्रतिको यत्रो दोषारोपण, तुच्छ दृष्टिकोण बन्नु या बनाइनुको बारेमा पनि खोजें । मेरो आफ्नो अनुभव, आफ्नो अनुसन्धान, आफ्नो बिगत १७ बर्षको भोगाइले मलाई यो निक्र्यौल गर्न कुनै कठिनाइ भएन कि हामीहरु आफैले आफ्नै ब्यवहारले गर्दा नै सबैभन्दा बद्नाम भएका छौं । हामीमा कुनै चरित्र निर्माणको यहसास छैन । राष्ट्र र समाजप्रतिको कुनै कर्तव्यबोध छैन । देशको इतिहास, भूगोल, भाषासँस्कृति, स्वाभिमान, मौलिकता र देशको माटोप्रतिको आर्कषण छैन । आफ्नो माटो सुँघेर बास्ना आउने शिक्षाको आवश्यकता ठानेका छैनौं ।

अँग्रेजी त नितान्त भाषा हो । यो कुनै विज्ञान होइन । शास्त्र अध्ययन होइन । देशको परम्परा र सँस्कृतिको अनुसन्धान पनि होइन । यसबाट देशको सीमाको रक्षा हुने पनि होइन । यसले बालबालिकाहरुलाई देशप्रति माया गर्न सिकाउने वाला पनि छैन । यो कुनै कला पनि होइन । यसले युवालाई पौरखी बनाउन सिकाउँदैन । अँग्रेजीले त नेपाल नेपालीत्व प्रति घृणा गर्न, नेपाली सँस्कृतिको तेजोबध गर्न सिकाएको छ । तर हामीहरुले यहि अँग्रेजीलाई नेपालको सबैभन्दा ठूलो शैक्षिक उपलब्धि भन्दै विज्ञापन गरेका छौंैं । यसलाई भजाएर आजसम्म गरिखाएका छौं ।

आजसम्म पौरख गर्ने बानी सिकाएका रहेनछौं । नैतिकताको सिकाइ गराएका पनि रहेनछौंैं । अढाइ बर्षको नहुँदै तोते बोलिमै अर्कैको स्तुतिगान गर्नबाट शुरु गरेर अर्कैको इतिहास भूगोल, भाषा र सँस्कृतिलाई उच्च र वैभवशाली ठान्ने, आफ्नो भाषाप्रति घृणा गर्न सिकाउने चरित्र निर्माण गर्ने शिक्षा दिएर शैक्षिक गुणस्तरको डम्फु बजाउने पद्धतिले हाम्रा शैक्षिक संस्थाहरुको गुणस्तर मापन गर्न थालेका रहेछौं । घाँटीमा कण्ठलगौंटी (टाइ) लगाएर, कपडामा धुलो लाग्यो भने छिः छिः गर्न सिकाएर सभ्य भएको स्वाँङ्ग पार्न सिकायौं । आमालाई भान्सामा सहयोग नगर्ने छोरी र बाबुलाई बारीमा सहयोग नगर्ने छोरालाई वाह ! ‘एक्सिलेन्ट’ ! भनेर उसका काँधमा ढाप मार्यौ । माटो र गोबर गन्हाउने, आफ्नो कक्षाकोठा र आफुबस्ने बेन्च समेत पुच्छ घिनाउने उत्कृष्टहरु तयार गरेर सरसफाइको पुरस्कार बाड्यौं । घरमा पकाएको खाजालाई वाहियात र खान नहुने भन्दै पत्रुखाना (जंकफुड) लाई हाइजेनिक फुड भनेर घोक्न लगायौं । आफ्नो जुत्ता पालिस गर्न त के जुत्ताको तुनासमेत आफैले बाँधिदिएर, कण्ठलगौंटीको गाँठोसम्म आफैले बाँधिदिएर, तोकेका प्रश्नहरु घोकाएर पढाइ र अनुशासनमा अब्बल भएको प्रमाण पेश गर्यौं ।

लिपिबद्ध र क्रमबद्ध लेखेको ठसठस्ती कनेर पढ्ने र आफ्नो भाषामा सयसम्मको अंक पनि नचिन्ने नजान्ने बनाएर निकै जान्ने भएको साक्षर बनायौं । एउटा फर्मेटमा दगुर्न लगाएर, अँग्रेजीका चार शब्द जान्ने बनाएकै भरमा जीवन र जगतभन्दा पर पुर्यायौं । यसैलाई शैक्षिक गुणस्तरको भाष्य निर्माण गर्यौं ।

