स्थानीयस्तरमै मनोसामाजिक सेवा विस्तार गर्न विज्ञको सुझाव

बढ्दो मानसिक स्वास्थ्य समस्यालाई मध्यनजर स्थानीयस्तरमै मनोसामाजिक सेवा विस्तार गर्न सम्बन्धित विज्ञले सुझाव दिएका छन् ।

नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा सहभागी हुन आएका मानसिक अस्पताल, लगनखेलका वरिष्ठ मनोचिकित्सक डा. बासुदेव कार्कीले नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको सन्दर्भमा प्रतिक्रिया दिंदै स्वास्थ्य क्षेत्रका व्यवस्थापकहरुले त्यसतर्फ सोच्नुपर्ने औल्याए ।


स्थानीय तहमा मानसिक स्वास्थ्य र मनोसामाजिक सेवा विस्तारका निम्ती कार्यक्रम ल्याउन सुझाव दिंदै त्यसको आवश्यकता औल्याएका डा. कार्कीले दैनिक नेपालगन्जको एउटा जिज्ञासामा भने, ‘आत्महत्याको डरलाग्दो तथ्यांकले यस विषयलाई जनसरोकारको सवालका रुपमा स्थानीय तहले प्राथमिकताका साथ कार्यक्रम बनाउनुपर्ने देखिन्छ ।’
नेपालगन्जमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक कार्यक्रमका निम्ती आवश्यक क्षमता अभिवृद्धि तालिम आयोजना भएको छ । सोही तालिमका लागि डा. कार्की नेपालगन्ज आएका हुन् ।


सुदुरपश्चिम एंव कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयको समन्वय र फेल्म नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले ३ दिने क्षमता अभिवृद्धि तालिम संचालन गरेको होे ।


सी.एम.सी – नेपालद्धारा २ प्रदेशका ७ स्थानीय तहमा संचालित वैदेशिक रोजगारमा गएका व्यक्ति र तीनका परिवारका सदस्यहरुका मानसिक तथा मनोसामाजिक सुस्वास्थ्य (प्रबद्र्धन) परियोजना द्धारा स्वास्थ्य सेवा व्यवस्थापकका लागि सामुदायिक मानसिक स्वास्थ्य संबन्धी ३ दिने तालिम संचालन गरेको थियो ।


उक्त तालिममा सल्यान जिल्लाका बनगाड कुपिन्डे, बागचौर, छत्रेश्वरी र शारदाका साथै कैलाली जिल्लाका जानकी, घोडाघोडी र टीकापुर गरी ७ स्थानीय तहका स्वास्थ्य शाखाका संयोजक, चिकित्सक लगायतको सहभागिता रहेको थियो ।


३ दिने क्षमता अभिवृद्धिको समापनमा सहभागीहरुले नीतिगत रुपमा प्रष्ट व्यवस्था भए पनि कार्यान्वयन तहमा केन्द्रित हुनुपर्ने र स्थानीय स्तरमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक नीतिको आवश्यकता देखिएकाले सोही अनुसार काम गर्नेमा जोड दिएका थिए ।


कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयमा कार्यरत मानसिक स्वास्थ्य सम्पर्क व्यक्ति खगेन्द्र गैरे, सी.एम.सी नेपालका कार्यक्रम संयोजक लक्ष्मण नाथ, कार्यक्रम अधिकृत अनत चौधरी, प्रादेशिक संयोजक हिमाल गैरे लगायतले समेत सेसन सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया