पेस्तोल र हतियार सहित एक जना पक्राउ
कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक सहर हुने कानूनी प्रावधान विपरीत बाँकेमा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमाना, असुरक्षाको अवस्था र वन जंगलमा भइरहेकोको चोरी शिकारीले बाँकेमा अवैध हतियारले सुरक्षा चिन्ता बढाएको छ । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकिएको छ । निर्वाचनका बेला हातहतियार भेटिनुले थप चिन्ता सुरक्षा अधिकारीहरुमा थपेको छ ।
नरैनापुर गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय भगवानपुरले बुधबार मात्रै १ जना व्यक्तिलाई दुई थान हतियार र त्यसमा प्रयोग हुने विष्फोटक पदार्थ सहित नियन्त्रणमा लिएको छ । प्रहरीले दिएको जानकारी अनुसार, नरैनापुर गाउँपालिका वडा नं. १ बानियागाउँ स्थित छब्बीलाल केवटको घरमा अवैध हातहतियार लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचना प्राप्त गरेको प्रहरीले छापा मार्दा हतियार फेला परेको हो ।
ईलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेबाट प्रहरी निरीक्षक विर बहादुर सुनारको कमाण्डमा ईलाका प्रहरी कार्यालय सुईया बगौडा बाँके र प्रहरी चौकी लक्ष्मणपुर बाँके समेतको संयुक्त प्रहरी टोलीले छब्बीलाल केवटको घरमा छापा मार्दा कटुवा पेस्तोल थान १ , भरुवा बन्दुक लोडगरी राखेको नाल १ , बारुद अं. १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम, पटाका ९ थान बरामद गरेको हो । प्रहरीले केवटलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान अगाडि बढाएको छ ।
भारतसँग खुला सीमा जोडिएका कारण सहजै साना हतियार नेपाल भित्रिने गरेको पाइन्छ । भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग हुने गरेको छ । मानिसहरुलाई धम्क्याउन, चोरी शिकारी गर्नका लागि अवैध हतियार भित्र्याउने गरिन्छ ।
खुला सीमाना रहेकाले बाँकेमा अवैध हतियार भित्र्याउन अपराधिक प्रवृत्तिको व्यक्तिलाई सहज रहेको छ । खुला सीमा र नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति र भारतमा सहजै उपलब्ध हुने साना हतियार नेपालको सुरक्षा व्यवस्थामा चुनौति बन्दै गएको पछिल्ला थुप्रै उदाहरण पाइन्छ । भारतबाट साना हतियार ल्याउने बाँके तथा यहाँबाट अन्य जिल्लामा लगेर बिक्री गर्ने अपराधिक घटना घटाउने गरेको पाइन्छ ।
यस्तो छ, मुद्दाको तथ्यांक
बाँकेमा बेलाबखत साना हतियारहरु फेला पर्ने गरेका छन् । अपराधिक घटनाका लागि भित्र्याइने त्यस्ता हतियारहरु प्रहरीले नियन्त्रणमा लिएर हातहतियार तथा खरखजानामा मुद्दा चलाउँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँकेमा हतियार सम्बन्धी आ.व. ०७५÷०७६ मा ५ वटा, आ.व. ०७६÷०७७ मा ५ र आ.व. ०७७÷०७८ मा बढेर १३ मुद्दा दर्ता भएका छन् । आ.व. २०७८÷०७९ को बैशाखसम्म ६ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांक रहेको छ ।
त्यस्तै, बाँके जिल्ला अदालतमा आ.व. २०७८÷०७९ मा हातहतियार तथा खरखजाना सम्बन्धी १७ वटा मुद्दा रहेको थिए । जसमा जिम्मेवारी सरी आएका ५ र नयाँ दर्ता १२ वटा रहेको अदालतको तथ्यांकले देखाएको छ । उक्त आ.व.मा अदालतले १४ वटा मुद्दा फैसला गरेको थियो भने ३ वटा बाँकी राखेको थियो ।