नीजि विद्यालयको सिको गर्दै सरकारी विद्यालय र सरकार समेतले अँग्रेजीलाई नै गुणस्तर मान्यो र सरकारी विद्यालयमा समेत यस्तै पद्धति चलाएर नमूना विद्यालयहरु बनाउन थाल्यो । यसलाई हामीहरुले आफ्नो जित ठान्दै समाजमा निकै ठूलो शैक्षिक ज्ञाता भएको भन्दै आफ्नै काँध आफै थपथपाउन थाल्यौं । हामीले गर्दा सरकारले नै आफ्ना विद्यालयहरुको पढाइमा परिवर्तन ल्याएको भनेर मख्ख पर्दै हिँडेका पनि छौं । सँगसँगै अब हाम्रा विद्यालयहरुमा सौता पस्यो सरकारी विद्यालयले नीजि विद्यालयले गर्ने सबै पद्धति अपनाउन थाल्यो अब हाम्रो ्शैक्षिक दोकानमा ग्रहण लाग्ने भो भन्दै फलाक्दै हिँड्न पनि थालेका छौं ।

हामीमा अब फेरि फर्केर आफ्नो माटोतिर आउने शाहस छैन । किन कि हामीमा नेपाल, नेपालीत्व, नेपाली अस्मिता, नेपाली मौलिकता, पूर्खाको शीप, ज्ञान परम्परामा विश्वास नै छैन । हामीलाई आफ्नो माटो गन्हाउँछ । आफ्नो भाषा असभ्य लाग्छ । आफ्नो सँस्कृति पाखण्ड लाग्छ । पौरख गरेर, उत्पादन गरेर खेतमा काम गरेर खानेहरु भिखारी लाग्छन् । हाम्रो अहंकारले हामीलाई अब त्यतातिर फर्किन दिँदैन । त्यस्तो शिक्षा दिन पनि हाम्रा अभिभावकलाई प्रोत्साहन गर्नै चाहन्नौं किनभने हामीले आफ्ना छोराछोरीलाई नै ‘यो देशमा तेरो केहि भविष्य छैन’ भनेर सिकाएका छौं । आफ्नो देश छोडेर अमेरिका, यूरोप, अष्ट्रेलियामा पुगेर ग्यास स्टेशन, सुपरमार्केटहरुमा एटेन्डेन्टको घण्टे ज्यालादारीलाई अब्बल ठानेका छौं । अस्पतालको फोहर सफा गर्ने देखि घरमा बुढाबुढी स्याहर गर्ने काम गरेर एउटा बर्गर र एक क्यान बियरका भरमा जिन्दगी काटेका आफ्नै विद्यार्थीहरुलाई ‘वहाँ पुगे त्यहाँ पुगे गरि खाए तिमीहरुले पनि त्यस्तै गर्नुपर्छ’ भन्दै चार पाँच कक्षाबाटै सिकाउन थाल्छौं । उनीहरु कै उदाहरण पाठको बिचबिचमा दिएर सफलताको कु्ञ्जी बाँड्छौं ।

यो सत्य सुन्ने साहस मेरै पेशाका धैरै मित्रहरुमा छैन । यो लेखपछि मैले पाउने पगरी अवश्य पनि चानचुन हुनेछैन । तर यो मेरो आफ्नो नीजि अनुभवले सिकाएको भोगाएको सत्य हो । आफ्नो आफ्नो मूल्याङ्कन हो । कसैले नीजि विद्यालय भन्दा राम्रो शिक्षा दिने संस्था अरु छैन भन्न पाउँछ । त्यो उसको नीजि कुरा हो । यसमा कुनै नीजि विद्यालय सञ्चालकले बिभिन्न उपमा दिएर ‘पेशागत हित बिपरित वा आफै नीजि विद्यालय सञ्चालक भएर आफैलाई किन यस्तो भनेको ?’ भन्छ भने पनि कुनै गुनासो छैन । संसारमा सत्य त जतिसुकै बंङ्ग्याए पनि सत्य नै हुन्छ । यो त न लुक्छ, न लुटिन्छ । यो सत्यलाई बदल्न त अर्को सत्य निर्माण गर्नुपर्छ । जुन सत्यले यो सत्यलाई मित्थ्या बनाइदेओस् । मेरो चाहना पनि नीजि विद्यालयको यो सत्य बदलियोस् भन्ने नै हो । ताकि सबैले गर्व गर्नसकुन कि नीजि विद्यालयले नेपालित्व र नेपाली अस्मिताको रक्षामा बालबालिकालाई शिक्षित बनाएको छ भनेर । हामीले हाम्रा शिक्षालयहरुमा साक्षरहरु मात्रै होइन शिक्षित पनि उत्पादन गराएका छौं भन्ने दिन आओस् ।

प्रतिक्रिया

प्रतिक्रिया